मैले बाबुरामलाई सोधेँ, ‘घोकेर बोर्डफर्स्ट भएको कि बुझेर ?’ (भिडियोसहित)
घरमा गाई दुहेका विद्यार्थी स्कुलमा अर्कै ‘काउ’ पढ्छन्
काठमाडौं । कृषि वैज्ञानिक मदन राईले खोटाङमा स्थापना गरेको वैकल्पिक शिक्षा नाम गरेको विद्यालयको प्रशंसा अहिले धेरैले गर्छन् । भन्नु र गर्नुमा धेरै फरक छ । हामीले वर्षौंदेखि भन्नेमात्र र काम नगर्ने धेरै नेता देख्दै भोग्दै आयौं । तर, मदन राईने आफ्नो हकमा भने यसलाई गलत साबित गरिदिए । आफूलाई तत्व ज्ञानको मामिलामा अरू भन्दा एक कदम अघि ठान्ने राईले वैकल्पिक शिक्षामार्फत विद्यार्थीलाई किताबी ज्ञानको साटो व्यवहारिक ज्ञानमा बढि खटाएका छन् । फरक शैलीमा पढाई हुने उक्त विद्यालयका विद्यार्थीले १० कक्षासम्म अध्ययन गरेर बाहिरिदाँ बाँच्नका लागि गर्नुपर्ने र चाहिने सबै सीप सिकेर फर्किन्छन् ।
विद्यालयबाट बिदा हुने समयसम्म ती विद्यार्थीले घर बनाउन, खाना बनाउन, उब्जनी गर्न, कपडा बुन्न, सिलाउन जस्ता जीवनका आधारभूत शिक्षा सबै सिकिसक्छन् । राईले बेलायत, अमेरिका, जर्मनीलगायत धेरै देशहरूमा अध्ययन गर्ने मौका पाए । सबैतिर पढ्दा उनको अनुभवले अन्तरमनमा एउटै कुरा भन्यो, ‘किताब घोक्ने शिक्षा त पढाईको पाँच अंशमध्ये एक अंश मात्र रहेछ । बाँकी चार अंश त गराइमा रहेछ ।’ करिब ८० प्रतिशत शिक्षा गराइमा रहेको भन्ने कुराको निष्कर्षमा पुुगे उनी । उनी आफैंले २५ वर्ष किताब पढे । तीन किलो सर्टिफिकेट थुपारे । ती किताबको एक लाइन पनि याद छैन उनलाई । तर गाउँमा सिकेको हलो जोत्ने र भारी बोक्ने काम एउटा पनि नबिर्सेको उनी बताउँछन् ।
नेपालको अर्थतन्त्रमा विकास नुहनुको मुख्य कारण नै यहाँको शिक्षण प्रणालीमा भएका समस्या उनले औँल्याए । ‘किताब पढेपछि ठूलो मान्छे भइन्छ । शारीरिक काम गर्नु पर्दैन, बसीबसी कमाई गर्न सकिन्छ भनेर सिकाइनुले नै अर्थतन्त्र धरापमा परेको हो । यहाँ किताब पढ्ने कत्ति धेरै छन् । विदेशमा ज्याला मजदुर गर्न जाने सबै ग्राजुवेट छन् । कम्तीमा पनि एसएलसीसम्म त पढेकै हुन्छन् । १० वर्षसम्म त धेरै जान्नुपर्ने हो । त्यसैले सुन्ने शिक्षा काम लाग्दैन अब गर्ने शिक्षामा ध्यान दिनुपर्यो’, उनले भने ।
राईका अनुुसार एउटा किताबमा सजीव र निर्जीव, मोटर र हवाइजहाजको बारेमा पढाइन्छ । मोटर पढाउँदा किताबमा हेरेर होेइन मोटरमा गएर पढाउनपर्यो । किताबमा धान पढेर धान फलाउन जानिदैन । नेपालमा राणाकालदेखि शिक्षण प्रणाली बिग्रदै गएको उनले बताए । उनले भने, ‘२००८ सालपछि संस्कृत घोकेका गुरू ल्याएर पढाउन लगाइयो । संस्कृत रटेका गुरूले घोक्ने शिक्षा सिकाए । यो शिक्षा बाँच्नको लागि काम लाग्दैन । धन कमाउन त झनै लाग्दैन ।’
