स्वास्थ्य

४६९ स्थानीय तह डाक्टरविहीन

४६९ स्थानीय तह डाक्टरविहीन

काठमाडौं । सरकारले नीति तथा कार्यक्रममार्फत घोषणा गरेको सबै वडामा स्वास्थ्य संस्था र हरेक स्थानीय तहमा कम्तीमा एक डाक्टर पुर्‍याउने योजना अलपत्र छ । सात सय ५३ मध्ये चार सय ६९ तहका अस्पताल तथा स्वास्थ्य संस्थामा एउटै पनि डाक्टर छैनन् ।

 

सरकारी घोषणा कार्यान्वयन प्रक्रिया नै सुरु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालै गरेको अध्ययनले पनि धेरै स्वास्थ्य संस्था डाक्टरविहीन रहेको देखाएको छ । कतिपय स्थानीय तहमा स्वास्थ्य संस्थाको संरचना नै छैन ।

 

मन्त्रालयले पहुँचका आधारमा
डाक्टरलाई सुगममा मात्रै पठाउँदा दुर्गम क्षेत्रका स्थानीय तह चिकित्सकविहीन भएको मन्त्रालय स्रोत बताउँछ । विगतका नेतृत्वले दुर्गमका स्वास्थ्य संस्थामा चिकित्सक नपठाउँदा पनि अहिले समस्या बढेको हो । स्वास्थ्य मन्त्रालयको नीति योजना शाखाका उपसचिव भक्तराज जोशीले चिकित्सक नभएका चार सय ६९ स्थानीय तहमा चिकित्सकीय सेवा प्रत्याभूतिको व्यवस्था मिलाउने तयारी भइरहेको बताए ।

 

मेडिकल अफिसर करारमा राख्ने तयारी
सरकारले स्थानीय तहका स्वास्थ्य संस्थामा सेवा प्रवाहमै समस्या देखिएपछि चालू आर्थिक वर्षका लागि मेडिकल अफिसर करारमा राख्ने तयारी थालेको छ । स्वास्थ्यसचिव केदारबहादुर अधिकारीले मेडिकल अफिसर करारमा राखेर स्वास्थ्य सेवा दिलाउन प्रदेश सरकारलाई निर्देशन भइसकेको बताए ।

 

प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्राविधिक सहयोगमा मेडिकल अधिकृत करारमा लिई सम्बन्धित प्रदेशअन्तर्गतका अस्पतालहरूमा परिचालन गर्न निर्देशन भएको छ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो । 

डाक्टर स्थानीय तह

विशेष