कभर स्टोरी अन्तरवार्ता

वरिष्ठ कानुन व्यवसायी कार्की भन्छन् , ‘भारतले बिम्स्टेक सम्मेलन गराएर नेपाललाई उपयोग ग-यो’ (भिडियाेसहित)

वरिष्ठ कानुन व्यवसायी कार्की भन्छन् , ‘भारतले बिम्स्टेक सम्मेलन गराएर नेपाललाई उपयोग ग-यो’ (भिडियाेसहित)

काठमाडौं । वरिष्ठ कानुन व्यवसायी एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष बोर्णबहादुर कार्कीले हालै काठमाडौंमा सम्पन्न बिम्स्टेक सम्मेलन बाहिरी रूपमा सफल भएको देखिए पनि भित्री रूपमा असफल भएको टिप्पणी गरेका छन् । 


नेपाल आजसँग सामयिक राजनीतिक विषयवस्तुसँग कुराकानी गर्दै कार्कीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) को विकल्प र त्यसबाट पाकिस्तानलाई एक्ल्याउने अथवा दक्षिणपूर्वी एसियामा चीनको प्रभावलाई रोक्ने भारतीय दुर्नियतले बिम्स्टेक नामक उप क्षेत्रीय संगठनको जन्म भएको प्रस्ट पारे । 


उनले बिम्स्टेक सम्मेलन गराएर भारतले चीन र पाकिस्तानविरुद्ध नेपाललाई उपयोग गरेको आरोप पनि लगाए । 
बिम्स्टेक सम्मेलनको अवयवको विश्लेषण गर्दै वरिष्ठ कानुन व्यवसायी कार्कीले भने, ‘सन् १९८५मा गठन भएको सार्कको उद्देश्य पवित्र थियो । सार्कमा चीनको प्रत्यक्ष उपस्थिति हुनुपर्छ भन्दा भारतले सार्कको उद्देश्यअनुरूप काम गर्न नलगाएर निष्क्रिय पारेको र अहिले त्यसको विकल्पमा बंगालको खाडीसँग नजोडिएको नेपाल र भुटानलाई बिम्स्टेकका नाममा भारतले उपयोग गरेको देखिन्छ । भारतले आफ्नो रणनीतिक स्वार्थ सार्कमार्फत पूरा गर्न नपाएपछि पाकिस्तानलाई देखाएर भारतले बिम्स्टेकलाई अगाडि ल्याएको हो । यो दीर्घकालसम्म पनि सफल हुने देखिन्न ।’


कार्कीले व्यापार, ऊर्जा र कनेक्टिभिटीका नाममा बिम्स्टेक सम्मेलन आयोजना गरेतापनि यो मूलतः भारतले चीन र पाकिस्तानलाई लक्ष्य गरेर सैनिक अभ्यासमा परिणत गर्न सफल भएको बताए । 


उनले सार्कमा चीनलाई सहभागिता गराएमा दक्षिणपूर्वी एसियामा भारतको आफ्नो एक छत्र नेतृत्वमा चुनौती आउने डरले बिम्स्टेक खडा गरेर तीन पटकसम्म सम्मेलन सम्पन्न गरिसक्दा पनि केही उपलब्धि हासिल गर्न नसकेको जिकिर गरे । 


अन्तर्राष्ट्रिय कूटनीतिक सम्बन्ध एवं नेपालको परराष्ट्र मामिलामा गहिरो अभिरुचि र दखल राख्ने वरिष्ठ कानुन व्यवसायी कार्कीले भारतले नेपाललाई पहिलेजस्तो हप्काएर, दप्काएर आफ्नोअनुकूल प्रयोग गर्न नसकेपछि बिम्स्टेक सम्मेलन गर्न लगाएर प्रभावमा पार्ने कोसिस गरेता पनि स्थिति भारतीय नियतविपरीत गएको विचार व्यक्त गरे । 


उनले भारतको स्वार्थअनुकूल नेपालले बिम्स्टेक सम्मेलन गरेर त्रुटि गरेको र यसलाई सच्याउनुपर्ने नत्र यसले नेपाललाई दूरगामी रूपमा नोक्सानी पुग्ने चेतावनी पनि दिए । 


कार्कीले बिम्स्टेकको झण्डामुनि संयुक्त सैनिक अभ्यास गर्नु स्वयं बिम्स्टेकको उद्देश्यविपरीत हो । बिम्स्टेक बाहिरी रूपमा पाकिस्तानलाई अलग्याउने चाल भए पनि भित्रीरूपमा यो चीनविरुद्ध लैजाने भारतीय रणनीति भएको विश्लेषण गरे । 

 




उनले कुराकानीका क्रममा भने, ‘नेपालले बिम्स्टेक सम्मेलन गरेर नेपालको पहिलेदेखिको स्वतन्त्र परराष्ट्र नीतिमा आँच पु¥याएको मात्र नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको छविसमेत नराम्रो भएको छ । चीन नेपालको विश्वासी छिमेकी मित्रराष्ट्र हो भन्ने कुरा नेपालले गम्भीरतापूर्वक लिनु पर्दछ । किनभने चीन नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताप्रति हिमाल झैँ अटल र अचल भएर बसेको छ । यसलाई मनन गर्नु सक्नुपर्छ ।’    


कार्कीले एक प्रसंगमा भने, ‘भारत दक्षिणपूर्वी एसियामा सदैव हस्तक्षेपकारीका रूपमा कतिपय सन्दर्भमा देखिएको छ भने चीन अहिले पनि भद्र र शान्त कूटनीति अख्तियार गरेर प्रस्तुत भएको पाइन्छ । त्यसमाथि त चीन झन् नेपालप्रति कहिल्यै हस्तक्षेपकारी भएको देखिएन् ।’


उनले पछिल्लो चरणमा दक्षिणपूर्वी एसियामा भारतीय एकाधिकारका विरुद्ध चीनले पनि बोल्न थालेको बताउँदै कार्कीले चीनलाई आफ्नो व्यापार दक्षिणपूर्वी एसियामा विकास र विस्तार गर्न नेपाल एक भरपर्दो र सुरक्षित भएको पनि टिप्पणी गरे । 
 

बोर्णबहादुर कार्की बिम्स्टेक सम्मेलन

विशेष