‘हाम्रैै मान्छे केन्द्रीय सदस्य बन्नुपर्छ’ भनेपछि कुुरा बुझ्यौं (भिडियोसहित)
काठमाडौं । गोविन्द नारायण विवेकशील नेपाली दलका नेता हुन् । विवेकशील नेपाली दलको जग बसाउने नेताहरुको नाम लिँदा गोविन्द नारायणको नाम छुटाउन मिल्दैन । पूर्वपत्रकार रवीन्द्र मिश्रको साझा पार्टीसँग विवेकशील मिसियो । तर यो एकता १७ महिना पनि टिक्न सकेन । आखिर किन त्यस्तो भयो त ? प्रस्तुुत छ उनीसँगको कुराकानीको मुख्य अंशहरुः
विवकेशील नेपाली दलको शैद्धान्तिक आधार बनाउने नेताको रुपमा परिचित हुनुहुन्छ । अहिले आएर विवेकशील साझा फुट्यो । फुट्नुको वैचारिक आधार छ कि अंकगणित मात्रै ?
विवेकशील नेपाली दल र साझाको मूल्य मान्यताहरु आधारभूत रुपमै भिन्न थियो । हामीले मूल्य मान्यतालाई नै अभ्यास गरेर नै अगाडि जानुपर्छ भन्ने ठानेका छौं । किनभने हामीले गरेको राजनीति भनेको २१ औं शताब्दीको हो । साझा पार्टीले चाहिँ मूल्य मान्यता आलंकारिक विषय हो । त्यसको अभ्यास पछि गरे पनि फरक पर्दैन भन्ने गथ्र्यो । अहिले हामी शक्तिमा पुग्न जरुरी छ भन्ने ठान्थ्यो । जसका कारण उहाँहरु अंकगणितमा अल्झिनुभयो । हामी मूल्यमान्यतामा ।
कस्तो खालको मूल्यमान्यता हो ? स्पष्ट पारिदिनुस न ।
धेरैजसो पार्टीहरु राजनीतिक दर्शनबाट प्रेरित हुन्छ । कुनै पनि संगठन के आधारमा के पृष्ठभूमिमा बनेको छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । राजनीतिक दर्शन भनेको दस्तावेज हो । तर मूल्य मान्यता चाहिँ त्यसको आधार हुन्छ । मूल्यमान्यता बोकेको पार्टीमा हेरिने भनेको विनम्रता हो । त्यो पार्टी कति जवाफदेही छ । कति अनुशासित छ । उसले जनताका समस्यालाई कति नजिकबाट आफूलाई नियालिरहेकोछ ? । यो सबै कुराहरु बुझ्नु पर्ने हुन्छ ।
विवेकशील सानो दल थियो । एक अभियान थियो । पार्टी नै बनाउदा धेरै मानिसहरु ल्याउनु पर्छ । त्यो बेलामा फरक खाले मानिसहरुलाई पनि समेटेर हिँड्नु पर्छ भन्ने लागेन ?
गुणस्तर कायम राख्ने कि संख्या मात्रै वृद्धि गर्ने ? यो विषय महत्वपूर्ण हुन्छ । अहिले दुई तिहाइ बहुमतको सरकार छ । भयंकर कम्युनिष्ट शिद्धान्त पनि उसले बोकेको छ । तर उसले जनताको मन जित्न सकेको छैन । जनताले भोगिरहेको समस्या समाधान गर्न सकेन । किनभने ठूलो भएर पनि यो पार्टीका नेताहरुमा मूल्यमान्यता छैन । धान रोपेर धान नै फलाउन सकिन्छ । कागती फलाउन सकिदैन । हामीलाई राजनीतिक पार्टी मात्रै चाहिएको थिएन । हामीलाई त मूल्यमान्यता, राजनीतिक दर्शनसहितको परिपाटी चाहिएको हो । पार्टीहरु त नेपालमा जति पनि छन् नी ।
तपाईंहरुले चाहिँ धान रोपेर कागती फलाउन खोज्नु भएको हो ?
खासमा सबै पार्टीहरु सत्तामुखी नै हुन्छन् । तर हामी सत्तामा गएपछि त्यसको उद्देश्य के त ? संगठन मात्रै खोल्नु ठूलो कुरा होइन । संगठनले सेवा डेलिभरी गर्न सक्छ कि सक्दैन भन्ने महत्वपर्ण कुरा हो । प्रधानमन्त्रीहरु धेरै बने । साना ठूला धेरै पार्टीहरु सत्तामा पुगे । तर परिपाटी स्थापना गर्न सकेनन् । पार्टी फुटको कारण चाहिँ मूल्यमान्यताको आधार फरक । संरचनागत आधारहरु फरक र दर्शन पनि फरक थियो ।
तपाईंको पूर्वपार्टीका प्रवक्ता सूर्यराज आचार्यले रवीन्द्र मिश्रको उचाई धेरै भयो, उज्वल थापाको होचो भयो । शैद्धान्तिक कुरामा मतभेद थिएन । अग्लो र होचो व्यक्तित्वका कारण उज्वल थापा आफू डिमरलाइज हुनु भयो भन्ने कुरा गर्नु भएको थियो । कुरा के हो ?
