कभर स्टोरी कर्पोरेट

‘स्वतन्त्र व्यवसायमा नाफा जत्ति पनि खान पाइन्छ’ (भिडियाेसहित)

‘स्वतन्त्र व्यवसायमा नाफा जत्ति पनि खान पाइन्छ’ (भिडियाेसहित)


काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालले यस पटकको नाडा अटो शोमा उपभोक्ताले गुणस्तरीय गाडी छान्न र किन्न पाउने व्यवस्था मिलाइएको बताएका छन् । 


यही भदौ २६ देखि ३१ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने ‘नाडा अटो शो’ आयोजना तयारीका सन्दर्भमा नेपाल आजलाई एक अन्तर्वार्ता दिँदै कार्यवाहक अध्यक्ष दुलालले उपभोक्ताले धेरै शो रुम धाउनुभन्दा एउटै स्थानमा आफूलाई मनपर्ने र आफ्नो बजेट सुहाउँदो नयाँ मोडेलका गाडी किन्ने, छान्ने र मूल्यांकन गर्ने अवसर पाउने चर्चा गरे ।  


उनले भने, ‘नाडा अटो शो धेरै यान्त्रिक बेचबिखन गर्ने व्यवसायीहरूको बहुप्रतिक्षित इभेन्ट हो र यो शो आफैँमा एक भव्य र बिक्रेता र क्रेताबीचको संगम पनि हो । यो वर्षैपिच्छे आयोजना हुन्छ र हरेक वर्ष नयाँ विशेषता बोकेर आएको हुन्छ ।’


कार्यवाहक अध्यक्ष दुलालले नाडाले ‘हरेक एक नेपालीको घरमा एक सवारीसाधन’ भन्ने नारालाई साकार पार्न शो को बेग्लै महत्व रहेको बताए ।


गाडीको कुरा आउनासाथ बाटोघाटोको कुरा पनि जोडिने हुँदा विगत २० वर्षदेखि नेपालमा एक स्थायी सरकार नहुँदा विकास निर्माणका कार्य नभएको अब स्थायी सरकार गठन भइसकेको अवस्थामा धुलोरहित ४, ६ र ८ लेनका सडक बन्ने उनले आशा व्यक्त गरे । 


दुलालले गाडीमा लगाइएको भंसार शुल्क र पार्टस्पूर्जामा लगाएको अन्तःशुल्कको चर्चा गर्दै भने, ‘सडकको विकास र विस्तार भयो भने जनताले मुलुकमा विकास भएको अनुभूति गर्न सक्ने र नेपाल विश्व व्यापार संगठनको सदस्य भइसकेको हुनाले भंसार तथा अन्तःशुल्क दरमा कमी आई प्रत्येक नेपालीको गाडी चढ्ने रहर पूरा गर्न सघाउ पुग्नेछ ।’


उनले अहिले पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विस्तारै विस्थापन गर्न विद्युतीय सवारीसाधनलाई सरकारले पनि प्रोत्साहन दिएकाले यसपटकको नाडा अटो शोमा विशेष गरेर विद्युतीय सवारीसाधनका मोडेल र मूल्यका बारेमा उपभोक्ताले जान्न सकिने बताए । 


विद्युतीय सवारीसाधन विकास गर्न प्रत्येक पेट्रोल पम्पहरूमा चार्जिङ स्टेसनको व्यवस्था गर्नुपर्ने आवश्यकतामाथि जोेड दिँदै सरकारले ऊर्जा उत्पादनलगायत पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने उनले औंल्याए । 
दुलालले अटोमोबाइल्सले आयात गरेर भएर पनि राष्ट्र निर्माण योगदान पु¥याउँदै आएको बताउँदै भने, ‘सरकारले आर्थिक समृद्धिको नारा पूरा गर्न आगामी १० वर्षसम्म अटोमोबाइलको आयातमा लगाएको भंसार अन्तःशुल्कको राजस्वले कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकासमा लगानी गर्नुपर्ने वाध्यता छ । त्यसैले पनि अटोमोबाइल्स चाहिन्छ ।’


उनले आयातमुखी अटोमोबाल्सलाई विस्तारै एसेम्बल्ड इन्डस्ट्रीमा बदल्न सरकारले विशेष योजना तर्जुमा गर्नुपर्ने पनि उल्लेख गरे । 


