चिकित्सा शिक्षा विधेयक आजै पारित गर्ने सरकारको तयारी
काठमाडौं । बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाको आज (सोमबार) को बैठकमा पेस हुँदैछ ।
शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ माथि छलफल गर्ने कार्यसूची संसद् सचिवालयले बनाएको हो ।
विधेयकमा सरकारले आफूसँग गरेको सहमती नसमेटिएको भन्दै प्रध्यापक डाक्टर गोविन्द केसी १३ दिनदेखि आमरण अनसनमा छन् ।
विधेयक जस्ताको तस्तै पारित गर्ने रणनीति सत्तापक्षको छ । प्रमुख प्रतिपक्षी कांग्रेस भने विधेयक जस्ताको जस्तै पारित गर्न खोजिए संसद् बैठक अवरोध गर्ने तयारीमा छ ।
विधेयक विरुद्ध डा.केसी अनसन बसेपनि विधेयकलाई अघि वढाउने तयारी सत्तापक्षले गरेको हो । बैठकमा विधेयकमाथि सामान्य छलफल गर्ने र आजै विधेयक पारित गर्ने सत्तापक्षको तयारी छ ।
‘संसदीय उपसमितिको सुझावसहितको प्रतिवेदन र विधेयक पारित गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ’ संसदीय समितिका सदस्यसमेत रहेका नेकपा नेता योगेश भट्टराईले भने, ‘विधेयक जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने हाम्रो पार्टीको धारणा छ, त्यहीअनुसार हामी अघि बढ्छौं ।’
कांग्रेस भने विधेयकलाई जसरी पनि रोक्ने रणनीति बनाएको छ । गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल सरकारले खारेज गर्न लागेको भन्दै कांगे्रसले आजको संसद बैठक अवरुद्ध गर्ने तयारी गरेको छ ।
सरकार र केसीबीच भएको सहमति हुबहु कार्यान्वयन नभए संसद अबरुद्ध गर्ने चेतावनी कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले दिएका छन्। कांग्रेसले आफ्ना सबै सांसदलाई आजको बैठकमा अनिवार्य उपस्थितिको लागि ह्विप जारी गरेको छ ।