रवीन्द्र मिश्रले यसलाई संक्रमणकाल भन्नुभएको थियो । हामीले स्थापनाकाल भनेका थियौं । स्थापनाकालमा उदाहरण पेश गर्दै जानु हुन्छ । संक्रमणकालमा औषधि खाइहाल्नु पर्छ । स्थापनाकालमा स्टामिना बनाउने हो । यो बेलामा कस्तो चरित्रको पार्टी बनाउने, कस्तो लक्ष्य राख्ने भन्ने विषयमा हाम्रो विभेद हो । विवेकशील नेपाली दलमा त अपरिचित नेता हो । हामीले व्यक्ति केन्द्रीत राजनीति गरेकै होइन । रञ्जु दर्शना जस्तो नेताको कसरी उदय भयो त ? उनलाई त कसैले चिनेका थिएनन् । नेताहरु त सिर्जना गर्न सक्नु पर्छ ।
कुनै पनि राजनीतिक दलले नागरिकलाई विवेकशील बनाउने हो कि विवेकशील बन्न आग्रह गर्ने हो ?
राजनीतिक दल भनेको समाज चलाउने साँचो मात्रै हो । इञ्जिन भनेको नागरिक नै हुन् । पार्टीले साँचोको काम मात्रै गर्ने हो । साँचो मिल्यो भने इञ्जिन स्टार्ट हुन्छ । मिलेन भने केही हुँदैन । पार्टी भनेको सानै इकाई हो । ठूलो हुनैपर्छ भन्ने छैन । साँचो जहिले पनि सानै त हुन्छ नी हैन ?
समाजलाई स्टार्ट गर्ने परिपाटी चाहिँ के यहि संसदीय अभ्यास नै हो ?
संसदीय प्रणाली भनेको त समाज चलाउने अनेक विधि मध्येको एउटा विधि हो । यो बदल्न पनि सकिन्छ । हामीले नागरिकहरुलाई नै अगाडि राखेर समाज चलाउने विधि नै हाम्रो हो । नागरिकमा रुपान्तरण गर्न सकिएन भने राजनीतिक दल जस्तो भए पनि अर्थ हुँदैन । चेतनाको स्तर नागरिकमै उच्च हुनुपर्छ ।
तपाईंहरुले समाउनु भएको मूूल्यमान्यता स्वीकार गर्छौैं भन्नुभयो भने साझाका नेताहरुसँग फेरि एकता गर्नुहुन्छ ?
त्यो त सधै खुला छ । हाम्रो विवेकशील भनेको सडकबाट उठेको पार्टी हो । अहिले फेरि सडकमै छौं । सडकमा हुँदा हामीलाई रत्तिभर पनि फरक पर्दैन । किनभने हामी सडकबाट उठ्न सक्छौं । हामीले पार्टी खोल्दा १५–१६ जना त थियौं नी ।
चार वर्षसम्म तपाईहरु अभियानमै सिमित हुनुभयो, साझासँग मिलेपछि पार्टी बन्ने प्रक्रियामा जानु भयो भन्ने साझाका नेताहरु भन्छन् नी ?
चीनमा कम्युनिष्ट पार्टीको स्थापना भयो । तर मानिसहरुलाई त्यो थाहा थिएन । पार्टीभन्दा अगाडि अभियान नै थियो । औपनिवेशिकताबाट मुक्त गर्ने अभियान थियो । भारतमा महात्मा गान्धीले पनि त अभियान नै चलाए । त्यो अभियान के पार्टीको मात्रै थियो ? नेल्सन मण्डेलाले अभियान नै चलाए । मार्टिन लुथर किंगले पनि अभियान नै चलाए । अभियान भनेको पार्टीको अगाडि केही होइन भन्ने सोच मै त्रुटि छ । अभियानले नै पार्टी स्थापना गरिदिन्छ ।
तपाईंहरुको अभियान कुन वर्गका लागि हो ? तपाईंहरुलाई एलिट वर्ग वा भाई कांग्रेस भन्ने गरिँदो रहेछ ।
मेरो पिताजीले दशसम्म पढ्नु भएको छ । आजीवन श्रम गरेर मेरो पालनपोषण गर्नुभयो । त्यस्तो बाबुको छोरो म एलिट वर्गमा पर्छु होला ? हाम्रो पार्टीमा धेरैजस्तो मै जस्ता छन् । आफ्नै मेहनतले सक्षम नागरिक बन्ने प्रयास गर्नेहरु छौं हामी ।
तपाईंहरु दिनभर जागिर खाने, अनि शनिबार बैठक बस्ने र विलासी राजनीति गर्ने भनेर साझाका नेताले आरोप लगाए नी ?
