मुख्य समाचार

पाँचौ पटक पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियो

पाँचौ पटक पक्राउ परे प्रकाण्ड, भोजपुरबाट दाङ लगियो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लार्इ भोजपुर जिल्ला अदालतले ६० हजार धरौटीमा रिहा गर्न आदेश गरेलगत्तै पुनः पाँचौ पटक पक्राउ परेका छन्। 

 

रिहा भएलगत्तै उनी बुधबार पाँचौ पटक भोजपुर प्रहरीले अदालत बाहिरबाटै पक्राउ गरेको हो। उनलार्इ कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय दाङ पठाइने भएको छ। 

 

यसअघि सर्वोच्च अदालत र भोजपुर जिल्ला अदालत गरी तीन पटक प्रकाण्डलार्इ रिहाइ गर्न आदेश दिइसकेको थियो। तर, प्रहरीले भने विभिन्न अभियोगमा उनलार्इ पक्राउ गर्ने गरेको छ।  

 

यसघि तेस्रो पटक सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलासले थुनामा राख्ने कारण, आधार र प्रमाण नदेखिएको भन्दै सोमबार रिहा गर्न आदेश दिएको थियो।

 

प्रवक्ता प्रकाण्डलार्इ पटक पटक गैरकानुनी थुनामा राख्ने काम गर्दै अदालतको आदेश पालना नगरेकोमा गम्भीर ध्यानाकर्षण गरेको सर्वोच्च अदालतका सहायक प्रवक्ता नागेन्द्रकुमार कालाखेतीले जानकारी दिएका थिए।

 

गैरकानुनी रुपमा करिब सात करोड चन्दा असुलीको अभियोगमा गत साउन २३ गते प्रकाण्ड पक्राउ परेका थिए। यसअघि ललितपुरस्थित एनसेल टावरमा आगजनी र काभ्रेस्थित एक ठेकेदार कम्पनीको डोजरमा आगजनी गरेको अभियोगमा प्रकाण्डलार्इ १ भदौमा सर्वोच्च रिहाइको आदेश गरेलगत्तै पक्राउ गरेको थियो। 

 

दोस्रोपटक ७ भदौ पनि सर्वोच्चले रिहाइको आदेश गरेलगत्तै भोजपुरमा भएको बम विष्फोटको घटनामा संलग्न भएको अभियोगमा काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको थियो।

 

त्यसपछि विश्वकर्मालाई विभिन्न मुद्दामा नुवाकोट र काभ्रे जिल्ला अदालतमा उपस्थित गराइएको थियो। त्यहाँको अदालतलेसमेत दिएको छाड्ने आदेश विपरित उनलाई पक्राउ गरिएको थियो।
 

खड्गबहादुर विश्वकर्मा विप्लव दाङ

विशेष