मुख्य समाचार

एआईजी बढुवाको तयारी, को को छन् अगाडि ?

एआईजी बढुवाको तयारी, को को छन् अगाडि ?

काठमाडौं । सरकारले नेपाल प्रहरीमा लामो समयदेखि रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने तयारी गरिरहेको छ । 

 


प्रहरीमा २९ चैत्रदेखि एआईजी पद रिक्त छन् । सोही कारण गृह मन्त्रालय र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालप्रति प्रहरीमा असन्तुष्टी चुलिएको छ । पाँच महिनापछि प्रहरीका विशिष्ट श्रेणीमा बढुवाको तयारी भएको हो ।



कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले एआईजीको दरबन्दी सातबाट बढाएर १५ सम्म पुर्‍याएको थियो । वर्तमान सरकारले संख्या घटाएर प्राविधिकसहित एआईजीका चार दरबन्दी कायम गरेको छ ।

 


स्रोतका अनुसार सरकारले एआईजी दरबन्दी पुनः बढाउने तयारी गरेको छ । नेकपा नेताहरूले आफू अनुकुलका डीआईजीलाई बढुवा गर्ने दबाब बढेसँगै एआईजी दरबन्दी प्राविधिकसहित ६ बनाउने तयारी गरिरहेको स्रोतको भनाइ छ ।



एआईजी बढुवाका लागि डीआईजीहरू राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका पुष्कर कार्की, लागूऔषध नियन्त्रण ब्युरोका ठूले राई, महानगरीय प्रहरी कार्यालयका मनोज न्यौपाने, अपराध अनुसन्धान विभागका धिरु बस्नेत र प्रदेश–५ का प्रहरी प्रमुख सुरेशबिक्रम शाहको नाम अगाडि छ ।



कार्की, राई र न्यौपाने कार्यसम्पादन मूल्यांकन अंकका आधारमा अगाडि छन् । तर, प्रधानमन्त्री निकट मानिएका बस्नेत र प्रचण्ड नजिक मानिएका शाहलाई समेत बढुवा गर्नुुपर्ने भएपछि आफैंले घटाएको दरबन्दी बढाउने तयारीमा सरकार रहेको स्रोतको दाबी छ ।

एआईजी बढुवा

विशेष