खेल मुख्य समाचार

साफ च्याम्पियनसिप फुटबल: गल्ती दोहोर्‍याउने मौका नेपाली खेलाडीलाई छैन

साफ च्याम्पियनसिप फुटबल: गल्ती दोहोर्‍याउने मौका नेपाली खेलाडीलाई छैन

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको उपाधि चुम्ने दाबी गर्दै बंगलादेश गएको नेपाल पहिलो खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित भएपछि केही दबाबमा देखिएको छ।

 

नेपालले समूह चरणको दोस्रो खेल बिहीबार भुटानसँग खेल्दैछ। तुलनात्मक रूपमा भुटान नेपालका लागि कमजोर प्रतिद्वन्द्वी मानिन्छ। तर, भुटानले पछिल्लो समय फुटबलका राम्रो गरिरहेको छ।

 

रुस विश्वकपको प्रारम्भिक छनोट खेलमै भुटान नेपालभन्दा निकै अब्बल ठहरिएको थियो। यद्यपि नेपाल र भुटानबीचको अघिल्ला भिडन्तमा नेपालले सफलता हात पार्दै आएको छ।

 

सन् १९८४ मा भएको सार्कस्तरीय फुटबल प्रतियोगितादेखि भुटानसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न थालेको नेपालले अहिलेसम्म भुटानलाई हराइरहेको छ। नेपाल र भुटानबीच हालसम्म भएका १२ वटा भिडन्तमा नेपालले सबैमा सफलता हात पारेको छ।

 

नेपालले पछिल्लो पटक सन् २०११ मा भुटानसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेलेको थियो। जसमा नेपालले पहिलो खेल १–० र दोस्रो खेल २–१ ले जितेको थियो। तर यसबीचमा भुटानको फुटबल स्तर धेरै माथि गएको छ।

 

जारी च्याम्पियनसिपको पहिलो खेलमै अन्तिम ३० सेकेन्डमा गोल खाएर हारमा चित्त बुझाएको नेपाललाई अघिल्लो चरणमा पुग्न बाँकी खेलमा सफलता हात पार्नु पर्ने चुनौती छ। त्यसैले भुटानसँग गल्ती दोहोर्‍याउने मौका नेपाली खेलाडीलाई छैन।

भुटान साफ च्याम्पियनसिप फुटबल

विशेष