मुख्य समाचार

मन्त्रीमण्डल हेरफेरको कुनै सम्भावना छैनः गृहमन्त्री थापा

मन्त्रीमण्डल हेरफेरको कुनै सम्भावना छैनः गृहमन्त्री थापा

गोरखा । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले तत्कालै मन्त्रिमण्डल हेरफेरको कुनै सम्भावना नरहेको बताएका छन् । २० औ वासु स्मृति दिवसमा सहभागी हुन शनिबार गोरखा पुगेका गृहमन्त्री थापाले सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा मन्त्रिमण्डल हेरफेरको कुरा सत्य नभएको बताए । 

 

बाहिर चर्चामा आएजस्तो मन्त्रिपरिषद्मा परिवर्तन गर्ने विषयमा कुनै छलफल नै भएको छैन, गृहमन्त्री थापाले भने, ‘यस विषयमा बाहिर आएका सबै कुरा गलत हुन् ।’ सरकारले छ महिनामा थुप्रै उल्लेख्य काम गरेको दाबी गर्दै गृहमन्त्री थापाले सरकारको कामलाई अझ गति र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । 

 

उनले यातायातका क्षेत्रमा रहेको एकाधिकारको अन्त्य, भ्रष्टाचार न्यूनीकरणमा विशेष पहल, तस्कर नियन्त्रणलगायतका क्षेत्रमा सरकारले विशेष काम गरेको भन्दै अझै धेरै गर्न बाँकी रहेको बताए । 

 

पत्रकार सम्मेलनमा बोल्दै उनले समयमा विकास निर्माणका काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाहीको दायरामा ल्याउन सरकार लागिपरेको बताए । गृहमन्त्री थापाले भने, ‘ठेकेदारलाई कारवाही गर्न सरकार पछि हटेको भन्ने होइन, अहिले पहिलेको तुलनामा ठेकेदारले काम गरिरहेका छन्, उनीहरुको कामबाट सुरक्षा हिसाबले समस्या भए जोसुकैलाई कारवाहीको दायरामा ल्याउँछौँ ।’ 

 

उनले जनताले विकास आर्थिक समृद्धि, सुशासन र स्थायित्वका लागि दिएको जनादेशलाई सरकारले इमान्दारीपूर्वक निर्वाह गर्दै आइरहेको बताए । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीतर्फ लक्षित गर्दै गृहमन्त्री थापाले भने, ’अहिले केही तत्वहरुले सङ्घीयता कार्यान्वयन हुन नदिन, समाजमा अराजकता मच्चाउन लागिपरेका छन्, तिनीहरुलाई पनि नियन्त्रणमा ल्याइसकेका छौँ ।’

गोरखा रामबहादुर थापा ‘बादल’ गृहमन्त्री

विशेष