सन्दीप भन्छन्, ‘अरु लिगभन्दा बीबीएलमा बलिङ गर्न गाह्रो छ’
काठमाडौं । तिवेला नेपालका स्टार लेग स्पिनर सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिगमा व्यस्त छन् । सन्दीप आबद्ध सिल्हेट सिक्सर्सले ६ खेलमा २ जित मात्र निकालेको छ । शुक्रबार ढाका डाइनामाइट्ससँग ६ विकेटले पराजित भएपछि सिल्हेटको प्ले अफ सम्भावना कमजोर बनेको छ । सन्दीपले ६ खेलमा ४ विकेट हात पार्दै बिपिएलमा आफ्नो प्रभावशाली प्रदर्शन कायम राखेका छन् । सन्दीपले उत्कृष्ट डेब्यु गरे पनि बीचमा दुई खेलमा विकेट लिन सकेनन् । जसका कारण एक खेल नखेलेका उनले पछिल्ला दुई खेलमा पुनः आफ्नो ‘ट्रयाक’ पकड्न सफल भए । उनको सफलतापछि अन्तर्राष्ट्रिय क्रिकेट वेभ पोर्टल ‘क्रिजबज’ ले सन्दीपसँग कुराकानी गरेको थियो । उनीसँगको कुराकानीको सारसंक्षेप यस्तो छः
अस्ट्रेलियामा खेल्न गाह्रो
अस्ट्रेलियामा जानुअघि एसियन र इंग्लिस कन्डिसनमा क्रिकेट खेल्ने अवसर पाएँ । तर, अस्ट्रेलियाको अनुभव बिलकुलै फरक छ । विश्वको चर्चित लिग बिगबासमा खेल्ने मेरो चाहना थियो । यतिवेला मेरो सपना भनौँ वा चाहना त्यो पूरा भयो । एक क्रिकेटरको नाताले धेरै लिग पनि खेलें । अस्ट्रेलियामा चलिरहेको लिग र अन्य मुलुकमा चलिरहेका लिगमा बलिङ गर्नु धेरै फरक छ । अस्ट्रेलियन पिचमा ब्याट्सम्यानले तपाइँको प्रत्येक बलमा छक्का प्रहार गर्न अग्रसर भइरहेका हुन्छन् । त्यहाँको पिचमा बल मुस्किलले टर्न हुन्छ । तर, एसियन कन्डिसनमा बलिङ गर्नु धेरै सजिलो छ । यहाँका पिचमा सहजै बल टर्निङ हुन्छ ।
बिपिएलसँग पहिले नै सम्झौता
बिगबासमा मेलवर्न स्टार्सबाट प्रतिस्पर्धा गर्नुअघि नै मैले बंगलादेशको बंगलादेश प्रिमियर लिगमा सम्झौता गरिसकेको थिएँ । यो १०–११ महिनाअघिको कुरा थियो । यस सम्बन्धमा मैले बिगबासलाई अगाडि नै जानकारी गराएको थिएँ । यसैकारण म बिगबास छाडी अहिले बिपिएलमा खेलिरहेको हुँ । मैले बिपिएलमा कति दिन खेल्ने भन्ने स्पष्ट पारेको छु । ढाकामा खेल्न पाउनुको पछाडि सिल्हेट सिक्सर्सका कार्यकारी प्रमुख यासिर आबैदले धेरै सहयोग गर्नुभएको छ । उनकै कारण आज म बिपिएलको एक हिस्सा बन्न पाएँ । यतिवेला मेरो दिमागमा केबल बिपिएल मात्र छ । बिगबास अहिले मेरो मनमा छैन ।
क्लार्कको पत्र देख्दा ‘सक’
अस्ट्रेलियन विश्व च्याम्पियन कप्तान माइकल क्लार्कसँग मेरो पहिलो भेट हङकङ टी–२० ब्लिजमा भएको थियो । हङकङमै रहेका क्लार्कले नेपालबाट आएका एक फुच्चे केटोको निकै राम्रो छ भन्ने सुनेका रहेछन् । उससँग केही पनि छैन तर निकै रामो खेल्छ भन्ने उनलाई बताइएको थियो । सम्भवतः क्लार्क टी–२० ब्लिजमा मेरो प्रदर्शनबाट प्रभावित भएको हुनुपर्छ । त्यसैकारण उनले मलाई अस्ट्रेलिया खेल्न र प्रशिक्षण गर्न बोलाउनुभयो । एक सामान्य नेपाली केटो जोसँग न त स्पोनसरसिप नै थियो न कि पैसा नै । तर, क्लार्कले अस्ट्रेलिया भ्रमणको सबै जिम्मेवारी लिनुभयो । अस्ट्रेलियामा खेल्नु मेरो सपना पनि थियो । त्यसभन्दा पनि क्लार्कले मलाई अस्ट्रेलियामा आउन पठाएको पत्र देख्दा म स्तब्ध ‘सक’ भएँ । यो सत्य कुरा हो । ‘मलाई माइकल क्लार्कले खेल्न बोलाएको रहेछ ?’ पत्र हेर्दै यो शब्द निस्किएको थियो । याे समाचार नयाँ पत्रिका दैनिकबाट लिइएकाे हाे ।