मुख्य समाचार

सरकारले जनतालाई कर र महङ्गीको भार थोपर्‍यो- सभापति देउवा

सरकारले जनतालाई कर र महङ्गीको भार थोपर्‍यो- सभापति देउवा

 

बर्दिया । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले जनतालाई कर र महङ्गीको भार थोपरेको आरोप लगाएका छन् ।

 

नेपाली काङ्ग्रेस बर्दियाको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताए । 

 

उनले भने, ‘जनतालाई साँझ बिहानको छाक टार्न पनि गाह्रो भइरहेको बेला यसरी कर र महङ्गी बढाउँदा जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा आउन सक्छ ।’ हाल बढाइएको करलाई मान्न आफ्नो पार्टी तयार नरहेको पनि उनको भनाइ थियो । 

 

सो अवसरमा महामन्त्री शशाङ्क कोइरालाले ५५ लाख युवा मुलक बाहिर श्रम बेचिरहेकाले उनीहरुलाई स्वदेशमै रोजगारीका लागि राज्यले ध्यान दिनुपनेमा जोड दिए । उनले पार्टीलाई एकढिक्का बनाएर लैजान कार्यकर्ताले पनि सहयोग गर्नुपर्ने धारणा राखे ।

 

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले करमाथि कर थपेको, जनतालाई सुरक्षाको अनुभूति दिन नसकेको र महङ्गी नियन्त्रण गर्न असफल भएको आरोप लगाए । प्रेस र न्यायपालिकामाथि हस्तक्षेप नगर्न पनि उनले सरकारलाई आग्रह गरे ।
 

बर्दिया नेपाली काँग्रेस कृष्णप्रसाद सिटौला शशाङ्क कोइराला शेरबहादुर देउवा

विशेष