खेल

एकदिवसीय दोस्रो श्रृंखला : नेपालका लागि ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

एकदिवसीय दोस्रो श्रृंखला : नेपालका लागि ब्याटिङमा सुधार गर्नुपर्ने चुनौती

काठमाडौं : संयुक्त अरब इमिरेट्स (युएई) सँगको एकदिवसीय र टी–२० शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली मंगलबार त्यसतर्फ प्रस्थान गर्दैछ ।

 

एक दिवसीय मान्यता पाएपछि नेपालको यो दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । प्रशिक्षणका क्रममा नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यूएइविरुद्धको श्रृंखला जित्नु नै मुख्य लक्ष्य भएको बताए ।

 

नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर भने यस पटक टोलीमा छैनन् । महत्पूर्ण सदस्य टोलीमा नहुँदा प्रतियोगितामा दबाब भने रहने कप्तान खड्काको भनाइ छ । बिरामी भएपछि शरदले नाम फिर्ता लिएका हुन् । उनलाई ठीक हुन तीन/चार हप्ता लाग्ने बताइएको छ । 'मुख्यगरी हामीले ब्याटिङमा विशेष सुधार गर्नुपर्ने छ', कप्तान खड्को भनाइ छ ।

 

युएईसँगको खेलका लागि चार युवा खेलाडीले ‘सिनियर’ टोलीमा स्थान बनाएका छन् । अविनाश बोहरा, भीम सार्की, पवन सर्राफ र सन्दीप जोराले सिनियर टिममा स्थान बनाएका हुन् । नेपालले यही माघ ११, १२ र १४ गते एकदिवसीय श्रृंखला र माघ १७, १८ र २० मा टी–२० श्रृंखला खेल्नेछ ।

 

एक दिवसीय मान्यता पाएपछि युएईविरुद्धको श्रृंखला नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखला हुनेछ । विश्व क्रिकेट परिषद् (आइसिसी) बाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय श्रृंखला खेलेको थियो । दुई खेलको श्रृंखला एक/एक जीतको बराबरीमा सकिएको थियो ।

 

नेपालले गत वर्ष जिम्बाबेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । युएईले पनि विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएको थियो । आइसिसीबाट एकदिवसीय मान्यता पाउने नेपाल कान्छो टोली हो । युएई भ्रमणका लागि पारस खड्काको कप्तानीमा १६ सदस्यीय टोली रहेको छ । उक्त प्रतियोगिताका लागि छनोट हुने खेलाडीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन् । त्यस्तै भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले राष्ट्रिय टोलीमा पहिलोपटक स्थान बनाएका छन् । वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन् ।

एकदिवसीय क्रिकेट क्रिकेट कप्तान पारस खड्का

विशेष