समाज

सरकारी खर्चमा मस्ति : जोडी बाँधेर भ्रमणमा, जन्मदिन र विवाह वर्षगाँठ मनाउन व्यस्त

सरकारी खर्चमा मस्ति : जोडी बाँधेर भ्रमणमा, जन्मदिन र विवाह वर्षगाँठ मनाउन व्यस्त

धरान : धरान उपमहानगरपालिकाले सिक्किमको गान्तोक नगरपालिकासँग भगिनी सम्बन्ध गाँस्ने प्रस्ताव गर्‍यो। छलफल गर्न गान्तोकले धरानका पदाधिकारीलाई निम्त्यायो। बैठकले सात जना गान्तोक जाने सिफारिस गर्‍यो। तर, कार्यवाहक मेयर मञ्जु भण्डारी ३० जनाको टोली लिएर गइन्। तर, उनीहरू पदाधिकारीको जन्मदिन र व्यवसायीको वैवाहिक वर्षगाँठ मनाउन व्यस्त छन्।

 

धरान उपमहानगरपालिकामा केही समययता बजेट दुरुपयोग बढेको समाचार आइरहेका छन्। त्यसैलाई पुष्टि गर्नेगरी वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाको जन्मदिन गान्तोकमा मनाइएको छ। उनले जन्मदिन मनाएको तस्बिर फेसबुकमा राखेका थिए। कार्यवाहक मेयर भण्डारीको नेतृत्वमा बुधबार धरानबाट हिँडेको टोलीमा प्रशासकीय अधिकृत खतिवडा, अन्य जनप्रनिनिधि, यातायात व्यवसायी, कलाकार र पत्रकार समेत छन्। गान्तोकसँग भगिनी सम्बन्ध कायम गर्न गएको टोली जन्मदिन मनाउन व्यस्त भएको खबरपछि तीव्र आलोचना भइरहेको छ।

 

भ्रमण टोलीमा रहेका व्यवसायी हीरा उदासको वैवाहिक वर्षगाँठसमेत गान्तोकमै मनाइएको टोलीका एक सदस्यले अन्नपूर्णलाई बताए। भ्रमण टोलीमै रहेका धरान–१७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराई ९मनोज०ले भने जन्मोत्सवमा आफू सहभागी नभएको बताए। उपमहानगरको बजेटमा जन्मोत्सव मनाइएको भए त्यो गलत रहेको पनि उनले बताए। भट्टराईले आफू उपमहानगरको नभई व्यक्तिगत खर्चमा गएको दाबी पनि गरे। भट्टराई र वडा नम्बर २ का कार्यवाहक अध्यक्ष धर्म तामाङ भने धरान फर्किसकेका छन्। कार्यवाहक मेयर भण्डारीसहित टोलीका अन्य सदस्य भने उतै छन्।

 

जोडी बाँधेर भ्रमण

सिक्किम भम्रणमा गएका टोलीमा अधिकांश दम्पती छन्। कार्यवाहक मेयर भण्डारीसँग उनका पति मुरारी सुवेदी पनि छन्। सुवेदी नेकपाका जिल्ला सदस्य हुन्। प्रशासकीय अधिकृत खतिवडा, यातायात व्यवसायी सरोज श्रेष्ठ, हीरा उदास पनि पत्नीसहित छन्। उपमहानगरसँग कुनै साइनो नराखेका पनि भ्रमण टोलीमा छन्। उनीहरू पनि दम्पतीसहित गएका छन्।

 

भ्रमणका कारण उपमहानगरको खर्च दुरुपयोग भएको कांग्रेस धरानका सभापति तिलक राईले बताए। धरान–१८ का वडाध्यक्ष प्रवीण राईले बैठकबाट भ्रमण टोलीमा सात जनाको नाम मात्र सिफारिस भएको जानकारी दिए। सिक्किम भ्रमणका लागि प्रशासकीय अधिकृत खतिवडाले तीन लाख ४० हजार रुपैयाँ लेखाशाखाबाट बुझेको उपमहानगरका लेखा अधिकृत भेषराज अधिकारीले बताए।

 

उपमहानगरका अन्य जनप्रतिनिधिले विकासको रकम दुरुपयोग भएको भन्दै यसको विरोध गरिरहेका छन्। कार्यवाहक मेयर भण्डारीले हिसाबकिताब पारदर्शी बनाउनुपर्ने उनीहरूको माग छ। जनप्रतिनिधिले घुमफिरका नाममा बजेट सकेको भन्दै तुरुन्त यस्ता कार्य बन्द गर्न उनीहरूले माग गरेका छन्। धरान उपमहानगरका मेयर तारा सुब्बाको निधनपछि कार्यवाहक सम्हालेकी भण्डारी विदेश भ्रमणमा व्यस्त हुन थालेकी छन्। उनले भारत, हङकङ र श्रीलंकाको भ्रमण गरिसकेकी छन्। यो खबर आजको अन्नपूर्ण दैनिकबाट लिइएको हो ।

विदेश भ्रमण

विशेष