नेपाली पाठ्यक्रममा सामान्य हिसाबमा नगएर नबुुझिने र निकै अप्ठ्यारा शब्दवालीको प्रयोग भएकोमा उनको आपत्ति छ । जसकारण सामान्य कुरा पनि मोडिएर अनावश्यक रूपमा बंगाइएकोमा उनले गुनासो पोखे ।
खोटाङमा वैकल्पिक शिक्षाको सुरुवात गर्नुअघि उनले पूूर्वप्रधानमन्त्री बमाबुराम भट्टराई लगायत चौध जना बोर्ड फर्स्टलाई आफ्नो कोठमा बोलाएर सोधे, ‘तपाईंहरू घोकेर बोर्डफर्स्ट भएको कि बुझेर ?’ जवाफमा एउटै उत्तर आयो, ‘घोकेर’ । त्यहीँबाट उनी निष्कर्षमा पुगे, नेपालको अर्थतन्त्रको विकास गर्ने हो भने काममुखी र उत्पादन दिने शिक्षा र जीवन सहज तरिकाले बाँच्न सिकाउने शिक्षा चाहिन्छ । यही सिद्धान्तले नै उनले उक्त विद्यालयको स्थापना गरेका हुन् । अहिले विद्यालयले गरेको अभ्यास सफल भएकोमा उनी सन्तुष्ट छन् ।
उक्त विद्यालयमा पढाइने पाठ्यक्रम अन्य विद्यालय भन्दा धेरै भिन्न छन् । त्यहाँ पढाइने पाठ्यक्रम राईले बजारको अध्ययन अनुसन्धान र मागलाई नियालेर आफैं बनाएका हुन् । १२ वटा विद्या पढाइन्छन् त्यहाँ । पहिलो हो बोली विद्या । नेपालीले अंग्रेजी, नेपाली, हिन्दी र चिनियाँ भाषा अनिवार्य रूपमा जान्नुपर्ने उनले बताए । अंग्रेजी र नेपाली पूरा बोल्ने र लेख्न सक्ने हुनपर्ने भए पनि अन्य दुई चाहीँं बोल्न जानेमात्र पुग्ने उनले बताए ।
बोली पछि विज्ञान र हिसाब महत्वपूर्ण रहेछ भन्ने बुझे । उनले भने, ‘फिजिक्स त केवल घामकोे र तत्वको अध्ययन रहेछ । केमेस्ट्री त तत्वको गुणको अध्ययन रहेछ । केमेस्ट्री पढाउन ल्याबमा गएर कण्ठ बनाउन आवश्यक नै रहेनछ । १२८ तत्वको गुणको बारे बुझाइदिने नै रहेछ । जमिनमा र पानीको अघि लगेर पढाए बुझिने रहेछ । बोटानी झन् सजिलो । यो भनेको मात्र विरूवाको अध्ययन । पृथ्वीमा जम्मा पाँच प्रकारको विरूवा हुने रहेछ । यही पाँच प्रकारको विरुवाको अध्ययन नै बोटानी रहेछ । जुलोजी भनेको प्राणीको अध्ययन त रहेछ । गाउँका केटाकेटी बिहान गाई दुहेर भकारो सोहोरेर विद्यालय जान्छन्, विद्यालय पुगेर अर्कै काऊ पढ्छन् ।’
अहिले नेपालको शिक्षामा पाठ्यक्रम एकदमै नबुझिनेगरि राखिएको भन्दै उनले भने, ‘हामीले सोझो र व्यवहारिक तरिकाले सिकाउँदै सिकाएनौं । सब विद्यार्थीलाई एकै साइजको जुत्ता लगाउ भनेजस्तो भयो । सोलुखुम्बुमा सालको रुखबारे पढाइएको छ । त्यहाँ त धूूपी हुन्छ साल हुँदैन ।’
