हामीले ब्रिटिससँग गुमाएको जमिन भारतले यतिबेला किन आफूसँग राख्छ ? (भिडियोअन्तर्वार्ता)
फणिन्द्र नेपाल
संयोजक
ग्रेटर राष्ट्रवादी मोर्चा
ग्रेटर नेपाल भनेको के हो ?
– सुगौली सन्धिअगाडि नेपालको सीमाना पूर्वमा टिष्टाको ७० किलोमिटर परदेखि पश्चिममा सतलजसम्म फैलिएको थियो । त्यो नेपालको क्षेत्रफल २ लाख ४ हजार ९१७ वर्गकिलोमिटर थियो । जन १८१६ मा नेपाल र अंग्रेजबीच सुगौली सन्धि भयो, त्यसपछि नेपालको सीमा पूर्वमा मेची र पश्चिममा महाकालीमा खुम्चियो । करिब ६० हजार वर्गकिलोमिटर हाम्रो भूमि गुम्यो । दुई पटक हाम्रो भूमि फिर्ता भयो । १८१६ र १८५७ मा । त्यसपछि अहिलेको नेपाल बन्यो । हाम्रो ६० हजार वर्गकिलोमिटर जमिन फिर्ता हुन बाँकी छ । त्यो जमिन फिर्ता हुनुपर्छ भन्ने माग नै ग्रेटर नेपालको अभियान हो ।
इतिहासतिर फर्केर हेर्दा कुनै पनि देश बन्ने, टुक्रिने गरेका छन् । नेपाल कुन मितिबाट बन्यो, कुन मितिबाट बन्न रोकियो भन्ने फरक फरक दृष्टिकोण पाइन्छ भन्ने गरिन्छ । यसमा तपाईंको भनाइ के छ ?
– नेपाल विश्वका प्राचिन मुुलुक मध्येको एक हो । कसैले विश्वको ११ औं त कसैले विश्वको १६ औं पुरानो देश हो भन्ने गरेका छन् । नेपालको पृथ्वीनारायण शाहको एकीकरण अगाडि पनि नेपाल विशाल थियो । भारत पनि स्वतन्त्र हुँदा ६४१ वटा स साना देशहरु थिए । ती देशहरुको एकीकरणबाट भारत बनेको हो । भारतमा अंग्रेजको शासन हुँदा उसँग हाम्रो सीमाविवाद भएको हो । अहिलेको भारतसँग होइन । सीमा विवाद हुनुअघि नै कुनै विवाद भएमा दुवै पक्ष बसेर निरुपण गर्ने भनिएको थियो । तर शक्तिशाली अंग्रेजहरुले विवाद हुनेबित्तिकै १८१४ मा युद्ध घोषणा गरे । पश्चिमतर्फ हामीले हारेका हौं । पूर्वमा त हामीले जितेका थियौं । तर सुगौली सन्धिमा अंग्रेजहरुले पूर्वको भागसमेत उता पारे । महाकालीदेखि टिष्टासम्मको जमिन पनि लगे । जुन हामीले हारेकै थिएनौं ।
सन्धि भनेको त दुई देशका समकक्षीबीच पो हुन्छ । उताबाट सुगौली भन्ने ठाउँमा ड्राफ्ट पठाए । १५ दिनभित्र हस्ताक्षर गर भन्न थालियो । नेपाल दरबारले मानेन । सन्धि पठाएको ९३ औं दिनमा नेपालका गजराज मिश्रले हस्ताक्षर गरे । त्यत्रो जमिन छाड्ने कुरा चिठ्ठी पठाएर छाड्ने हुन्छ ? हामीले इतिहास समाएका होइनौं । इतिहासमा त हामी काँगडासम्म पुगेका थियौं । कामरुप कामक्ष असामसम्म पुगेका थियौं । हामीले त्यो त मागेका होइनौं । अहिले दिल्लीमा, मुम्बइ, नर्थ इस्टमा पनि नेपाली धेरै