झ्याल चढेको देखाउँदा नेता बलबहादुर केसी रिसाए (भिडियोसहित)
काठमाडौं । हास्यकलाकार दमन रुपाखेती नेपाली कलाक्षेत्रका लागि नयाँ नाम होइन । वर्सेनि उनी अभिनित केही चलचित्रहरु बजारमा आउँछन् । धेरैवटा टेलिफिल्ममा पनि उनले अभिनय गरेका छन् । हिजोआज हाकाहाकीमा उनी व्यस्त छन् ।
४५ सालमा उनी बालकलाकारको रुपमा काम थाले । पछि ४९ सालमा ट्वाक्क टुक्क नामक हास्य कार्यक्रममा आएपछि उनलाई धेरैले चिने ।
‘मेरी बास्सै’ खुबै चल्यो । दमनको दावीअनुसार उनले आफैले हुर्र्र्र्काएका कलाकारहरु ‘मै हुँ’ भन्ने दम्भ देखाए । त्यसपछि उनले ८० भागसम्म चलाएर, राम्रो प्लेटफर्म निर्माण गरिदिएर तिमीहरु गरिखाऊ भनेर मेरी बास्सै छाडिदिए ।
मास्टरको रोल गर्ने राजु पौडेल भन्ने कलाकार पहिले बुम समाउन आएका थिए । अहिले उनी पनि हिट छन् । दमनले भने, ‘बल्छी धु्रवे त मेरी बास्सैको सुटिङ हेर्न आउने मान्छे हुन् । मैले छाडेपछि उनी हिट भएका छन् । आशा खड्का अहिले हिट मोडल हो । उहाँलाई पनि मैले पहिलो क्यामेरा फेस गराएको हुँ । झ्याँकुटी झ्याइँ २५० भाग चलाएर छाडेँ । अहिले हाकाहाकी गर्दैछौं । ’
दमनको बुुझाइमा नेपाली कलाक्षेत्रमा स्थापित हुन कि पैसा हुनुपर्छ, कि प्रतिभा वा राम्रो फिगर भएकी केटी हुनु पर्छ । नत्र चल्दैन । केही हुन्छन् हेर्दै एलियन इकु जस्ता । यसमा अन्यथा नबुझियोस् ।
हास्य व्यंग्य क्षेत्रमा नयाँ प्रयोग सधै हुने दमन बताउँछन् । उनको मतमा जितु नेपाल मुन्द्रको कार्यक्रम भारतीय टेलिभिजन कार्यक्रमकै नक्कल हो । मुन्दे्रको कमेडी क्लब जस्तो कार्यक्रम पनि दर्शकले मन पराएका थिए ।
कमेडीका विभिन्न प्लेटफर्म मध्ये स्टेज पनि एउटा हो । स्टेजमा दर्शकले तुरुन्तै रियक्ट गर्छन् । अहिले स्टेज सोमा छाडापन बढेको छ ।
एक स्टेज सो स्मरण गर्दै दमन भन्छन्, ‘नेता बलबहादुर केसी हाम्रो कार्यक्रम हेर्न आउनु भएको रहेछ । हामीले सिँढी राखेर झ्याल चढेको दृश्यमा कमेडी गर्यौं । उहाँ पनि झ्याल चढेर के के छाम्न जानु भएको भन्ने रहेछ । पछि उहाँले ति दुई केटाको त्यो कमेडी हटाउन निर्देशन दिनु पर्यो भन्नु भएछ । इश्वर पोख्रेलको ट्यांकर काण्डमा कमेडी गर्दा उठेरै हिँड्नु भयो ।’
धुर्मुस र माग्नेबुढालाई दमन आफ्ना चेलाचपाटी ठान्छन् । उनका समकालीन दीपकराज गिरी, जितु नेपाल आदि हन् ।
नेपालमा २०–२५ लाख भए सिनेमा बन्छ । तर छक्कापञ्जामा डेढ करोड, दुई करोड लागेको भनेर हल्ला मच्चाइयो । त्यो सिनेमा ७० लाख जति लागेको हो । बनाउन सजिलो छ फिल्म तर चलाउन गाह्रो छ ।