दुई महिनामा डेढ सय बढीमा स्वाइन फ्लु

काठमाडौँ । राजधानीमा दुई महिनामा डेढ सयभन्दा बढी व्यक्तिमा प्रयोगशाला प्रमाणित स्वाइन फ्लु देखिएको छ । चिकित्सकीय भाषामा यसलाई मौसमी इन्फ्लुएन्जा (रुघाखोकी) अन्तर्गत रहेको ‘इन्फ्लुएन्जा ए–एच१एन१’ भनिन्छ । चिकित्सकहरूले सरकारी तथ्यांकभन्दा वास्तविक स्थिति झन् जटिल रहेको दाबी गरेका छन् ।
ओम अस्पतालको आईसीयूमा रहेकी एक ४७ वर्षीया महिलाको सोमबार स्वाइन फ्लुले मृत्यु भएको छ । तीन दिनअघिसमेत ओमकै आईसीयूमा रहेका एक संक्रमितलाई एयरलिफ्ट गरेर भारत लगिएको थियो ।
राजधानीमा अहिले स्वाइन फ्लु प्रकोपकै रूपमा देखिएकाले यसबाट प्रभावित भएर जटिल स्वास्थ्य अवस्थामा पुग्ने र मृत्यु हुने घटनामा वृद्घि भएको छ । ‘हामीकहाँ आइपुग्नेमध्ये करिब २५ प्रतिशत बिरामी रुघाखोकी तथा छातीको संक्रमणका हुन्,’ ओम अस्पतालका निर्देशक डा. केपी देवकोटाले भने, ‘सोमबार स्वाइन फ्लुले मृत्यु भएकी महिलामा यसअघि कुनै जटिल स्वास्थ्य समस्या थिएन ।’
ती महिला दुवै फोक्सोमा संक्रमण (निमोनियाँ) भएपछि अस्पताल आइपुगेको जनाउँदै डा. देवकोटाले भने, ‘मौसमी इन्फ्लुएन्जा भएर आउने बिरामी गम्भीर वा निमोनियाँ भएरै आउने गरेको देखिएको छ ।’ एक्कासि स्वाइन फ्लुको प्रकोप बढेपछि ओम अस्पतालले आफ्नो आईसीयू र इमर्जेन्सीका सबै कर्मचारीलाई ‘फ्लुविरुद्घको खोप’ समेत दिएको छ ।
गत पुस १७ देखि राजधानीमा स्वाइन फ्लु बढेको देखिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका निर्देशक डा. हरिशचन्द्र उप्रेती स्वीकार्छन् । उनका अनुसार हाल मौसमी रुघाखोकीको पहिचान गर्न घाँटीको र्यालको नमुना दिनेमध्ये करिब आधा जतिमा इन्फ्लुएन्जा ए–एच१एन१ (स्वाइन फ्लु) देखिएको छ । यो खबर आजको कान्तिपुर दैनिकबाट लिइको हो ।
स्वाइन फ्लु