कभर स्टोरी भिडियो

वाइडबडीमा सबैको मिलेमतो हुन सक्छ, कंसाकार एक्लैको दम छैन (भिडियोसहित)

वाइडबडीमा सबैको मिलेमतो हुन सक्छ, कंसाकार एक्लैको दम छैन (भिडियोसहित)

काठमाडौं । नेपालआजका नियमित भिडियो स्तम्भकार अरुणकुमार सुुवेदीले यसपटक आफ्नो स्तम्भ ‘कुरा खस्रा मीठा’मार्फत नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी जहाज र त्यसबाट सिर्जित विवाद बारे बोल्नु भएको छ । उहाँले यसअघि नेपाल वायुसेवा निगमसँग जोडिएको धमिजा काण्ड र लउडा प्रकरणबारे पनि बोल्नु भएको छ । 

 

राजनीति, परराष्ट्र मामिला र जलमामिलामा बोल्ने सुवेदीले यसपटक वायु सेवा निगम र वाइडबडी जहाजको विवादबारे स्पष्ट पार्नु भएको छ । 

 

केही वर्षअगाडि तत्कालीन शाही नेपाल वायु सेवा निगमले बेलायतमा दिनेश धमिजाको कम्पनीलाई जिएसए नियुक्ति गर्दा नेपालमा ठूलो बबण्डर भयो । सुवेदीको मतमा त्यो व्यर्थको किचलो थियो । दिनेश धमिजा बेलायतका रोलमोडल व्यवसायी थिए । उनीसँगको सहकार्य गर्नु निगमको सबैभन्दा सटिक निर्णय थियो । तर निगम सिध्याउने तत्वहरुले उचाले । व्यर्थको झगडा निम्त्याए । त्यसपछि निगमको कुनै पनि कार्यकारीले राम्रो निर्णय गर्नै सकेन । त्यो बेला धमिजालाई एक करोड भन्दा अलिकति मात्रै बढी पैसा दिइएको थियो । तर हंगामा यसरी गरियो कि निगम नै दिनेश धमिजालाई सुम्पिइयो ।

 

लाउडा प्रकरण के थियो ? यो कुुरा धेरै कमले बुझेका छन् । सुवेदीको मतमा मानिसहरुले बुझेको र वास्तविकतामा केही फरक छ । सुवेदीले लाउडा एअरसँग नेपाल वायु सेवा निगमको सम्झौताबारे भने– ‘लाउडा भनेको अष्ट्रियाको धेरै ठूलो कम्पनी हो । त्यसको नाम अहिले परिवर्तन भएको छ । लाउडाबाट बोइङ ७५७ ल्याइयो । त्यसलाई १० वर्ष पुरानो जहाज भनेर हंगामा गरियो । २००५ मा बोइङ ७५७ को लास्ट डेलिभरी भएको हो । अहिले पनि अमेरिकाका धेरै एअरलाइन्ससँग यी जहाज छन् । मजाले उडिरहेका छन् । कसैले पनि ७५७ पुरानो भयो भनेको छैन ।

 

खासमा जहाज पुरानो नै हुँदैन । नेपालमा दूष्प्रचार भयो । गिरिजालाई समेत यसमै ठिंग्याइयो । यसको परिणाम के भयो भने नेपाल वायु सेवा निगमले जहाज किन्ने निर्णय गर्नै सकेन । लाउडामा २ करोड र धमिजालाई दिएको १ करोड ठूलो हो कि त्यसबीचमा निगमले गर्ने व्यापार जुन गुमायो त्यो ठूलो हो ? निगमले जहाज नकिनोस्, सकियोस्, यसको व्यापार हडप्न पाइयोस् भनेर उचाल्नेहरुले यो सबै गरेका हुन् । ’

 

नेटवर्क बिजनेस गर्ने युनिटीको अधोगतिको कारक पनि जहाज नै रहेको सुवेदीले खुलासा गरेका छन् । उनले युनिटी प्रकरण किन मच्चियो ? यसको जवाफ सुवेदीले यसरी दिएका छन्ः 

 

‘युनिटीमा धेरै मानिस जेल गए । धेरै फसे । धेरैको पैसा सकियो । केही मानिसलाई थुनेर जनताको पैसा डुबाइएको घटना युनिटी प्रकरण हो । युनिटीका सञ्चालकहरुले मलेसियामा एउटा कम्पनीसँग ३–४ वटा जहाज लिजमा लिएर नेपालमा चलाउने सम्झौता गरे । त्यो सम्झौता गरेपछि उनीहरुको दुःखका दिन शुरु भए । त्यो बेला सुगतरत्न कंसाकार जेल परे । त्यो बेलाको उद्देश्य नेवानी वा अरुले जहाज नकिनून भन्ने थियो । यो पटक जहाज नै आयो ।’

 

सुवेदीले नेपाल वायुु सेवा निगमले वाइडबडी किन्दा तीन–तीन वटा विचौलिया राख्नुलाई भने आश्चर्यका रुपमा लिएका छन् । उनले सुगतरत्न एक्लैले ४ अर्ब खाएको कुरा अपत्यारिलो ठान्छन् । दल, नेता, विज्ञ र निगमसबैको मिलेमतोमा अनियमितता भएको हुन सक्ने तर्फ उनको संकेत छ । 
 

अरुणकुमार सुुवेदी

विशेष