मुख्य समाचार

कञ्चनपुर पुगेर प्रहरी महानिरीक्षकले भने, ‘प्रहरीप्रति अविश्वास राख्नु हुँदैन’

कञ्चनपुर पुगेर प्रहरी महानिरीक्षकले भने, ‘प्रहरीप्रति अविश्वास राख्नु हुँदैन’

भीमदत्तनगर । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताएका छन् ।

 

शुक्रबारदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियान कार्यक्रममा सहभागी हुन यहाँ आइपुगेका प्रहरी महानिरीक्षक खनालले अपराधीलाई कानूनी दायरामा ल्याएरै छाड्ने बताए ।

 

महानिरीक्षक खनालले घटनाको सुक्ष्म रूपमा विज्ञसहितको टोलीले अनुसन्धान गरिरहेको जानकारी दिए । “प्रहरीप्रति अविश्वास राख्नु हुँदैन ।” उनले भने “चाँडो नतिजा ल्याउनेमा सक्रिय छौँ ।” अनुसन्धानमा समय लागे पनि दोषीलाई कारबाही हुनेमा ढुक्क हुन उनले आग्रह गरे ।

 

सो क्रममा राष्ट्रिय मानवअधिकार आयोगसित नेपाल प्रहरीले समन्वय गरेर शुक्रबाबाट सुरुवात हुन गइरहेको महिला हिंसा न्यूनीकरण एवं मानवअधिकार संरक्षणसम्बन्धी राष्ट्रिय अभियानले अपराध नियन्त्रणमा बल पुग्ने उनले धारणा राखे ।

 

बिहीबार साँझ भीमदत्तनगर पुगेका महानिरीक्षक खनालले राति नै निर्मला पन्तका परिवारसँग भेटघाट र घटनास्थलको समेत स्थलगत निरीक्षण गरेका थिए । प्रहरी महानिरीक्षक खनालसँगै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी पनि भीमदत्तनगर पुगेका छन् । रासस

सर्वेन्द्र खनाल कञ्चनपुर निर्मला हत्या प्रकरण

विशेष