समाज

धरहरा पुनर्निर्माणका लागि टेलिकम क्षेत्रबाटै पौने दुई अर्ब संकलन

धरहरा पुनर्निर्माणका लागि टेलिकम क्षेत्रबाटै पौने दुई अर्ब संकलन

काठमाडौं । टेलिकम क्षेत्रबाट धरहरा निर्माणका लागि पौने दुई अर्ब रुपैयाँ संकलन भएको छ । भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ को बजेटमा दूरसञ्चार सेवा दस्तुरको १ प्रतिशत सम्पदा कोषमा जाने उल्लेख थियो । अर्थमन्त्री डा. रामशरण महतले प्रस्तुत गरेको बजेटमा ‘हाम्रो धरोहर–हाम्रै दायित्व’ शीर्षकमा राष्ट्रिय पुनर्निर्माण कोषअन्तर्गत छुट्टै सम्पदा कोष बनाइने उल्लेख थियो ।

 

त्यसअघि दूरसञ्चार सेवा दस्तुरका रूपमा १० प्रतिशतमात्रै बुझाउँदै आएका टेलिकम सेवा प्रदायक कम्पनीले १ प्रतिशत थप गरी ११ प्रतिशत बुझाउँदै आएका थिए । २०७२/७३ देखि आर्थिक वर्ष २०७४र७५ सम्म उक्त कोषमा एक अर्ब ७९ करोड ३७ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार कोष सुरु भएको पहिलो वर्ष कुल ६१ करोड सात लाख संकलन भएको थियो । त्यसमा नेपाल टेलिकमबाट २६ करोड ३६ लाख, एनसेलबाट ३४ करोड २७ लाख, स्मार्ट टेलिकमबाट ३७ लाख ९३ हजार, यूटीएलको चार लाख ३० हजार र नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) बाट एक लाख ७८ हजार संकलन भएको थियो ।

 

आर्थिक वर्ष २०७३र७४ मा अघिल्लो आवको तुलनामा संकलन भएको रकमा केही कमी आएको देखिन्छ । यो आवमा कुल ५८ करोड ६६ लाख ८८ हजार रुपैयाँ संकलन भएको थियो । आव २०७४/७५ मा पाँच सेवा प्रदायक कम्पनीबाट कुल ५९ करोड ६२ लाख १९ हजार रुपैयाँ संकलन भएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो ।

धरहरा

विशेष