छन् । नेपाली भएको ठाउँ नेपाल हो भनेको होइन । हामीले त अंग्रेजले लिएको जमिन उनीहरुले छाडेर गए, त्यो हामीलाई फिर्ता हुनुपर्छ भनेको हो । भारतले अंग्रेजबाट स्वतन्त्रता पाउने अनि नेपालको भूमि चाहिँ सधै कब्जा नै हुनु पर्ने भन्ने त होइन होला । भारत छाडेर जाँदा अंग्रेजले बनाएको एक्टमै लेखिएको थियो–हामी पहिले यहाँ आउँदा जुन भौगोलिक अवस्थामा थियो यस क्षेत्र, त्यही अवस्थामा छाडेर जाँदैछौं । हामीले जुन अधिकार यहाँ प्रयोग गरेका थियौं, अबका शासकले त्यो अधिकार प्रयोग गर्न पाउने छैनन् ।
अर्थात अंग्रेजहरुले नेपालको भूमिमा कायम राखेको अधिकार नयाँ शासकलाई हुने थिएन । नेपालीहरुले समेत अंग्रेज लखट्ने अभियानमा साथ दिए । त्यसो गर्नुको अर्थ हाम्रो पनि जमिन फिर्ता हुन्छ भनेर हो नी त । ब्रिटिसलाई दिएको जमिन भारतले राख्न पाउँदैन । हामीले पाउनु पर्छ भनेको हो । हामीले भारतको जमिन मागेको होइन । हामीले निहँु खोज्ने कुरा गरेको होइन । हामीसँग तर्क र प्रमाण छ । हामीले इतिहासमा जे भयो भयो, त्यसैलाई मानेर बसौं भन्नेहरु पनि छन् । हामीले आफ्नो जमिन मागेको हो ।
तपाईंहरुको माग यथार्थवादी छैन भन्छन्, कुरा के हो ?
भारत परस्तहरुले यस्तो भन्छन् । अहिले गोवा भारतको छ । तर त्यो भारतको त होइन । पोर्चुगलको उपनिवेश हो । पोर्चुगलको उपनिवेश भन्दैमा त्यो भूमि भारत वा पोर्चुगल होइन । त्यो गोवाकै हो । भारतले गोवा आफ्नो हो भनेर १३ घण्टासम्म सैन्य कारबाही गरेर आफ्नो बनायो ।
बेलायतले फोकल्याण्डमा आक्रमण गर्यो । बेलायतले आफ्नै बनायो । चीनले साउथ चाइना सी मा विवाद भएको छ । चीनले सामरिक शक्ति प्रयोग गर्छु भनिरहेको छ । जापानको पनि रुससँग टापु विवाद छ । ती विवादहरु यथार्थपरक र वस्तुपरक छन् । तर हाम्रो जमिन कुनै युद्धबाट खोसिएको होइन । सन्धि गरेको हो । त्यो सन्धि नै खारेज भइसकेको छ । आफ्नो जमिन माग्दा यथार्थपरक नहुने भन्ने हुँदैन । दाजुभाईबीच सीमामा विवाद हुँदा यथार्थपरक हुने, अनि देशको ६० हजार वर्गकिलोमिटर जमिनको कुरा उठाउँदा चाहिँ काल्पिनिक हुने हुँदैन ।
१९६० मा राष्ट्र संघले उपनिवेशविरुद्ध घोषणापत्र जारी गरेको छ । त्यसमा भारत नेपालले मानेको छ । संयुक्त राष्ट्र संघमा पनि हामी कुरा उठाउछौं । नेपालमा केही नेपाली यस्ता पनि छन् जसलाई नेपालको भन्दा बढी चिन्ता भारतको लाग्छ । भारतीय भन्दा पनि बढी भारतीय भएका नेपालीहरु नै छन् ।
नेपालले आफ्नो भूमि दावी गर्ने बेला गएन ?
