फुड स्वास्थ्य

पत्रपत्रिकामा पोको पारेर राखेको खाना खाँदा क्यान्सरको खतरा

पत्रपत्रिकामा पोको पारेर राखेको खाना खाँदा क्यान्सरको खतरा

काठमाडौं । कुनै पनि खानेकुरा पत्रपत्रिकामा राखेर दिनु र पत्रपत्रिकामा पोको पारेर राख्नु हाम्रो समाजमा सामान्य मानिन्छ । तपाईं चटपटे खान जानुहोस् । बिक्रेताले पत्रपत्रिकामै पोको पारेर चटपटे दिन्छ । तात्तातो दुनोट माग्नुहोस्, बिक्रेताले तापाईंलाई पत्रिकाले बेरेजसरी दिन्छ । मासु किन्न जानुहोस्, मासु पसलेले समेत पत्रिकामै पोको पारेर तपाईंलाई मासु दिन्छ ।

 

तर, तपाईं हामीमध्ये कमैलाई थाहा होला – पत्रपत्रिकामा पोको पारेर दिएको खानेकुरा खानु स्वास्थ्यका हिसाबले ठीक हुँदैन । झन् त्यस्ता खानेकुरा खाँदा प्राणघातक रोग क्यान्सर लाग्छ भन्ने कुरा त हामीमध्ये धेरैलाई थाहा नै छैन । हो, यदि प्रयोगमा आइसकेका पत्रपत्रिकामा पोको पारेर राखिएका खानेकुरा खाने बानी छ भने आजै त्यागौं । चिकित्सकहरुले पनि यो विषयलाई जनचेतना विस्तारकै रूपमा अघि बढाउनुपर्ने धारणा राख्न थालेका छन् ।

 

रोगमध्येकै जटिल मानिन्छ क्यान्सर । कतिपय क्यान्सर यति खतरनाक हुन्छ, चिकित्सा विज्ञानले पनि उपचार गर्न सक्दैन । मानिसको मृत्युसमेत हुन सक्छ । के कारण यो रोग लाग्छ धेरैलाई जानकारी छैन । चिकित्सकको भनाइअनुसार प्रयोग भइसकेको पत्रिकामा पोको पारेको खानेकुरा खाँदा पनि क्यान्सरको जोखिम हुन्छ ।

 

वरिष्ठ फिजिसियन तथा क्षयरोग विशेषज्ञ डा. दीर्घसिंह बमका अनुसार प्रयोग गरिएका पुराना पत्रपत्रिका, कागजपत्रमा पोको पारेका खानेकुराले मुटु रोग र क्यान्सर लाग्न सक्छ । यसको प्रयोगले फोक्सो र खाने नलीमा समेत समस्या हुन सक्छ । श्वासप्रश्वाससम्बन्धी रोगसमेत लाग्न सक्छ । यो खबर आजको राजधानी दैनिकबाट लिइएको हो ।

पत्रपत्रिका

विशेष