कभर स्टोरी भिडियो

‘टालाटुली बटुली’ की यी गायिका भन्छिन्, ‘पहिलो पटक गीत गाउँदा मेरा बुवा थरर्र काँप्नुभयो’(भिडियाेसहित)

‘टालाटुली बटुली’ की यी गायिका भन्छिन्, ‘पहिलो पटक गीत गाउँदा मेरा बुवा थरर्र काँप्नुभयो’(भिडियाेसहित)

काठमाडौं । ९० को दशकमा बालबालिकाको स्कुल, घर सबैतिर सर्वाधिक गुञ्जिने गीत थियो, ‘टालाटुली बटुली कत्ति राम्री पुतली’ । हिजोआज यो गीत कमै गुञ्जिन्छन् । तर, ९० को दशकसम्मका औसत केटाकेटीहरूले यो गीत बिर्सिएका छैनन् । उनीहरूलाई यो गीतले अहिले पनि बालापनको यादहरूमा चुर्लुम्म डुबाउँछ । 

 

अझ ‘कपुरी क’ बोलको गीत त पढाउनकै लागि पनि प्रयोग ल्याइन्छन् । गाउँघरतिर अझै पनि यी गीतहरू गुञ्जिन छोडेका छैनन् ।  



यही गीत गाउने बुटवलकी एन्जिला रेग्मी अहिले चर्चित पप गायिका भइसकेककी छन् । नौ वर्षको उमेरदेखि नै सांगीतिक यात्रा सुरु गरेकी उनले दर्जनौं गीतमा आवाज दिइसकेकी छन् । गायिका रेग्मीका चर्चित गीतमध्ये ‘कपुरी क’, ‘दिलको भित्तामा’ सबैभन्दा अगाडि आउँछ ।

 

युकेजीमा पढ्दा स्कुलको शिक्षकसँग सुनोल भन्ने ठाउँमा गीत गाउन गएकी थिइन् उनी । शिक्षकले बुवालाई पनि बोलाएका रहेछन् । तर यो कुरा एन्जिलालाई थाहा थिएन । छोरीले मञ्चमा गीत गाएको पहिलो पटक देखेका उनका बुवा छोरीलाई देखेर थरर्र कापेँ । यही दिनबाट उनका बावुले तय गरे कि छोरीलाई संगीत क्षेत्रमा साथ दिनेछु भनेर । बावुले संगीत सिकाउनकै लागि उनलाई बुटवल लगे । त्यहीँबाट सुरु भयो उनको सांगीतिक यात्रा । 

 

केही समयअघिमात्र रिलिज भएको उनको ‘दिलको भित्तामा’ बोलको गीतले सर्वाधिक लोकप्रियता कमायो । रिलिजको तीन महिनामै उक्त गीत करोड क्लबमा पुग्न सफल भएको थियो । धेरैले उनको गीत चिने पनि उनलाई भने त्यही गीत गाउने गायिका भनेर चिन्दैनन् । तर, उनले गाएका गीत भने नसुन्ने कमै भेटिन्छन् ।

 

साना नानीहरूदेखि वृद्धवृद्धा उनका गीतमा रमाई रहेका देखिन्छन् । उनले गाएका गीतहरू सुन्दा बाल गीत जस्ता पनि सुनिन्छन् । तर उनका गीत अहिले दर्शकको मनमुटुमा बस्न सफल भएका छन् । 

 

रेग्मीका गीतहरू बालबालिकासँगै युवा पुस्ताले पनि असाध्यै रुचाएका छन् ।  गायिका रेग्मी दर्शकको प्रतिक्रियाबाट निकै उत्साहित छन् । उनले भनिन्, ‘मैले सोचेको भन्दा बढी दर्शकबाट माया र साथ पाएकी छु, त्यसैले अगाडि बढ्न अझ उत्साहित छु ।’

 

सांगीतिक क्षेत्रमा अगाडि बढ्दा रेग्मीलाई सजिलो पक्कै भएन । तर पनि परेपछि मात्रै सुन्दर इन्द्रेणी देखिन्छ भनेजस्तै ती कठिनाइलाई अवसरको रूपमा परिणत गर्दै अहिले उनी एक लोकप्रिय गायिका भएकी छन् । 

 

तर आफ्ना भोगाइले छोरी मान्छेलाई संगीत र मिडियाको रंगीन दुनियाँमा धेरै कठिनाइ हुने पाठ सिकेकी छन् उनले । कुनै समय कतिपय संगीतकर्मीले दुव्र्यवहार पनि गर्थे उनलाई । चुपचाप त्यसलाई सहनुबाहेक उनीसँग अरू केही उपाय हुन्थेन् । तर पारिवारिक सहायता सबभन्दा महत्वपूर्ण हुने रहेछ । परिवारको सहायताले गर्दा नै आफू अहिले यो स्थानसम्म आएको उनले उल्लेख गरिन् । 

 

उनले थपिन्, ‘मैले कसैको चरित्र हत्या गर्न खोजेकी होइन । तर जोसँग कला छ त्यो व्यक्तिले आउने दिनमा यस्तो कुराले गर्दा संगीतबाट नै टाढा हुन नपरोस्, उहाँहरूले यस्तो व्यवहार भोग्न नपरोस् भनेर मात्र भनेको हुँ ।’

 

९ वर्षको कलिलो उमेरमै गायन क्षेत्रमा प्रवेश गरेर पनि होला । अहिले पनि उनी धेरैको नजरमा फुच्ची नै छन् । ‘मायाले धेरैले फुच्ची भनेर बोलाउँछन् । मलाई अहिले पनि धेरैले फुच्ची छौँ भन्छन्, तर अब म बाल गायिका मात्र होइन ठूली भइसकेँ’, उनले भनिन् । 

 

बाल गीत मात्रै नभएर गायिका रेग्मीले प्रेममा आधारित गीतहरू पनि गाएकी छन् । उनले  ‘पिरतीको गोली’, ‘मुटुको धडकन तिमी’ ‘दिलको भित्तामा’ लगायत थुप्रै प्रेम गीतमा स्वर दिएकी छन् । 

 

खासगरी रेग्मी पप गायिका हुन् । यसका साथै उनलाई डान्सिङ, रोमान्टिक तथा चलचित्रका गीत गाउन मन पर्छ । उनले भनिन्, ‘सबै जनराको गीतहरू गाएको छु तर दर्शकहरूले पप गीत र डान्सिङ नम्बरका गीतहरू बढी रुचाइदिनु भएको छ ।’ यसपालिको तीजमा रेग्मीको आवाजमा ‘मन्त्रपढेँ तिम्रै नामको’ बोलको तीजगीतको भिडियोे पनि सार्वजनिक भएको छ । 

एन्जिला रेग्मी

विशेष