तपाईलाई म १५ वर्षपछाडि मात्रै लिएर जान चाहन्छु । इष्ट टिमोर नयाँ मुलुक बन्यो । त्यो दुई टुक्रा भएको थियो । अष्ट्रेलिया र इण्डोनेसियाको उपनिवेशमा रहेको थियो । स्वतन्त्रताको संग्राममै २ लाख मानिस मारिए । भारत छाड्ने बेला बेलायती शासकहरुले नेपाली शासकहरुलाई दुई तीन पटक नै तिमीहरुको भूमि लैजाउ भनेकै हुन् । भनेकै कुरा सुन्ने व्यक्ति डायमन शमशेर थिए । त्यही बेला दार्जलिङबाट डम्बर सिंहरु नेपाल आए तीन सदस्यीय मण्डलसहित । उहाँहरु दार्जलिङ नेपालमा मिसाउनु पर्छ भनेर आए । तर नेपाली शासकले हिम्मत गरेनन् । १९५० को सन्धि मै सुगौली सन्धि खारेज भयो भनिसकेको छ । अब नेपाल माग्दैन । भारतले त भएकै त खान खोज्छ कहाँ दिन्छ ? जमिनको हकमा चाहिँ १ हजार वर्षपछि पनि प्रमाण बुझाइयो भने फिर्ता लिन सकिन्छ ।
तपाईहरुको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको सांगठनिक संरचना कस्तो छ ?
हाम्रो १५ सदस्यीय मोर्चा छ । देशभर पनि संगठनहरु छ । ग्रेटर नेपालसँग आवद्ध यो देशको आधा जनसंख्या भन्दा बढी छन् ।
तपाईंहरु १५ सदस्यमा हुनुहुन्छ । मुद्दा ठूलो छ । फेसबुकमा रहेका युजरहरु सबै यो एजेण्डामा सहमत भएकै होलान भन्ने पनि छैन । के भन्नु हुन्छ ?
सानो समूहले ठूलो कुरा उठाउन नपाउने भन्ने छैन । कमिलाले आफूभन्दा धेरैगुणा वजन उठाइरहेको हुन्छ । अहिले पछिल्लो समयमा मेरो फेसबुकमा लाइक ५० जनाले मात्रै लाइक गर्छन मेरो कुरामा । जबकी मेरो फेसबुकमा साथी ५ हजार जति छन् । ग्रेटर नेपालप्रति युवाको चासो बढेपछि फेसबुकमा पनि सेन्सर गर्न थालियो ।
फेसबुक पेज नै बन्द गर्ने प्रयास भारतले गरेको भन्ने सूचना छ । फेसबुकको क्षेत्रीय कार्यालय भारतमा छ । मेरो सन्देश धेरै मानिसहरुमा जान रोकिएको छ । भारतले नै गरेको छ यो सबै । चुनावअघि ग्रेटर नेपालको कुरामा साथ दिए दलहरुले पनि । चुनाव पछि सकियो । केपी ओलीको राष्ट्रवाद नाकाबन्दीपछि सकिएर गयो । राजनीतिमा तुच्छ भन्दा तुच्छ व्यवहार देखेँ मैले । कुहिनाले पहरामा ठोक्काएर हुन्छ ? भन्नेहरुलाई भन्न दिनुहोस् । हाम्रो भूमि त निश्चित रुपमा प्राप्त हुन्छ । तर केही समय लाग्छ ।
ग्रेटर नेपालले यो कुरा उठायो भने ठूलो शक्तिले उठाउदैन भनेर तपाईंहरुलाई भारतले नै प्रायोजन गरेको छ भन्नेहरु पनि छन् नी ?