आफू आफ्नै खुट्टामा उभिन सक्दैन भने त्यस्ताले राजनीति गरेर कसरी देशलाई उभ्याउन सक्छन् ? मैले राजनीति गरेरै जीवन चलाएँ भने त त्यो पेशा बन्छ । यो सेवा हो । म जागिर नखाएर पार्टीको लेवी खाएर बस्न मिल्छ ? मैले किन पौरख नगर्ने ? मेरो परिवार व्यापारीले पालिदिनु पर्ने हो ? मैले पौरख गरेर राजनीति गर्ने हो । अमेरिकाका अधिकांश राष्ट्रपति आफ्नो पेशाबाट आए । राष्ट्रपतिको अवधि सकियो, फेरि उनीहरु काममा फर्किए । कृषिबाट आउनेहरु पनि राष्ट्रपति भए ।
पार्टीको काम पनि गर्ने, जागिर पनि खाने । यो कसरी सहज हुन्छ ?
सतप्रतिशत काम यदि पार्टीको लागि मात्रै गर्ने हो भने त्यस्तो गर्नेको जीवन अरुले पैसा दिएर चलाई दिनु पर्छ । अरुको दयामा जीवन बाँचेपछि त्यो त आधारभूत रुपमै असान्दर्भिक हुन्छ । त्यो आधारमा चल्ने हो भने त्यो पार्टी पैशा हुनेहरुको औजार मात्रै बन्छ । त्यो पार्टीले व्यापारी वा पैशा हुनेका लागि मात्रै काम गर्छ । आम नागरिक बनेर नै राजनीति गर्नुपर्छ । संगठन नै शक्ति पृथकीकरणका आधारमा चल्नुपर्छ । रवीन्द्रजी मिडियामा समाजमा छाउनु भयो होला । तर हामीले व्यक्तिलाई होइन पद्धतीलाई महत्व दियौं । केन्द्रीय समिति सदस्य थप्नु पर्छ र त्यो हामीले नै छानेको व्यक्ति हुनुपर्छ भन्न थालेपछि हामीले यो सहभागीतामूलक राजनीतिक भएन भनेर छाड्यौं ।
यो फुटलाई कसरी विश्लेषण गर्नुभएको छ ?
विवेकशील नेपाली दल किन पुनर्जागृत भयो भन्ने कुरा महत्वपूर्ण हो । हामीले बोकेका मर्महरु त्यहाँ सम्भव हुने देखिएन । मैले फुट होइन निकास भनेको छु । त्यही बसेर झगडा नै गरिरहने हो भने फाइदा थिएन ।
दार्शनिकहरुले भन्छन् कि कुनै पनि कुराको केन्द्र सधै रहिरहँदैन । एक सधै एक हुँदैन । त्यो दुईमा रुपान्तरण हुन्छ । तपाईहरुको स्पेस कहाँ हो ?
कम्युनिष्टमा किन बिचलन आयो ? किनभने यो सेन्टरमा थिएन । डेमोक्रयाटले पनि कम्युनिष्टका केही कुरा लिएका छन् । लिवरल र लेफ्टीस्टहरु पनि केही कुरामा एकै ठाउँ आएका छन् । पृथ्वीको पनि सेन्टर छ । युनिभर्सको पनि छ । केन्द्र हुन्छ, हामीले पत्ता लगाउन सकेका छैनौ । हामी बाबुका मात्रै सन्तान होइनौं । आमाका पनि हौं । एक खुट्टाले मात्रै हिँड्न सम्भव छैन । त्यसकारण त्यसबाट केन्द्र सिर्जना हुन्छ । आमनागरिकलाई केन्द्रमा राख्नु पर्छ । त्यही हो केन्द्र ।
तपाईहरुको मौलिकता के हो ?
नेपालमा मार्क्सलाई पढेर शिद्धान्त बनाए । माओ र लेनिनबाट सिकेर यहाँ लागू गर्न खोजे । नेपालीले नेपालको आवश्यकता हेरेर शिद्धान्त र कार्यक्रम बनाउनु पर्छ । हाम्रो सीमा मिचिएको छ । यो बेला मार्क्सले के भन्छन् त्यो मतलव हुँदैन । हामीले हाम्रो परिवेशअनुसार काम गर्नुपर्छ ।
अन्त्यमा केही छ ?
विवेकशील नेपाली दलको भावना हामीले छाडेनौं । यो भावनालाई जोगाउनकै लागि फेरि आयौं । यसमा सबैलाई साथ दिन हुन अनुरोध गर्दछु ।