मुख्य समाचार

बेगनास डुंगा दुर्घटनाः मृतकको संख्या आठ पुग्यो

बेगनास डुंगा दुर्घटनाः मृतकको संख्या आठ पुग्यो

पोखरा । शनिबार बेगनास तालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव आइतबार भेटिएको छ । शनिबार नै दुई जनाको उद्धार गरी उपचारका क्रममा निधन भएको थियो ।

 

 

बेगनासका कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा शनिबार पल्टिएर दुर्घटना हुँदा भएको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल र ४ वर्षीय रञ्जित गैरको शव आइतबार बिहान भेटिएको हो । ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

 

 

घटनापछि उद्दार गरि उपचार गर्न पठाइएका पोखरा-२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चलकी क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा शनिबार निधन भएको थियो ।

 

 

बेपत्ता सबैको शव भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । सपना खनाल र निशा पौडेलको उद्दार गरिएको छ । दिलकुमारी जलारी र उनका छोरा १७ वर्षीय कुमारले २ जनाको उद्दार गरी ज्यान बचाएका थिए । तर, सपनाले श्रीमान र छोरा गुमाएकी छन् भने निशाको छोराको पनि डुंगा दुर्घटनामा मृत्यु भएको छ ।

 

 

बेगनासमा व्यावसायिक डुंगामा लाइफ ज्याकेट अनिवार्य छ तर घरायासी प्रयोगमा रहेका डुंगामा सवारले लाइफ ज्याकेट नलगाउँदा आठ जनाको मृत्यु भएको प्रहरीको भनाइ छ । डुंगामा सवार कसैले पनि लाइफ ज्याकेट लगाएका थिएनन् । साथै डुंगा पनि चुहिने भएकोले दुर्घटना भएको बताइएको छ ।

बेगनास ताल डुंगा दुर्घटना पोखरा

विशेष