कर्नेलका छोरा बने कमेडियन, चोक र मार्ग नै उनको नाम (भिडियोसहित)
काठमाडौं । किरण केसी नेपाली हास्य क्षेत्रमा रातामकैका नामले परिचित छन् । हुन त उनको परिचय हास्य कलाकारको रूपमा मात्र छैन् । उनी गायनमा पनि छन्, अभिनयामा पनि छन र चलचित्र निमार्णमा तथा कलाकारितामा उनी दशकौंदेखि छन् ।
उमेरको हिसाबले ६ दशक टेकिसकेका उनलाई हेर्दा लाग्दैन कि, उनी ६० वर्षका किरण केसी हुन् । एउटा जवान युवकमा भन्दा कम छैन उनको ऊर्जा । साधारण खाना नै मन पराउने उनी आफ्नो ऊर्जा सकारात्मक सोचको परिमाण भएको बताउँछन् । कर्नेलका छोरा उनी कलाकारितामा आउँदा कलाकारितालाई निकै नै तल्लो स्तरमा हेरिन्थ्यो ।
सानैदेखि नाच्न, गाउन र हसाउन सिपालु उनी कलाकारितामा लाग्दा विशेषतः बाबुबाट हेलाको शिकार नै बनेका थिए उनी । तर आमाको साथ उनमा सधैं थियो । बाबुले आफ्नो यो उपलब्धि देख्न नपाएकोमा उनी निकै दुःखी छन् । आफूले चाहेको क्षेत्रमा काम गर्न पाए मानिस सफल हुने उनको विश्वास छ ।
थुप्रै फिल्म र टेलिफिल्ममा अभिनय गरिसकेका भए पनि हाँस्य टेलिश्रृंखला जिरे खुर्सानीको रातामकै पात्रले उनलाइ लोकप्रिय बनायो । जिरे खुर्सानीमा १७ भागदेखि खेल्न थालेका उनी भन्छन्, ‘म जानुभन्दा अगाडि जिरे खुसार्नी खासै रुचाइएको थिएन । मेरो पात्रलाई दर्शकले यति रुचाउनु भयो कि, त्यो तातो तेलमा तरकारी हाले जस्तो भो ‘झ्वाइय’ ।
जिरे खुसार्नीको रातामकै पात्रले यति ठूलो सफलता पाए कि सरकारले उनको नामबाट रातामकै मार्ग निमार्ण गरिदियो । उनको घर भएको ठाउँलाई रातामकै चोक नै भनिन्छ । उनका नामबाट विभिन्न बस , दोकानहरूको नामकरण भए । पाठ्यक्रममा पनि उनकोबारेमा पढाइ हुन्छ भने उनलाई विषय बनाएर एक जनाले पियचडी नै गरे । यो सफलतालाई उनी आफ्नो जीवनको अमूल्य सम्पत्तिका रुपमा लिन्छन् ।
पछिल्लो समयमा भने उनी चलचित्र नियार्णमा व्यस्त छन् । पहिलाको तुलनामा अहिले चलचित्र निमार्ण अलि चुनौतिपूर्ण भएको मान्छन् तर त्यसलाई उनले स्वभाविक रुपमा लिन्छन् । हरेक क्षेत्रमा परिवर्तन हुदाँ चलचित्र निमार्ण प्रक्रियामा पनि परिवर्तन आउनु नौलो कुरा नभएको उनको बुझाइ छ ।
पछिल्लो समय उनले निमार्ण गरेको चलचित्र ‘दालभात तरकारी’ को अहिले छायांकनको सम्पूर्ण काम सकिएको छ । चलचित्र निमार्णमा उनी नयाँ व्यक्ति होइनन् । यसअघि पनि उनले ‘तँ त सारै नि बिग्रिस् नि बद्री’, ‘जे भो राम्रै भो’ र ‘शत्रुगते’ जस्ता चलचित्र निमार्णमा आफूलाई सफल निर्माताका रुपमा अब्बल साबित गरिसकेका छन् ।
आफूहरू सधैँ फरक विषयमा फिल्म बनाउने भएकाले सधैँ दर्शकको माया पाउनेमा उनी ढुक्क देखिए । उनी आफैंले निर्माण गरेको यो चलचित्र विगतमा आफूले खेलेका ११७ भन्दा बढी चलचित्र र आफ्नो ४० वर्षे अनुभवलाई विचारमा राखेर बनाइएको उनले बताए ।
दाल, भात, तरकारी विशुद्ध पारिवारिक कथामा बनेको चलचित्र भएकाले सबै उमेरका दर्शकको लागि चलचित्र मनोरञ्जनात्मक भएको उनले बताए । चलचित्रमा नायिका स्वस्तीमा खड्का नायिकाको रूपमा खेल्ने भनिए पनि उनले खेलिनन् । यस विषयलाई स्पष्ट पार्दै उनले भने, ‘पहिला स्वस्तिमा खड्का नै खेल्ने सहमति भएको थियो । तर पछि सहमतिमा नै उनी नखेल्ने भएकी हुन् । उनले अन्तर्वार्तामा दालभात तरकारी आफूले छोडेको भन्दै हिँड्छिन् भने हामी पनि उनलाई निकालिदिएको भन्न पछि हट्दैनौं ।’
स्वस्तीमा फिल्ममा नहुँदा १८,१९ त परै जाओस फिल्ममा आधा इन्च पनि फरक नपरेको उनले दाबी गरे । चलचित्र राम्रो बनाउन कुनै कसर नछोडेको अवगत गराउदै चलचित्रका ३ वटा गीत खिच्नका लागि मात्रै ५५ लाख लागत लागेको समेत जानकारी गाराएका छन् ।
‘दाल, भात, तरकारी’ रातामकै किरण केसी