सरकारले कृषिको विकास गर्न कृषकहरूलाई राहत दिनका लागि ट्रयाक्टर खरिदमा छुट दिँदा त्यसको दुरुपयोग भएको र त्यसको प्रत्यक्ष फाइदा व्यापारीवर्गले उठाएको एक प्रश्नको जवाफमा उनले भने, ‘कृषि यन्त्र खरिदमा छुट दिनु राम्रो कुरा हो । तर अहिले त्यो छुट दिन बन्द गरेको छ । किसानले खेत जोतिसकेपछि त्यो ट्रयाक्टरले उसको कृषि उपज बजारमा लान पाउनुपर्छ, त्यसलाई दुरुपयोग भन्न मिल्दैन । कुनै कृषकले ट्रयाक्टर थन्क्याएर राख्नुभन्दा ढुवानीमा प्रयोग गरिन्छ भने सरकारले त्यसमा चित्त दुखाउनु हुँदैन । दुई जनाले गल्ती ग¥यो भन्दैमा सबैलाई कानुन लगाउनु हुँदैन । सरकार हल्लाको पछाडि नलागेर ट्रयाक्टर खरिदमा दिइएको पूर्ववत् छुटलाई निरन्तरता दिइनु पर्दछ ।’


बजारमा ध्वनि प्रदूषण उत्पन्न गर्ने सवारीसाधान बेरोकटोक सञ्चालन भइरहेको छ भन्ने एक अर्को प्रश्नको जवाफमा दुलालले नाडा ध्वनि वा धुवाँ प्रदूषण गर्न हुँदैन भन्ने सिद्धान्तमा अडिग रहेको बताउँदै सरकारले पनि गाडी वा मोटरसाइकलमा सिसिअनुसार कर लगाउने व्यवस्था गरेकाले कुनै पनि सर्तमा प्रदूषण उत्पन्न गर्ने सवारीसाधनको पक्षमा नाडा नरहेको उनले स्पष्ट पारे ।  


उनले एक सन्दर्भमा प्रदूषण कम गर्न सरकारले गाडीका पार्टस्मा भंसार र अन्तःशुल्कमा कम गर्नुपर्ने विशेष गरेर गाडीका टायर, ब्रेक सु, लाइलिङ, लुब्रिकेन्टस्मा शुल्क घटाउँदा सुरक्षित यात्रा हुने र दुर्घटना पनि न्यूनीकरण गर्न मद्दत गर्न सघाउ पुग्ने विचार व्यक्त गरे । 


उनले भने, ‘भंसार र अन्तःशुल्क वृद्धि हुँदा नक्कली पार्टस् आयात हुनाका साथै असुरक्षा बढ्दै गएकाले सरोकावाला सामान डिस्ट्रिव्युटरको उपस्थितिमा आयात गर्ने व्यवस्था मिलाइएमा उचित हुनेछ ।’



गाडीका लागि चाहिने उद्योगहरूको स्वदेशमै स्थापना गर्न सके राम्रो हुने चर्चा गर्दै गोरखकाली रबर उद्योग कुशल व्यवस्थापनको अभावमा बन्द हुन पुगेको र त्यो उद्योग अहिले पनि निजी क्षेत्रलाई दिने हो भने चल्न सक्ने दाबी गरे । 
गाडी तथा गाडीका अन्य सामानहरूमा असीमित अर्थात् एउटै गाडीमा १०–१० लाखसम्म नाफा खाएर बिक्रीवितरण गरिरहेको सन्दर्भमा उनले भने, ‘प्रजातन्त्रमा स्वतन्त्र बजारमा कसैले प्रतिस्पर्धा गरेर बढी सामान बिक्री गर्छ भने उसले जत्ति पनि नाफा कमाउन पाउनुपर्छ । नाफा कमाएको विषयलाई लिएर कसैलाई तर्साउन पाइन्न । व्यापारीको नाफा उसले सालको अन्त्यमा बुझाउने व्यालेन्ससिटबाट थाह पाउने हो । स्वतन्त्र व्यवसायमा नाफा खाना पाइन्छ । उदाहरणका लागि होटल सोल्टीमा एक कप कफीको शुल्क र साधारण टिस्टलमा उहीको कफीको मूल्यलाई लिनोस् न ।’     


पहाडी क्षेत्रमा सवारीसाधनको बढ्दो दुर्घटना न्यूनीकरण गर्ने सन्दर्भमा नाडाका कार्यवाहक अध्यक्ष दुलालले भने, ‘खलासीलाई पनि ड्राइभरसरहको तलब दिइनुपर्छ । १० कक्षा नपढेका व्यक्तिलाई सवारीचालक अनुमतिपत्र दिइनु हुन्न । यसमा नाडाले विशेष जोड दिइआएको छ । किनभने ट्राफिक प्रहरीका अनुसार पचहत्तर प्रतिशत दुर्घटना लापरबाहीका कारण भएका छन् ।’


उनले नाडाले ‘स्वच्छ व्यवसाय स्वच्छ प्रशासन’ भन्ने अवधारणा ल्याएकाले सरकारले नै विकास निर्माणका क्षेत्रमा स्वच्छ अनुशासन कायम गराउनेतर्फ अग्रसर हुनु आजको आवश्यकता भएको बताए । 

नाडा अटो शो कृष्णप्रसाद दुलाल

विशेष