समाज

देवघाटमा बास पाउनै झमेला, स्नान गरेरमात्रै फर्किन्छन् पर्यटक

- सुरेन कुँवर

देवघाटमा बास पाउनै झमेला, स्नान गरेरमात्रै फर्किन्छन् पर्यटक

चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा आउने भक्तजन स्नान गरेर मात्रै फर्कनु गर्नुपर्ने बाध्यता छ । देवघाटमा लाग्ने मेला तथा महोत्सवमा भक्तजनको चाप वृद्धि हुँदै गए पनि उचित बासस्थानको व्यवस्था नहुँदा स्वदेशी तथा विदेशी पर्यटक स्नान गरेर मात्रै फर्किने गरेका हुन् ।

 

नयाँ वर्ष, बोलबम मेला, जनैपूर्णिमा, ठूलो एकादशी, बाला चतुर्दशी, शिवरात्रिलगायतमा यहाँ मेला लाग्छ । माघे सङ्क्रान्तिका दिन सारा देवीदेवता देवघाट क्षेत्रमा आउने विश्वास गरिन्छ । सो  दिन त्यहाँ स्नान गरेमा मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ । यहाँ भारतीय पर्यटकहरू धेरै आउने बताइन्छ ।

 

विसं २०५०  मा स्थापित देवघाट क्षेत्र विकास समितिले यसको पूर्वाधार विकासका निम्ति गुरुयोजना निर्माण गरे पनि बजेट अभावमा कारण यस क्षेत्रलाई व्यवस्थित गर्न सकिएको छैन । त्यहाँ खासै होटेल, रेष्टुरेण्ट, घरबास आदि छैनन् । यसले गर्दा आन्तरिक तथा बाह्य पर्यटकलाई बास बस्न नारायणघाट नै पुग्नुपर्ने बाध्यता छ ।

 

चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा प्रत्येक वर्ष माघे सङ्क्रान्ति मेला भर्न मात्रै पाँच लाख बढी धार्मिक पर्यटक आउँछन् । मेलामा आउने १० प्रतिशत पर्यटक आफन्तका घर, आश्रम, धर्मशाला र कल्पबास क्षेत्रमा बस्ने गरेका छन् भने ९० प्रतिशत हिँडेर आउने र बाटाबाटै हिँडेर फर्किने गरेका छन् ।

 

समितिका अध्यक्ष शिवराज पौडेलले भक्तजन बस्ने भवन निर्माणका विषयमा समिति गम्भीर भएको बताए । उनले भने, “भक्तजनको बसोबासको निम्ति अतिथि गृह, होमस्टे र शाकाहारी भोजनालय निर्माण गर्न निजी क्षेत्रलाई आह्वान गर्नुपर्छ । धेरै भक्तजन अट्ने धर्मशाला बनाउन दाताहरूलाई आग्रह पनि गरेका छौँ ।”

 

सुगम तीर्थस्थल देवघाटको भौतिक पूर्वधार विकास वर्षौंदेखि नहुँदा यो समस्या जहाँको त्यहीँ छ । सरकारले ल्याउने नीति तथा कार्यक्रममा देवघाटलाई समावेश गर्न नसकेको स्थानीयवासीको गुनासो छ ।

 

एक लेनको सडक

देवघाटधाम सहजै पुग्न सकिँदैन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत आँपटारीदेखि देवघाटसम्म करीब ४ किलोमिटरको एक लेनको बाटामा दोहोरो रूपमा सवारी साधन गुड्न कठिन छ । गत वर्ष यो बाटो केही फराकिलो बनाइए पनि देवघाटसम्म पुग्न सवारी साधनलाई समस्या हुने गरेको छ । मेला महोत्सवका बेलामा देवघाट पुग्न एक किलोमिटर वरदेखि नै  सवारी साधन जाममा पर्ने गरेका  छन् ।

 

समितिका अध्यक्ष पौडेलका अनुसार  सरकारको प्राथमिकतामा देवघाट नपरेकाले यस क्षेत्रको विकासले फड्को मार्न सकेको छैन । मेलाका समयमा ठिमुराबाट प्रवेश गर्ने र आँपटारीबाट निस्कने व्यवस्था मिलाइएको भए पनि बाटो साँघुरो भएकै कारण भक्तजनलाई घण्टौँ लाइनमा बस्नुपर्ने समस्या रहेको पौडेलले बताए ।

 

जोखिममा झोलुङ्गे पुल

भरतपुर महानगरपालिका र देवघाट–वेणी सङ्गम जोड्ने मुख्य झोलुङ्गे पुलमा भक्तजनको चापका कारण जोखिम बढेको छ । विसं २०३७ मा निर्माण भएको पुलमा क्षमताभन्दा बढी भक्तजनको आवतजावत हुने भएकाले यसको जोखिम बढेको हो । “दश वर्षदेखि पुलको जोखिम बढेको शङ्का गरेका छौँ”, समितिका अध्यक्ष पौडेलले भने, “एक पटकमा ७०० जना धान्न सक्ने क्षमता पुलको भए पनि १२०० जना हिँड्नुपर्ने बाध्यता छ । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पुलको मर्मत गरिरहेका छौँ ।”

 

दुई सय ३५ मिटर लामो यस पुल देशकै सबैभन्दा मानिसहरू आवतजावत गर्ने झोलुङ्गे पुल भएको समितिको जिकिर छ । झोलुङ्गे पुलको एक मिटर लम्बाइ बराबर तीन  मानिस धान्न सक्ने क्षमता हुन्छ । समितिले यस वर्ष माघे सङ्क्रान्ति मेलाका समयमा जोखिम न्यूनीकरण कम गर्न धेरैभन्दा धेरै डुङ्गा र र्‍याफ्टिङ बोट सञ्चालन गर्ने व्यवस्थापन मिलाएको छ ।

 

विकल्पमा पक्की पुल

समितिले देवघाट – वेणी सङ्गम जोड्न केवलकार, त्रिकोणात्मक पुल र पक्की पुल निर्माणलाई गुरुयोजनामा समावेश गरेको छ ।

अहिले सञ्चालनमा रहेको झोलुङ्गे पुलको ९० मिटर पूर्वपट्टि पक्की पुल बनाउने कामलाई अघि बढाइएको अध्यक्ष पौडेलले जानकारी दिए । त्यसका लागि सडक विभागले माटो परीक्षण र सर्भे गर्ने काम भइसकेको छ भन्दै उनले रु ३० करोडको लागतमा पुल निर्माण हुने बताए ।  पुल निर्माण गर्न स्थानीय, प्रदेश  र केन्द्रीय सरकारसँग बजेटका लागि पहल थालिएको उनले जानकारी दिए । 

 

भक्तजन बढ्ने

यस वर्ष माघे सङ्क्रान्ति मेला भर्न आउने भक्तजनको सङ्ख्यामा वृद्धि हुने समितिले जनाएको छ । गत वर्ष ५ लाख भक्तजन देवघाट आएकामा यस वर्ष साढे ५ लाख झक्तजन मेलामा आउने समितिका अध्यक्ष पौडेलले जानकारी दिए । हरेक दुई दुई वर्षमा आयोजना हुने चितवन महोत्सव अवलोकन गर्न आउनेहरू मेलामा स्नान पनि गर्न आउने भएकाले भक्तजनको सङ्ख्यामा वृद्धि हुने आयोजकले अनुमान गरेको छ । मेला व्यवस्थापन गर्न समितिको संयोजकत्वमा २०५ सदस्यीय समिति गठन गरिएको छ ।

देवघाट

विशेष