सुनकाण्डका अभियुक्त उम्काउने पाँच न्यायाधीशलाई ‘कारबाही’
गलत नियतले न्यायसम्पादन गरेर अभियुक्तलाई धरौटी र तारेखमा छाडिदिएको आरोप
काठमाडौं । सुन तस्करीका आरोपितबारे विवादास्पद थुनछेक आदेश गरेका उच्च अदालतका पाँच न्यायाधीश ‘प्रारम्भिक कारबाही’ मा परेका छन् । उच्च अदालत विराटनगरका ती न्यायाधीशलाई न्यायपरिषद्ले काठमाडौं तानेको छ । सनम शाक्य हत्याकाण्ड र ३८ क्विन्टल सुन तस्करीको मुद्दामा जोडिएका आरोपितबारे जिल्ला अदालतले गरेका अधिकांश थुनछेक आदेश उनीहरूले उल्ट्याएका थिए ।
उच्च अदालत विराटनगर स्रोतका अनुसार न्यायाधीशहरू नागेन्द्रलाभ कर्ण, थीरबहादुर कार्की, सारंगा सुवेदी, उमेशकुमार सिंह र उमेशराज पौडेललाई तत्काल काठमाडौं झिकाइएको हो । ‘यी न्यायाधीशले गरेको आदेश र अन्य कार्यशैली हेर्दा दोषजति भरियाको थाप्लोमा बोकाउने अनि सुन तस्करीका योजनाकारलाई धमाधम धरौटी वा सामान्य तारेखमा छाड्ने रणनीति लिएको देखियो,’ प्रधानन्यायाधीशको सचिवालय स्रोतले कान्तिपुरसँग भन्यो, ‘सरसर्ती हेर्दा गडबड देखिएकाले अब पनि उनीहरूलाई त्यहाँ राख्न उपयुक्त नहुने देखेर न्यायपरिषद्मा झिकाइएको हो ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो ।
सुन काण्ड