खेल मुख्य समाचार

साफ च्याम्पियनसिप : दोस्रो खेलमा नेपाल विजयी

साफ च्याम्पियनसिप : दोस्रो खेलमा नेपाल विजयी

काठमाडौं । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा भूटानमाथि शानदार जित हात पारेको छ । 

 

बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा सम्पन्न खेलमा नेपालले भूटानलाई ४–० गोलले पराजित ग-यो । 

 

नेपालले खेलको २१औँ मिनेटमा अनन्त तामाङको गोलबाट अग्रता लिएको थियो । पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप तीन गोल गर्दै ४–० को जित निकालेको हो । 

 

त्यसैगरी ७०औँ मिनेटमा सुनिल बलले दोस्रो गोल गरेका थिए । भूटानी खेलाडी निमा वाङ्दीले निराजन खड्कालाई डि एरियामा फाउल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । विमल घर्तीमगरले पेनाल्टी सदुपयोग गर्न नसके पनि रिवाउन्डमा आएको बललाई सुनिल बलले गोलमा परिणत गरेका थिए । 

 

त्यसपछि खेलको ७७औँ मिनेटमा भरत खवासले उत्कृष्ट गोल गरे । भुटानलाई लगातार दबाबमा राखेको नेपालले ८८ औँ मिनेटमा निराजन खड्काले गोल गरेर नेपाललाई ४–० को जित दिलाए । जितसँगै नेपालले महत्वपूर्ण तीन अङ्क जोडेको छ । 

 

जितसँगै नेपालको सेमिफाइल पुग्ने सम्भावना बढेको छ । हारसँगै भूटान प्रतियोगिताबाट बाहिरिएको छ । यसअघि नेपाल पहिलो खेलमा मङ्गलबार पाकिस्तानसँग २–१ ले पराजित भएको थियो । नेपालले अब समूहको अन्तिम खेल आयोजक बङ्गलादेशसँग शनिबार खेल्नेछ । 


 

साफ च्याम्पियनसिप

विशेष