मुख्य समाचार

हवाई मार्ग र भारु समस्या समाधानमा भारत सकारात्मक

ज्ञवाली-स्वराज भेट

हवाई मार्ग र भारु समस्या समाधानमा भारत सकारात्मक

नयाँदिल्ली । नेपालले थप अन्तर्राष्ट्रिय हवाई मार्ग र भारु सटहीसहितका लामो समयदेखि थाती रहेका समस्या समाधानका लागि भारतलाई आग्रह गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बिहीबार मध्याहन नयाँदिल्लीमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भएको करिब एक घण्टा लामो ‘लन्च भेट’ मा त्यस्तो आग्रह गरेका हुन् ।

 

नेपालको आग्रहलाई भारतीय पक्षले सकारात्मक रूपमा लिएको मन्त्री ज्ञवालीले बताए । हवाई मार्गका विषयमा नेपालको चासोलाई भारतीय पक्षले सकारात्मक जवाफ दिएको ज्ञवालीले बताए । मन्त्री स्वराजले यसबारे भारतीय पक्षले प्राविधिक अध्ययन गरिरहेको र केही प्राविधिक समस्याका बारेमा नेपाली पक्षलाई समेत जानकारी गराएको बताएकी थिइन् । हवाई मार्गका विषयलाई समाधान गर्न सकिने र त्यसका विभिन्न विकल्पमा भारत सरकारले सोचिरहेको जवाफ स्वराजले दिएको स्रोतले बताएको छ ।

 

बैठकमा नेपाली पक्षले भैरहवा क्षेत्रीय विमानस्थल आगामी जुनमा सम्पन्न भई केही महिनाभित्रै सञ्चालनमा ल्याउने योजना रहेको र सन् २०२० मा नेपाल भ्रमण वर्ष पनि मनाउन लागिएको सन्दर्भमा अतिरिक्त हवाई प्रवेश विन्दु महत्त्वपूर्ण रहेकामा जोड दिएको थियो । हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा भने भारतीय पक्षले कुनै निश्चित समयसीमा भने नतोकेको स्रोतको भनाइ छ ।

 

भारु सटही सम्बन्धमा नेपाली पक्षले राखेको चासोमा मन्त्री स्वराजले दुई देशका केन्द्रीय बैंकबीच छलफल अगाडि बढेको र चाँडै नै सकारात्मक निष्कर्ष निस्कने विश्वास व्यक्त गरेकी थिइन् । नेपाल सरकारले एक सयभन्दा माथि दरका भारु नोट प्रयोगमा प्रतिबन्ध लगाउनेसम्बन्धी हालै गरेको निर्णयका बारेमा भारतीय पक्षले चासो व्यक्त गरेको थियो ।

 

त्यसको जवाफमा नेपाली पक्षले भारतले प्रचलनमा ल्याएका नयाँ नोट प्रयोगमा ल्याउँदा विगतको जस्तो समस्या भविष्यमा नआओस् भन्नेमा विश्वस्त हुन खोजेको बताएको थियो । यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

भारु  हवाई मार्ग

विशेष