खेल

भारतमा हुने सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

भारतमा हुने सिरिजका लागि नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौं । भारत र अफगानिस्तानविरुद्धको सिरिजका लागि नेपाली यू-१९ क्रिकेट टोलीको घोषणा गरिएको छ । शुक्रबार घोषणा गरिएको १५ सदस्यीय सिरिजमा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन् । 

 

गएको साउन २९ देखि ३१ सम्म चलेको ट्यालेन्ट हण्टबाट छानिएका खेलाडीहरुमध्ये ६ जना अन्तिम छनोटमा परेका हुन् । त्यस्तै यसअघि यू–१९ र यू-१६ टोलीबाट खेलिसकेकाहरुलाई समेत समेटेर टिम छनोट गरिएको मुख्य प्रशिक्षक बिनोद दासले जानकारी दिए । 

 

आईसीसी प्रतिनिधि अनिमुल इस्लाम, प्रशिक्षक दास, सुनोज भट्टराई र राजु खड्कालगायतले नेपाली टोलीको छनोट गरेको हो । नेपाली टोलीको कप्तानको जिम्मेवारी मोहम्मद आसिफ शेखलाई दिइएको छ ।

 

त्यस्तै तृतराज दास, रीत गौतम, पवन सर्राफ, किशोर महतो, रशिद खान, भीम सार्की, कमल सिंह ऐरी र सन्दीप जोरा टिममा छन् । उनीहरु सबै यसअघि यू-१९ र यू-१६ राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरु हुन् ।


 
टिममा ६ जना नयाँ अनुहार छन् । रवि साह, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम गत महिनाको अन्त्यमा भएको ट्यालेन्ट हन्टबाट छनोट भएका हुन् ।


 
नेपाली टोली सेप्टेम्बर १० अर्थात सोमबार भारत प्रस्थान गर्नेछ । आगामी सेप्टेम्बर १२ देखि भारतको कोलकातामा भारत, नेपाल र अफगानिस्तानसहित भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको यू-१९ टोली सम्मिलित एकदिवसीय सिरिज हुँदैछ ।


 
नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर १२ मा राष्ट्रिय क्रिकेट एकेडेमीसँग खेल्नेछ भने सेप्टेम्बर १४ मा भारतको यू-१९ र सेप्टेम्बर १६ मा अफगानिस्तान यू-१९ टोलीविरुद्ध खेल्नेछ ।


 
समूहमा सबैले एकले अर्कासँग खेलेपछि शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको प्लेअफ खेल्नेछन् ।

भारत अफगानिस्तान नेपाली यू-१९ क्रिकेट टोली

विशेष