‘पार्कर’का विश्व कीर्तिमानधारी प्रतिभाशाली नेपाली युवा (भिडियोसहित)
काठमाडौं । खोटाङका दिनेश सुनारलाई ‘उल्टी’ हानेपछि आफूलाई हिरो भएजस्तो लाग्थ्यो । उट्पटाङ गतिविधिमा पर्ने त्यस खेलले नै उनलाई चिनायो । गाउँघरमा भनिने, त्यो ‘उल्टी जम्प’ को नाम त ‘पार्कर’ खेल रहेछ । उनलाई पनि थाहा थिएन । अहिले उनले पार्कर खेलेकै १९ वर्ष भइसक्यो । इन्टरनेट सहज हुनथालेपछि युट्युब हेरेर उनले आफूले गर्ने उट्पटाङ काम खेल भएको चाल पाए । युट्युब हेरेरै गर्नुपर्ने ‘मुभ्स’ मा उनले सुधार गरे । कस्तो खेल हो त पार्कर ? भन्ने प्रश्नमा उनले भने, ‘एउटा बिन्दुबाट अर्को बिन्दुमा जाँदा आउने कठिनाईलाई सजिलै सामाधान गरेर ठाउँमा पुग्नुलाई नै पार्कर खेल भनिन्छ । सामान्य रूपमा बुझ्दा यो कठिनाईसँग जुध्ने खेल हो ।’
विदेशी पार्करहरूको भिडियो हरेर उनले आफ्नो शैली पनि सुधारे र पार्कर खेल्न थालेको ६ वर्ष पछि विश्व कीर्तिमानी राख्न सफल भए । पार्करको ‘फ्रि स्टाइल’ भन्ने विधामा उनले किर्तिमान राखेका हुन् । त्यसमा एक मिनेटमा भित्तामा टेकेर ब्याक फिल्डमा दुई वृत्त बनाएर ल्यान्डिङ् हुनुपर्ने हुन्छ । दोस्रो रेकर्ड ‘ब्याक फ्लिप’ अर्थात ३० सेकेण्डमा भित्तामा टेक्दै फर्किनेमा राखे । करिब ६ वर्षसम्म खेललाई निरन्तरता दिएपछि उनले कीर्तिमान राखेका हुन् । एक वर्ष अघि उनले राखेको यो रेकर्ड अहिलेसम्म कसैले पनि तोड्न सकेको छैन । धेरैले विश्व कीर्तिमान राखेपछि गिनिज बुकले केही न केही पारिश्रामिक दिन्छ भन्ने सोच्छन् । यो कुरालाई प्रष्ट पार्दै उनले भने, ‘पहिला २० लाख रुपैयाँ पाइन्थ्यो भन्ने सुनेको थिएँ । तर वास्तविकता यो हो कि गिनिज बुकमा नाम लेखिदैमा केही पनि पाइदैन । पैसाका लागि होइन गिनिजबुक नाम कमाउनका लागि हो ।’
पेशाले उनी सशस्त्र प्रहरी जवान हुन् । प्र्रहरीमा जागिर खाएको अहिले ६ वर्र्ष भयो । यसका साथै उनी ‘जिम्नास्टिक’ का राष्ट्रिय खेलाडीण् पनि हुन् । जिम्नास्टिकबाटै उनले दुईवटा स्वर्ण पदक पनि जितिसकेका छन् । जिम्नास्टिक र पार्कर खेल फरक भएको उनले बताए ।
विश्व कीर्तिमान राखेर देशलाई चिनाए पनि नेपाल सरकारको तर्फबाट पार्कर खेलमा भने कुनै पनि सहयोग नभएको उनी बताले । तर यसमा उनको खासै गुनासो छैन । खेल जोखिमपूर्ण पनि भएको हुनाले सरकारी तवरबाट यो खेलको विकास हुन अलि समय लाग्ने उनको बुझाइ छ । नजिकबाट चिन्नेहरूले उनलाई ‘फ्लाइङ म्यान’ को नाम दिएका छन् । यो नाम पाएर उनी आफैं पनि खुसी छन् ।
पार्कर खेल्दा खेल्दै उनले सपना बुनिसके । नेपालमा पनि यो खेललाई स्थापित गराउने । एउटा टे«निङ सेन्टर स्थापना गरेर यसको स्थापनाको लागि काम गर्नु छ उनलाई । तर यसको लागि देशविदेशमा रहेका नेपालीबाट सहयोगको खाँचो भएको उनले बताए । हाल उनी तेस्रो कीर्तिमानीको तयारीमा जुटेका छन् । पार्कर खेलको लागि व्यवस्थित हल छैन । जसकारण अहिलेसम्म बालुवाखानीमै खेल्न बाध्य छन् उनी ।
यसकारण फरक छन् पार्कर र जिम्नास्टिक
जिम्नास्टिक घर भित्र खेलिने खेल हो । यो पनि ‘प्रोफेसनल’हरूले मात्र । यसमा प्रयोग हुने शैली घर बाहिर प्रयोग गर्न मिल्दैन । तर पार्कर घरबाहिर खेलिन्छ । पार्कर भनेको कठिनाईलार्ई कम गर्नु हो भने जिम्नास्टिक भनेको शरीर ‘फ्लेग्जिबल’ बनाउने मात्रै ।