तेस्रो विद्या अन्तर्गत खाद्य, चौथो लुगा र पाँचौ विद्या घरको विद्या पढाइन्छ । लुगामा कपास उब्जाउने, कपडा बुन्ने, सिलाउनेलगायत सबै सिक्छन् त्यहाँका विद्यार्थीले । १२ वर्षसम्मका विद्यार्थीले आरसिसी घर, स्याउलाको घर, टिनको छाप्रो र आरसिसीको पाँच सात तल्ले घर बनाउन पनि सिकिसक्छन् । छैटौं विद्या टेक्नोलोजी रहेको छ भने सातौंमा स्वास्थ्य । आठौं शिक्षा यौन शिक्षा रहेको छ । नवौंमा विद्यामा विद्यार्थीले खेलकुद र संगीत सिक्छन् । यसमा मानविक, व्यवस्थापन,पलिटिकल साइन्सबारे पनि पढाइन्छ । दशौं विद्या सिर्जना रहेको छ । एघारौं विद्या अन्तर्गत ‘आत्महत्या शिक्षा’मा जीवन बाँच्ने कलाबारे सिकाइन्छ । उनले भने, ‘धन भनेको बाँच्नको लागि हो, साँच्नको लागि होइन । यहाँ त साँच्ने कुरा गर्छन् र फ्रस्ट्रेट भएर आत्महत्या गर्छन् ।’
उक्त विद्यालयमा विद्यार्थीले १२ वर्षमा पाउने शिक्षा पाँचौ वर्षमा दिइने राईले बताए । बचेको ४ देखि ६ वर्ष त अभ्यासमा जाने उनको भनाइ छ । कति अभिभावकले विद्यालयबारे राम्ररी बुझेका छैनन् । ‘यहाँ त भारी बोकाउँदा रहेछन्, सुंगुर पाल्न लगाउदो रहेछ । यो त हाम्रो जातले दिँदैन भन्नेहरू पनि छन् । बाबुआमाहरूलाई विस्तारै सम्झाउँदै छौं ।’ हाल उक्त विद्यालयमा ३४ जिल्लाका ३६ जातका १५० विद्यार्थी रहेको राईले बताए । अबको तीन वर्षमा सबै नेपालको विद्यार्थी ल्याइसक्ने, पाँच वर्षमा एसियाका सबै र दश वर्षमा विश्वभरका विद्यार्थी ल्याउने उनको योजना छ ।
त्यसको लागि उनले सरकारसँग पनि सहयोगको माग गरेका छन् । केही आर्थिक सहयोग पाए अझै राम्रो गर्ने र सरकारी मापदण्ड अनुसार काम गर्न सकिएन भने पैसा फिर्ता दिने उनले बताए । नेपालको शिक्षाको विकासको लागि सरकारले सरकारी शिक्षा परिवर्तन गर्नैपर्ने उनले प्रण गरे ।
उनले २० वर्ष अघि पढाएका विद्यार्थीले अहिले एमए पास गरिसके । ‘उनीहरुले यता सरकारी आवश्यक्ताअनुसार एसएसली प्लस, टु, बीए ,एम ए पास गरिसके । त्यही विद्यार्थीले सिटिइभिटीबाट पनि दोहोरो सर्टिफिकेट लिएका छन् । सरकारले चाहने शिक्षा र सीप पनि छ । तीन खण्डको शिक्षा छ । हाम्रो विद्यार्थी कसैको स्कुल कलेजमा भर्नामात्र गराउँछौं । पैसा तिर्छौं । तर स्कुल कलेज पठाउँदैनौ । हामी आफैं सिकाउँछौं । स्कुल कलेजको जाँच दिनमात्र जान्छन् उनीहरू । यति गर्दा पनि निरन्तर पास भएका छन् । बरू अन्य रेगुलर कलेज जानेहरू पास हुँदैनन्’, उनले भने ।
कृषि वैज्ञानिक मदन राई