– ल एकछिनलाई यो कुरा मानौं । यो कुरा भारतले भनेर मैले उठाएँ रे । अब मैले उठाएपछि अरुले उठाउन नमिल्ने हो यो कुरा ? हिजोका दिनमा नेकपा माओवादीले उठाएको थियो त । यो त प्रपोगाण्डा गर्ने शैली र चरित्र मात्रै हो । हाम्रो मोर्चाले नरेन्द्र मोदीलाई तीन चार पटक कालोझण्डा देखाएर हिरासतमा पुगेको छु । के भारतले मलाई प्रायोजन गरेर आफ्ना प्रधानमन्त्रीलाई कालोझण्डा देखाउन भनेको होला त ? मैले कालोझण्डा देखाउदा भारतलाई के फाइदा ? भारतीय दूतावासअगाडि कालोझण्डा देखाउदा उसलाई फाइदा होला ?
तर ठोस उपलब्धि त भएन नी ? दल खोल्ने कुरा पनि भएन ।
हो, त्यो कुरा मैले भनेको हो । पार्टी खोल्ने योजना छ । आगामी चुनावमा हामी उम्मेदवारी दिन्छौं । म त ठूलो उपलब्धी भएको देख्छु । ठूला ठूला मानिसहरुले समेत सुगौली सन्धिकै बारेमा थाहा पाएका रहेनछन् । अन्तर्राष्ट्रिय मञ्चमा जाने हो भने हाम्रो मुद्दा स्थापित हुन सक्छ । हामी अहिले जुलुश निकाल्न जाँदा ५०–६० जना मात्रै हुन्छौं । हामीले भन्दैमा भूमि फिर्ता हुँदैन । हाम्रो सरकारले यो कुरा उठाउनु पर्छ ।
परराष्ट्रमन्त्रीले तपाईंहरुलाई तीन मिनेट पनि समय दिँदैनन् । किन होला ?
नेपालको राजनीति भारतको प्रभावमा, दबाबमा, प्रलोभनमा छ । नेपालका दलहरु पनि नेपालको राजनीतिमा भारतको प्रभाव नहोस् भन्ने चाहन्छन् । तर दिल्लीको आशिर्वाद लिन जाने पनि धेरै छन् । नेपालको सेनापति भारतको पनि मानार्थ सेनापति हुन्छ । कालापानीमा भारतीय सेनाले कब्जा गरेर बसेको छ । त्यही देशमा गएर मानार्थ लिनु राम्रो हो त ? राजनीतिक दलहरु मौन छन् । उनीहरुको चरित्रको कुरा हो यो । अब संगठन विस्तार गरेर हामी राजनीतिक दल बन्नु पर्छ । संघर्षका निमित्त भएन । हतियारधारी समूहसँग वार्ता गर्छ सरकारले, हामीसँग पनि गर्नु पर्ने हो । टायर नबाल्ने, रेलिङ नभाँचोसम्म यो देशमा कसैले कुरा सुन्दैन ।
तपाईहरुलाई मुभमेन्टका लागि कसले पैसा दिन्छ ?
– हामी हस्ताक्षर संकलन गरिरहेका छौं । हाम्रो समूहका १५ जनाले एक एक हजार दिँदा पनि १५ हजार संकलन हुन्छ । त्यसले हस्ताक्षरका लागि चाहिने कागज कलम पुग्छ । ठूलो भेला गरेका छैनौं । थोरै मान्छे छौं, कार्यक्रम पनि सस्ता हुन्छन् । जसका कारण खर्च पुग्छ ।
तपाईंहरुलाई चीनले सहयोग गरेको छ हो ?
चीनले हामीलाई सहयोग गरेको छैन । तर उनीहरुको भनाइ चाहिँ हामीले हङकङ पाउँदा नेपालले पनि दार्जिलिङ पाउनु पर्छ भन्ने हो । मोरल्ली यो गलत होइन । मैले पाएको होइन । चीनबाट फन्डिङ पाएको भए यसरी पैदल किन हिँड्नु पथ्र्यो र ? हेर्दै थाहा हुँदैन मान्छेको हैसियत बढेको ? म चीन जाँदा भाइसँग लिएको ऋण तिर्न सकेको छैन । उसँग मेरो बोलचाल नै बन्द छ ।