मुख्य समाचार

तीजको दर खाँदा बनेपामा ३७९ जना बिरामी

तीजको दर खाँदा बनेपामा ३७९ जना बिरामी

बनेपा । काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिका-१२ काँसकोटमा शनिबार भएको तीजको दर खाने क्रममा विषाक्त खानाका कारण बिरामी हुनेको सङ्ख्या ३७९ पुगेको प्रहरीले जनाएको छ । 

 

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार १३५ जनाको अहिले अस्पताल भर्ना गरी उपचार भइरहेको जनाएको छ । बाँकी उपचार गरी घर फर्किसकेको खड्काले जानकारी दिए । 

 

बिरामीमध्ये धुलिखेल सामुदायिक अस्पतालमा ८६ को उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका डा अनमोल श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका-१२ काँसकोटमा रहेको ग्रामीण स्वावलम्वन बहुउद्देश्यीय सहकारी संस्थाले शनिबार आयोजना गरिएको तीज विशेष दर खाने कार्यक्रममा सो घटना भएको हो । 

 

बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार भइरहेका ५६ मध्ये दुई जनाको सघनउपचार कक्षमा उपचार भइरहेको अस्पतालका डा. एञ्जला बस्नेतले बताए । उपचारमा संलग्न चिकित्सकका अनुसार बिरामीमा झाडा पखाला, पेट दुख्ने, रिङ्गटा लाग्ने र बान्ता गर्ने जस्ता समस्या देखिएको छ । 

 

बिरामीमध्ये केहीलाई स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र, पोलिक्निक र केहीलाई काठमाडौँमा उपचारको लागि लगिएको प्रहरीले जनाएको छ । बनेपा अस्पतालमा उपचार भइरहेका तीनको अवस्था सामान्य रहेको जनाएको छ । 

 

शनिबार दिउँसो दर खाने कार्यक्रममा बिरामी भएकाहरूको सङ्ख्या बढ्दै गएको र उपचार लागि आवश्यक प्रक्रिया थालनी गरेसँगै स्वास्थ्य विभागलगायतका टोलीले घटनास्थलको अवलोकन गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले बताए । 

 

उनका अनुसार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका टोली तथा प्रदेश सामाजिक विकास मन्त्रालयको जनस्वास्थ्य अधिकृतलगायत नेतृत्वको टोलीले घटनास्थलमा पुगेर बिरामीले खाएका खाना तथा पानीको नमूना सङ्कलन गरी प्रयोगशालामा लगेको छ । राउतले भने, ‘अहिले अस्पतालमा उपचाररत बिरामीको अवस्था सामान्य छ ।’ 

काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१२ तीजको दर

विशेष