बीबीएलमा चम्किए सन्दीप, ४ खेलमा ८ विकेट लिन सफल
काठमाडौं । अष्ट्रेलियामा भइरहेको बिग ब्यास लिग (बीबीएल) को चौथो खेलमा पनि नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले विकेट लिन सफल भएका छन् । सन्दीपले मेलबर्न स्टार्सको तर्फबाट डर्बी क्लब मेलबर्न रेनेगेड्सविरुद्ध आफ्नो दोस्रो ओभरमा कप्तान टम कोपरलाई बोल्ड आउट गरेका हुन् । ब्याट फ्लिप हारेर ब्याटिङ गरिरहेको मेलबर्न रेनेगेड्सका कप्तान कोपरलाई सन्दीपले ४ रन खर्चेर आउट गराएका हुन् ।
पहिलो ओभरमा ११ रन खर्चिएका सन्दीपले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा विकेट लिन सफल भएका हुन् । आज उनले रेनेगाड्स विरुद्ध ४ ओभरमा ३१ रन खर्चिएका छन् । बंगलादेश प्रिमियर लिग खेल्न जानुअघि सन्दीपका लागि अष्ट्रेलियाको बिग बास लिगको यो अन्तिम खेल हो । यसअघि तीन खेलबाट ७ विकेट लिइसकेको सन्दीपको विकेट संख्या ८ पुगेको छ । बीबीएलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दीपले हरेक खेलमा प्रतिद्वन्द्वी टिमका कप्तानलाई आउट गरे ।
सन्दीपले खेलेका लगातार चार खेलमा चार फरक कप्तानलाई आउट गरे । सिड्नी थण्डरका कप्तान शेन वाट्सन, होबार्ट हुरिकेनका कप्तान म्याथ्यु वेड र सिड्नी सिक्सर्सका कप्तान मोइसिस अनरिकेलाई यस अघिका खेलमा आउट गराएका सन्दीपले आजको खेलमा पनि उक्त शृंखलालाई कायम राख्न सफल भए ।
रेनेगाड्स विरुद्को आजको खेलपछि सन्दीपले करिब एक महिना भने बीबीएल गुमाउनु पर्नेछ । यो खेलपछि सन्दीप स्यलहेट सिक्सर्सबाट बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश आउने छन् ।
बिग ब्यास लिग सन्दीप लामिछाने