नेबिसंघका नेताहरुबीच फाटो झन बढ्यो, आन्दोलनमा पनि एक अर्काको अनुहार हेर्दैनन्
नेबिसंघको महाधिवेशनसंगै स्ववियू निर्वाचन पनि नहुने
काठमाण्डाै । भर्खरै नेपाली कांग्रेसले देशका ७७ वटै जिल्लामा सरकारबिरुद्ध प्रदर्शन गरेको छ । कांग्रेस सांसद गगन थापाका अनुसार सरकारलाई बिपक्षीको तागत देखाइदिनका लागि यो प्रदर्शन गरिएको हो ।
कांग्रेसको देशब्यापी प्रदर्शन कतिको शक्तिशाली रह्यो यो त आ–आफनो ब्याख्यामा भर पर्छ तर कांग्रेसको आन्दोलनलाई सशक्तरुप दिन भनी मैदानमा ओर्लिएको उसको भ्रातृ संगठन नेबिसंघको अवस्था भने लथालिंग छ ।
संघका पदाधिकारीबीचमै पानी बाराबारको स्थिति छ । आधा भन्दा बढी पदाधिकारी र केन्द्रीय सदस्यले अध्यक्ष नैनसिंह महरलाई असक्षम घोषणा गर्दै राजीनामा दिएपछि स्थिति झन नाजुक बनेको हो । आफै सम्हालिन नसकेको नेबिसंघले सरकारबिरुद्ध गरिरहेको आन्दोलन पनि हाँसो उठ्दो छ ।
संघका अध्यक्ष नैनसिंह महर र उनको साथमा रहेका महामन्त्री कुन्दन काफ्लेको समूहले एक किसिमको आन्दोलन गरिरहेको छ । अर्कोतर्फ राजीनामा गरेको समूह वरिष्ठ उपाध्यक्ष पुष्पकुमार शाही, महामन्त्री सरोज थापा लगायतको समूहले आफ्नै ढंगले आन्दोलन गरिरहेको छ । रोचक पक्ष त के छ भने संघको आन्तरिक मामिलामा खटपट परेका यी नेताहरु सरकारबिरुद्धको आन्दोलनमा पनि एकसाथ छैनन् ।
महर, काफ्ले गएको ठाउँमा शाही, थापाहरु जाँदैनन् । शाही थापाहरु भएको ठाउँमा महर, काफ्लेहरु जाँदैनन् । दुवै पक्षको लक्ष्य सरकारबिरुद्धको आन्दोलन भएपनि भित्रभित्रै उनीहरु एकअर्कालाई देखि नै नसक्ने अवस्थामा पुगेका छन् ।
नेबिसंघको कार्यकालका बिषयमा पार्टी केन्द्रीय समितिमा मुद्दा बिचाराधिन छ । पटक–पटक म्याद थप्दा पनि संघको महाधिवेशन गर्न नसकेको र अब पनि महाधिवेशन गराउन नसक्ने दाबी असन्तुष्ट पक्षको छ । महर पक्षले भने राजीनामा दिएकाहरुले नै महाधिवेशन नहोस भनेर बिभिन्न जिल्लाका क्याम्पसहरुमा अधिवेशन नगराउन भूमिका खेलेको आरोप लगाएको छ ।
महामन्त्री सरोज थापाका अनुसार महर र काफ्लेको जोडी पदसंगै आर्थिक लोलुपतामा फसेको छ । उनीहरुलाई संघ र पार्टीको माया भन्दा पनि व्यक्तिगत लाभको बिषय बढी महत्वपूर्ण भएको उनको आरोप छ । नेबिसंघको आन्दोलनकाक्रममा केही ठाउँमा सरकारी गाडीमाथि भएको आगजनी लगायतका घटनाको जिम्मेवारी पनि उनीहरुले नै लिनुपर्ने थापा बताउँछन् । उनले संघको नीतिबिपरित आन्दोलनका दौरान भएका घटनाको निन्दासमेत गरे ।
नेबिसंघको अन्योल चिर्न पार्टीले तदर्थसमिति गठन गरी निश्चित समयभित्र महाधिवेशन गर्ने म्याण्डेट दिनुपर्ने महामन्त्री थापा बताउँछन् । हालका अध्यक्ष महरलाई नै जिम्मेवारी दिने हो भने उनकै बिचार समूहका मान्छेको टिम बनाइ जिम्मा दिनुपर्ने उनको सुझाव छ । अन्यथा, इमान्दार, लामो समय योगदान दिएको र प्रतिबद्ध नेताहरुको समूह बनाइ महाधिवेशनमा जानुपर्ने उनी बताउँछन् ।
त्रिबिले फागुन १४ गते स्ववियू निर्वाचनको मिति तोकेपनि त्यो हुने सम्भावना छैन । निर्वाचन गर्नुअघि पूरा गर्नुपर्ने प्रक्रिया र गर्नुपर्ने थुप्रै काम त्रिबिले नगरेकाले नेबिसंले यसमा असन्तुष्टि जनाउँदै आएको छ ।
‘निर्वाचनमा हार्ने डरले नभइ बिधिसम्मतरुपले सबै पार्टी निकट बिद्यार्थी संगठनहरुले भाग लिन पाउन भनेर स्ववियू निर्वाचन सार्नुपर्ने अडान हामीले लिएका हौं । ’ महामन्त्री थापा बताउँछन् ।