चिनियाँभन्दा भारतीय रेल पहिला आउने (भिडियाेसहित)
जनकपुरमा रेलः बिजनेस प्लान भने छैन
बलराम मिश्र, रेल विभागका महानिर्देशक हुन् । वर्षौैंदेखि अलपत्र परेको हुलाकी राजमार्गको कामलाई गति दिने मिश्र अहिले रेल विभागमा छन् । नेपालमा रेलका कुरा धेरै भइसके । रेलबारे गीत संगीत पनि तयार भएका छन् । तर वास्तवमा रेल चल्ने चाहिँ कहिले हो त ? पूर्वपश्चिम रेल, मोनोरेल, चीनको रेल, भारतको रेल जस्ता धेरै खाले रेलका कुरा नेपाली समाजमा छन् । वास्तवममा रेलको कुरा बढी भयो, काम चाहिँ कति भइरहेको छ त ? महानिर्देशक मिश्रले नेपालआजसँग गरेको कुराकानीको सार निम्नानुसार छः
रेल नयाँ विभाग पनि हो । अहिले तीन चार तरिकाले काम गरिरहेको छ । केहीमा सर्भेको काम, केहीमा सम्भाव्यता अध्ययन र केहीमा निर्माणकै काम जारी छ । चीनसँगको, भारतसँगको र आफ्नै रेल चलाउने विषयमा हामी काम गरिरहेको छौं । सबैभन्दा शुरुमा नेपाल सरकारले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल चलाउदै छ ।
सन् २०१० मा नेपालको जनकपुर र जयनगर जोड्ने रेल विस्तारका लागि भारतसँग सम्झौता भएको थियो । भारततर्फको रेल सञ्जालसँग जोड्ने भएका कारण उताको जस्तो खाले रेल छ, नेपालले पनि त्यस्तै मिल्दो रेल चलाउनु पर्ने भयो । जसका कारण अहिले डिजेल इञ्जिनबाट चल्ने रेल सरकारले खरिद गर्न लागेको हो । त्यही बेला ब्रोडगेज सञ्चालन गर्ने सहमति भएको थियो । तर रोचक विषय के छ भने जनकपुर–जयनगर चल्ने डेमो रेल हो । यो लिकमा विद्युतीय रेल पनि चल्न सक्छन् । कोइलावाला पनि चल्न सक्छन् । डेमो भनेको डिजेलबाट बिद्युत जनेरेटर गर्ने इञ्जिन हो । पर्याप्त विद्युत भएको दिन इञ्जिन फेरेर विद्युतीय बनाउन सकिन्छ ।
...
भारतले जयनगरदेखि बर्दिबासम्म रेल सिस्टम बनाउने जिम्मा पाएको छ । यो नेपालका लागि अनुदान नै हो । भारतले यो दूरीका लागि करिब १० अर्ब रुपैयाँ खर्च गर्दैछ । लागत केही बढ्ने अनुमान पनि गरिएको छ । नेपालले दुई रेल किन्दा करिब १ अर्ब रुपैयाँ खर्च गर्नुपर्छ । एक पटकमा करिब १ हजार ५ सय यात्रुले यात्रा गर्न पाउनेछन् । अहिलेको लागत कति वर्षमा उठ्ला भन्ने कुनै अध्ययन छैन । किनभने सरकारले यो काम सामाजिक–आर्थिक दृष्टिले मुनाफा निश्चित गर्छ । अर्थात यसमा लाभको हिसाब त हुन्छ तर पैसामा होइन । यद्यपि रेल विभागले जनकपुरको रेलको बिजनेस प्लान बनाइरहेको छ । कतिवर्षमा ब्रेक इभन पोइन्टमा आउँछ अहिले नै कुनै हिसाब निकालिएको छैन ।
भारतमा पनि सामाजिक सेवाकै हिसाबले रेल चलेका छन् । रेलको टिकट धेरै सस्तो हुन्छ । वस्तु ढुवानी पनि हुने भएकोले रेल धानिने भनेको वस्तु ढुवानी गर्दाको शुल्कले हो ।
...
