कभर स्टोरी कुरा: खस्रा मिठा

‘नेरुलाई भारुको भुक्तानी कुपन  किन बनाउनुहुन्छ ?’ (भिडियोसहित)

‘नेरुलाई भारुको भुक्तानी कुपन  किन बनाउनुहुन्छ ?’ (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक एवं लेखक अरुणकुमार सुवेदीले अन्तर्राष्ट्रिय मौद्रिक बजारमा अहिले अमेरिकी डलरको विनिमय दर आकासिँदै जानुको कारण पछाडि अन्तर्राष्ट्रिय शक्तिको राजनीति र मौद्रिक चासो भएको बताएका छन् । 


नेपाल आजको नियमित भिडियो स्तम्भ ‘कुरा खस्रा मीठा’ मा आफ्नो विश्लेषण सुनाउँदै सुवेदीले भने, ‘टर्कीले अमेरिकाको साटो रुससँग आर्थिक तथा सैन्य सम्बन्ध विकास गरेका हुनाले अमेरिकाले टर्कीविरुद्ध ‘करेन्सी वार’ घोषणा गरेका हनाले पनि अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ बलियो हुँदै गएको हो । ठ्याक्कै त्यस्तै स्थिति भारतमा पनि अमेरिकाले लागू गर्दा भारतीय मुद्राको तुलनामा अमेरिकी डलर बलियो भएको र भारतीय मुद्रा डलरसँग खस्कँदा नेपाली बजार पनि प्रभावित भएको वर्तमान परिस्थिति हो ।’


अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलर बलियो हुनाले राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा के–कस्ता असर पर्न जान्छ भन्ने विषयमा केन्द्रित सुवेदीसँगको अन्तर्वार्तामा उनले व्यक्त गरेका धारणाका सारसंक्षेप निम्नानुसार रहेको छ । 


‘सन् २०१३ ताका जब डलरको भाउ ८०–८५ रुपैयाँ हुँदा नेपाली मौद्रिक नीति निर्माताहरूलाई मैले त्यतिबेला नै भनेको थिएँ कि, डलरको तुलनामा भारतीय रुपैयाँ खस्कँने अवस्था छ, बंगलादेश, श्रीलंका र पाकिस्तानले अपनाएको नीतिजस्तै हामीहरू जाउँ है भन्दा सुनुवाइ भएन । बंगलादेशको डलरसँग पहिले स्थिर विनिमय दर थियो । बंगलादेशले त्यसलाई चट्टै छाडेर भारुलाई बास्केट प्रणालीमा हाल्यो र डलरको सापेक्षमा टाकालाई अवमूल्यन हुन दिएन । आज त्यसको परिणाम के हो भन्दा बंगलादेशमा हरेका चिज सस्ता छन् । पाकिस्तान र श्रीलंकामा पनि त्यही स्थिति छ । तर हामी चाहिँ भारतीय रुपैयाँसँग सती गयौँ । राष्ट्रवाद, राष्ट्रवादको कुरा गर्न हुन्छ, भारुको भुक्तानी कुपनको रूपमा नेपाली रुपैयाँलाई किन चलाउनुहुन्छ ? नेरुलाई आशिंक भए पनि सार्वभौम मुद्रा बनाऔँ न । फियाट सिस्टम (मुद्रा मुद्रण प्रणाली) नेपाल सरकारको सार्वभौम अधिकार हो । त्यो सार्वभौम अधिकार हुँदाहुँदै नेरुलाई भारुको कुपनको रूपमा किन जारी गर्नुहुन्छ ? यस्तो अवस्थाबाट मुक्त हुन दोहोरो असरतामा जानु पर्दछ । तर सरकार मान्नेवाला छैन । सरकार त राजस्व बढी उठाउनेतिर केन्द्रित रहेको छ । नेरु र भारुको मूल्य बराबरी नर्गुको कारण तथ्यांकी आनन्द पनि हो ।’

 

‘अहिले डलरको भाउ वृद्धिबाट राष्ट्र ऋण बढेर जाने, महँगी बढनेलगायत अनपेक्षित समस्याहरू उब्जिदै जाने हुनाले विदेशी मुद्रा विनिमय नीति राष्ट्रको हितका निम्ति आवधिक रूपमा पुनरावलोकन हुनुपर्दछ । तर भएन वा हुन सकेन । नेरुलाई डलरसँग पेक (विनिमय दर स्थिर) गर्नपर्छ ।’


‘राष्ट्र हितलाई हेरेर नेरुको डलरसँग स्थिर विनिमय दर तोकिनुपर्छ । यो गर्न सकिन्छ । उदाहरणका लागि क्युवा र अमेरिकाबीच कटुता हुँदा पनि क्युवाको आर्थिक प्रणाली धराशयी भएन । त्यसकारण भारुसँग स्थिर विनिमय दर तोक्ने प्रणाली छाड्नुपर्छ ।’

अरुणकुमार सुवेदी कुरा: खस्रा मिठा

विशेष