प्रवास

पीडितलाई बाँड्नै पुग्दैन म्यानपावर व्यवसायीको धरौटी

पीडितलाई बाँड्नै पुग्दैन म्यानपावर व्यवसायीको धरौटी

काठमाडौँ । विदेशमा नेपाली श्रमिक पठाउँदा म्यानपावर व्यवसायीले राख्ने धरौटी रकमबाट पीडितलाई क्षतिपूर्ति दिनै पुग्दैन । म्यानपावरले करार गरेको सेवासर्त पूरा नभएर फर्किएका र उच्च लागत शुल्क लिएर उजुरी दिने पीडितलाई वैदेशिक रोजगार विभागले धरौटीबाट क्षतिपूर्ति दिन थालेको छ । पीडितको संख्या बढ्दै गएकाले थौरै व्यक्तिले मात्र क्षतिपूर्ति पाउने गरेका छन् ।

 

युरो नेपालद्वारा टर्की पठाइएका श्रमिकहरू दुई वर्षे करारपत्र नसक्दै फर्किन थालेका छन् । युरोले टर्कीमा झन्डै ९ सय श्रमिक पठाएको थियो । तीमध्ये तीन सय जना फिर्ता भइसकेका छन् । ‘पहिलो पटक ९ जनाले उजुरी हालेका थिए, छानबिन गरी २७ लाख रुपैयाँ दिलाइयो,’ विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले कान्तिपुरसँग भने, ‘म्यानपावरको धरौटीबाट क्षतिपूर्ति दिइएको हो ।’

 

सेवासर्त पूरा नभएको र उच्च लागत शुल्क लिएको भन्दै पीडितले युरो नेपालविरुद्ध विभागमा उजुरी दिएका थिए । झन्डै ४० भन्दा बढीले लिखित उजुरी हालेका थिए । ९ जनाले मात्रै क्षतिपूर्ति पाए । युरोविरुद्ध उजुरी दिनेको संख्या दैनिकजसो बढिरहेको छ । उनीहरूलाई तुरुन्तै क्षतिपूर्ति दिइहाल्न विभागसमक्ष दोस्रो विकल्प मात्रै छ । चापागाईं भन्छन्, ‘बाँकीलाई रकम दिन म्यानपावर र सञ्चालकको जायजेथा बेच्नुपर्छ । यसको प्रक्रियामा छौं ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।

म्यानपावर व्यवसायी

विशेष