पशुपतिनाथलाई योजना बनाएरै विश्व सम्पदाबाट हटाइँदैछ (भिडियोसहित)
काठमाडौं । गणपतिलाल श्रेष्ठ नेपालका सम्पदाहरुको संरक्षणका लागि संघर्ष गरिरहेका जझारु युवा हुन् । उनले सम्पदा बचाऔं अभियान संघर्ष समिति गठन गरेर सो अभियानको नेतृत्व गरिरहेका छन् । वशन्तपुर दरबार क्षेत्रलाई प्रभाव पार्ने गरी पुरानो क्रिष्टल होटल भएको ठाउँमा बनिरहेको अग्लो भवनविरुद्ध लड्ने गणपतिकै समूह हो । धरहरा जस्तै गरी साइडवाकर्स नामक कम्पनीले वशन्तपुर दरबार क्षेत्र पनि खान खाजेको थियो । तर गणपतिको समूहले उनीहरुलाई लखट्यो ।
गणपतिको समूहले वशन्तपुरमा मात्रै होइन, रानीपोखरी, बौद्धनाथ, पशुपतिनाथ लगायत सम्पदामा पनि भइरहेको अतिक्रमण र मौलिकता नष्ट गर्नेहरुविरुद्ध संघर्ष गरिरहेको छ । कतिपय मानिसहरुलाई मौलिकता कसरी नष्ट गरिँदैछ भन्ने विषयमा सम्पदा बचाऔं संघर्ष समितिले मानिसहरुलाई बुझाइरहेको छ ।
पशुपतिनाथको मौलिकता नष्ट पारिँदैछ
अभियन्ता श्रेष्ठको दावीअनुसार पशुपतिनाथ मन्दिरको मौलिकता नष्ट गर्न पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरु नै लागि परेका छन् । विश्वरुप मन्दिरको जीर्णोद्वारा हुन सकेको छैन तर विकास कोषका पदाधिकारीहरुलाई सिमेन्टड सडक नबनाइ भएको छ । पशुपतिनाथको मन्दिर विश्व सम्पदा सूचीमा परेको सम्पदा हो । तर कोषका पदाधिकारीहरु त्यो सूचीबाट हटे पनि फरक नपर्ने बताउँछन् । उनीहरुको मतमा हिन्दुहरुका कारण पशुपतिनाथ प्रशिद्ध रहेको हो, विश्व सम्पदाको कारण होइन ।
पशुपति क्षेत्रमा निर्माण हुने निर्माण सामाग्रीमा चुना सुर्कीको प्रयोग गरेर परम्परागत स्वरुप दिन सुझाव दिइएको छ । पुरातत्व विभाग, वडा कार्यालयसमेतले त्यसो नगर्न पत्र काट्दा पनि पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरुलाई केही फरक परेको छैन । उनीहरु जसरी पनि मौलिकता नष्ट गर्ने अभियानमै लागेका छन् ।
सम्पदा बिगार्ने काम पशुपतिनाथमा मात्रै होइन, बौद्धनाथमा पनि भएको छ । बिजुलीको झिलझिले बत्ति बाल्ने, जथाभावी प्वाल पार्ने जस्ता काम गरिएका छन् । वशन्तपुर दरबार क्षेत्रलाई प्रभाव पार्ने गरी अग्लो भवन बनाइएको छ । जसका कारण सो क्षेत्र अहिले ओझेलमा पार्ने काम गरिएको छ । यसमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य पनि लागि परेका छन् । उनले सम्पदाको पक्षमा भन्दा व्यापारीको पक्षमा लागेका छन् । काठमाडौंका सम्पदा सिध्याउन मेयर शाक्यको पनि हात धोएर लागि परेको गणपति बताउँछन् ।
हरेक क्षेत्रको गलत ठेकेदारीको विरोध हुनेगर्छ । संघर्षका दौरान गणपतिलाई यस्तो ठेकेदार उत्पादन त सरकारी अधिकारीहरुले नै उत्पादन गरिरहेको जस्तो लाग्यो । रानीपोखरी र धरहराको दूर्भाग्य ठेकेदारीप्रथाकै कारण भएको हो । धरहराको सवालमा गणपतिको समूहले पहिलो कार्यकालमा केपी ओलीलाई धरहराको भग्नावशेष शिशामा राख्न भनेको थियो । त्यो अहिले पूरा हुने भएको छ । तर २२ तलाको धरहराबाट काठमाडौंमा हेर्ने चाहिँ के ? यो प्रश्नको जवाफ बनाउन खोज्ने सरकारसँग पनि छैन । किनभने कंक्रिटबाहेक अब काठमाडौं खाल्डोमा लायक केही छैन ।