मुख्य समाचार

‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ हुन्नः प्रधानमन्त्री ओली

‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ हुन्नः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अहिले सुशासन र आर्थिक विकासमा केन्द्रित भएर अघि बढेको बताएका छन् ।  इन्टरनेशनल फेडरेशन अफ यादव चेम्बर्श अफ कमर्शद्वारा शुक्रबार यहाँ आयोजित नेपाल-भारत व्यापार सम्मेलनको उद्घाटन गर्दै उनले अब ‘समृद्ध नेपाल र सुखी नेपाली’को उद्देश्य पूरा गर्न ढिलाइ नगर्ने दाबी गरे । 

 

लामो संक्रमणपछि देश राजनैतिक स्थायित्व प्राप्त गरेको हुँदा वैदेशिक लगानीका लागि अहिले उपयुक्त वातावरण रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने,‘समृद्धिका लागि पूर्वाधार, सूचना र प्रविधि, वस्तु र सेवाका क्षेत्र अहिले हाम्रा प्राथमिकताका विषय हुन् ।’ 

 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपालको विकासका लागि भारतीय व्यवसायीबाट भएको लगानीको प्रतिबद्धता पूरा हुनु पर्नेमा जोड दिए । उनले भने, ‘मुलुकको आर्थिक र समृद्धिका लागि वैदेशिक लगानी अपरिहार्य छ, सरकारले लगानीका लागि उपयुक्त वातावरण बनारहेको छ ।’

 

सम्मेलनका समन्वयकर्ता डा. शिवजी यादवले सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई लगानी प्रवद्र्धनको माध्यमबाट कसरी सफल तुल्याउन सकिन्छ भन्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए । 

 

राष्ट्रिय जनता पार्टी नेपालका नेता महेन्द्रप्रसाद यादवले नेपाल र भारतबीचमा रही आएको पारिवारिक र संस्कृतिक सम्वन्धलाई आर्थिक समृद्धिका लागि कसरी सदुपयोग गर्न सकिन्छ भन्ने हेतुले कार्यक्रम आयोजना गरिएको बताए । उनले सम्मेलन मुलुकको आर्थिक विकास र लगानी प्रवद्र्धनका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

 

नेपाल उद्योग परिघका अध्यक्ष हरिभक्त शर्माले भारतीय उद्योग व्यवसायीलाई नेपालमा लगानीका लागि निकै सहज वातावरण रहेको जानकारी दिए । -रासस
 

केपी शर्मा ओली नेपाल-भारत व्यापार सम्मेलन

विशेष