स्वस्थानी कथा : के गाेमाकाे उमेर वास्तवमै सात वर्षकाे थियाे ? (भिडियोसहित)
काठमाडौं । अनन्तश्री विभूषित राजगुरु तथा जगतगुरु वीरेन्द्र परमहंश ज्योतिषाचार्यजी महाराजसँग यसपटक हामले स्वस्थानी व्रत कथाबारे चर्चा गरेका छौं । स्वस्थानीका कथामा उल्लेख भएका केही असान्दर्भिक लाग्ने प्रशंगहरुबारे हामीले वीरेन्द्र परमहंशलाई सोधेका छौं ।
व्रीन्दाको सतित्व
जालन्धरलाई युद्धमा पराजित गर्न नसकेपछि भगवान विष्णुुले जालन्धरको रुप धारण गरेर उसकी पत्नी व्रीन्दाको सतित्व नाश गर्छन् । जसका कारण जालन्धरको पराजय हुन्छ । ऊ मारिन्छ । एकातिर पत्नी बलात्कृत हुने, अर्कोतिर पतिको मृत्यु हुने कथा स्वस्थानीमा छ । बलात्कार गर्ने अरु कोही नभएर भगवान विष्णु नै हुन भनिएको छ । वीरेन्द्र परमहंशको भनाइअनुसार व्रीन्दाले भगवान विष्णुलाई पतिका रुपमा पाउँ भनेर ठूलो तप गरेकी हुन्छिन् । त्यो पूरा गर्नका लागि विष्णुले उनलाई सहवास वा बलात्कार गर्छन् । जसका कारण व्रीन्दाको श्रापबाट उनी झार (तुलसी) ढुंगा (शालीग्राम) बन्छन् । कर्मको फल कसैले पनि पाएरै छाड्छ भन्ने सन्देश यो घटनाले दिएको ज्योतिषाचार्यको भनाइ छ ।
इन्द्रको आसन हल्लिदा किन शिव भट्टको सम्पत्ति नाश गर्नु पर्ने
पृथ्वीमा शिव भट्टको सम्पत्ति बढ्दै जान्छ । त्यसको प्रभावले इन्द्रको आसन हल्लिन्छ । इन्द्रले आफ्नो कुर्सी बलियो बनाउन छाडेर भगवान शिवलाई गुहारेर शिव भट्टको सम्पत्ति नाश बनाउने खेल खेल्छन् । अब प्रश्न उठ्छ, आफ्नो कुुर्सी जोगाउन किन अरुलाई दुःख दिनु परेको ? ज्योतिषाचार्य भन्छन्, ‘सत्ता जोगाउनका लागि गरिएको कर्म हो यो देवताहरुको ।’
बिहेको सबै विधि विष्णुसँग, कन्यादान शिवसँग ?
सतिदेवीको विवाह विष्णुसँग गरिन्छ । कन्यादानमा हातमात्रै शिवको हातमाथि पारिन्छ । विवाहका सबैजसो विधि विष्णुसँग गरेपछि कसरी सतिदेवी शिवकी हुन्छिन् ? ज्योतिषाचार्य भन्नुहुन्छ, ‘कन्याको अधिकार हो, कसलाई वर छान्ने भन्ने । कन्याको चाहनाअनुसार नै शिव उनका पति बन्छन् । शिव र शिवाको मिलनको गाथा हो यो । बाँकी सहायक पात्र मात्रै हुन् ।’
सात वर्षकी गोमालाई किन श्राप ?
सात वर्षकी गोमालाई भगवान शिवले ७० वर्षको बुढोसँग विवाह होस भनेर श्राप दिन्छन् । त्यो पनि भनेजस्तो भिक्षा नभएको रिसमा । एक त माग्नु छ त्यसमाथि माग्नैकै सर्त हुन्छ कि केलाएकै चामल चाहियो भन्ने । त्यो पनि एक अवोध बालिकासँग । अनि ती बालिकाले चामल नदिएपछि श्राप दिएर डमरु बजाउने र पुरुषत्व देखाउने शिवको शैली किन यस्तो ? ज्योतिषाचार्य भन्नुहुन्छ, ‘ती पात्रहरु इश्वरीय पात्र हुन् । सात वर्षको उमेर हामी मनुष्यको जस्तो होइन । त्यहा सत्ताको संघर्ष पनि हो । इन्द्रको आसन जोगाउन त्यस्तो गरियो ।
हाम्रो ६–६ महिनाको उत्तरायण र दक्षिरायण भनेको देवताको एक एक दिन हो । देवताहरुको एक वर्ष ब्रम्हाजीको एक दिन हुन्छ । ब्रम्हाजीको १ वर्ष बैकुण्ठको एक दिन हुन्छ । बैकुण्ठको एक वर्ष शिवलोकको एक दिन हुन्छ । त्रेता युगमा राजा रामले १० हजार वर्ष शासन गर्नुभयो । लंकामा सबैभन्दा होचो मानिस ५१ हातको हुन्थ्यो । अर्थात हामीले भाव बुझ्नु पर्छ । गोमाको उमेर त दीव्य सात वर्ष हो । हाम्रो जस्तो कहाँ हो त । ’