नेपाली भूमिमा एकाध वर्षमै कम्तिमा दुई वटा रेल चल्नेछन् । एउटा त जनकपुर–जयनगर रेल सञ्चालन हुने बिन्दुमै छ । अर्को भनेको बिराटगर –बथनाह । जोगवनीसम्म भारतले ल्याइपुर्याएको रेलको स्तरोन्नती भारत आफैले केही वर्ष अगाडि गरेको थियो । जोगवनीसम्म चल्ने रेल न्यारो बडीवाला पुरानो प्रविधिको थियो । तर अहिले विराटनगरसम्म आउन लागेको रेल ब्रोडगेज नै हो । पश्चिम बंगालहुँदै काकडभिट्टातर्फ पनि रेल आउने तयारी छ । योजनामा पूर्वपश्चिम रेलमार्ग पनि छ ।
बर्दिबासदेखि काकडभिट्टामा यात्रुको चाप राम्रो हुने सम्भावना देखेर नै रेल विभागले चाँडै नै भौतिक पूर्वाधार निर्माण शुरु गर्ने योजना बनाएको छ । विभिन्न मोडलबारे छलफल भइरहेको छ । कसरी कुन मोडलमा बनाउने र सञ्चालन गर्ने भन्ने विषयको निक्र्योल निस्केको छैन । बर्दिबासदेखि काकडभिट्टासम्मको २६० किलोमिटरमा यो वा अर्को वर्षदेखि निर्माण शुरु नै हुन सक्छ । तर त्यसका केही चुनौती पनि छन् ।
....
पूर्वपश्चिम रेलमार्गको तयारी धेरै पूरा भइसकेको र निर्माणको काम नै शुरु भइसकेको भनिएको थियो । तर पनि अझै रेलको खाका जनताले देख्न पाएका छैनन् । रेल विभाग जग्गा अधिग्रहण, वनसँगको झमेला, लालपुर्जा नै नभएका जमिनमा पनि उत्पन्न हुने किचलो आदि कारणले चुनौती थपिएका छन् । वातावरणीय पक्ष उत्तिकै किचलो छ ।
आगामी दुई वर्षभित्रमा जनकपुरसम्म आउने रेल बर्दिबाससम्म आइपुग्छ । बर्दिबाससम्म रेल आइसक्ने बेलामा रेलविभागले लिक निजगढसम्मका लागि तयार पारिसक्ने छ । यद्यपि यो कोसिस मात्रै हो ।
सरकारले बर्दिबासदेखि काकडभिट्टासम्मका लागि चलाउन खोजेको रेल विद्युतीय हो । यसको गति २ सय किलोमिटर प्रतिघण्टा हुनेछ । यो रुटको सर्भे सकिएको छ । अब फिल्डमै उत्रिएर भौतिक पूर्वाधारको काम गर्नुपर्ने हुन्छ । यसका लागि फेरि उहि पुरानै टेन्डर, कम्पनी छनौट, वन मामिला, जग्गा अधिग्रहण आदिको काम पूरा गर्नुपर्ने हुन्छ । धेरैवटा नदिनाला भएका कारण पुल बनाउने, निकुञ्जक्षेत्रमा टनेल बनाउने, सहरी क्षेत्रमा ओभरेहडमा जानु पर्दा लागत बढ्ने निश्चित जस्तै छ । प्रतिकिलोमिटर ७० करोड रुपैयाँ लाग्ने अनुमान छ । पूर्व–पश्चिम रेल चलाउन ८ देखि १० खर्ब लाग्ने अनुमान छ ।
...
भारतले उत्तराखण्ड, हिमाञ्चल, जम्मु कश्मिरमा रेल चलाइरहेको छ । दार्जिलिङको छुकछुके रेलमा गीत नै बनेका छन् । पहाडमा रेल चढाउँदा बढी घुमाउरो लिक आवश्यक हुन्छ । रेल ठाडो चढ्न सक्दैन । धेरै ठाउँमा त सुरुङ निर्माण गर्नुपर्छ । जसका कारण लागत बढी हुन्छ । असम्भव हुँदैन । चीनको त के कुरा, भारतकै जति गर्न सके पनि नेपालका लागि धेरै ठूलो राहत हो । किनभने भारतले आफ्नो देशका डाँडाकाँडामा रेल चलाएको धेरै भइसक्यो । हामीले तराईमा पनि चलाउन सकेका छैनौं । पहाडमा रेल चलाउने विषयमा कुनै कति खर्च लाग्ने, कसले कति ब्यहोर्ने भन्ने कुरामा छलफल नै भएको छैन । अहिले भनेको अध्ययन गर्ने एमओयु मात्रै भएको हो ।
बलराम मिश्र