विचार

दिन कटनी र मानो पचनीको राजनीति

- संकेत कोइराला 

दिन कटनी र मानो पचनीको राजनीति

‘म मरेपछि नेपाली कांग्रेसमा मेरो भूमिकाको बारेमा व्यापक भ्रम सिर्जना गर्ने प्रयास हुनेछ भन्ने मलाई पक्का छ । घटनाहरुलाई बंग्याएर इतिहासको गलत व्याख्या गरिनेछ । मैले लिएको अडान र दृष्टिकोणलाई गौण बनाइनेछ । नेपाली कांग्रेसमा मैले सदैव सैद्धान्तिक र विषयगत अडान लिएको छु । २००७ सालको क्रान्ति हामीले हिन्दूस्थानबाट सञ्चालन गर्‍यौं, तर हामीलाई हिन्दूस्थानले सञ्चालन गर्न खोजेको कुराको मैले सधैंभरि र सबभन्दा बढी विरोध गरेको छु । राजासंग मेलमिलापको कुरा गर्दा पनि प्रजातन्त्रको आग्रहमा मैले कहिल्यै समर्पण गरिन । मेरा यी अडानहरुको बारेमा व्यापक भ्रम सृजना हुने सम्भावना मैले देखेको छु । जुन दिन कांग्रेस प्रजातन्त्रका आदर्शहरु छाडेर  केवल सत्ताको राजनीति गर्नेछ, यो निरर्थक भएर जानेछ ।’

 

कांग्रेसीजनहरु विभिन्न बहानामा बिपीको फोटोमा लुकामारी खेल्न व्यस्त छन् । उनीहरुका लागि यो कर्म दिन कटाउने र मानो पचाउने रमाइलो मेसो बनेको छ । राजनीतिको खोल ओढेका बुख्याचाहरुले बिपी विचार पैतालामा कुल्चिएर उनको फोटो 'मास्टर कार्ड' बनाएका छन् । बिपीको सपना साकार हुँदो हो त यतिबेला यो देशबाट दैनिक १५ सय युवा खाडी भासिने थिएनन् । तिनैले हाड घोटेर पठाएको पैसा चन्दन मानेर रेमिट्यान्सको फूर्ती लगाउनेहरुको प्रलयले देशको अर्थशास्त्र नर्कशास्त्रमा अनुवाद हुने थिएन् । दिनको डेढ अर्बको लेखो लाएर बसेका तिनीहरुलाई सरकारको बजेटकै हाराहारीमा भारतसँगको व्यापार घाटाले अलिकति पनि पोलेको छैन ।

 

यताबाट एउटा सामान पठाउँदा उताबाट आठगुणा सामान ल्याउनुपरेको उल्टो अर्थशास्त्र कसैलाई बुझ्दैन् । त्यही कोदोको ढिंडो र खोलेफाँडोबाट छलिन शहर पसेका कथित 'भूजा ज्यूनार'मा रुपान्तरण भएकाहरुलाई थाहा हुनुपर्ने हो– अब कोदो, फापर र मस्याङजस्ता कु-अन्नको आपूर्ति पनि दक्षिणी छिमेकीबाट हुन थालेको छ । देउता खुसी पार्न चढाइने पाती प्रसाददेखि ब्रतालुले खाने फलाहारसमेत आयातीत छ । युक्रेनबाट आएको तेल नबाली भगवान्‍को आरती चढ्दैन । अफ्रिकामा जन्मेको मुरली मकै पपकर्न बनेर उदाएको छ ।  

 

सन्कीमा चलेका खाडी देशले कुनै दिन विदेशी कामदार नचाहिने उर्दी गरेका दिन त्यो चुनौती कसरी स्वीकार्ने त्यो सोच कसैमा छैन् । खाडीबाट देश भित्रिने पैसाको हिसाव राख्न तँछाडमछाड गर्नेहरु काठको बाकसमा आउने दर्जनौं होनहार युवाको मृत्युप्रति बेखबर छन् । दौरा-सुरुवालमा ठटिएर हिँड्ने देशका ठूलाहरुले कमाएको पैसा फ्रान्सको वाइन, इटालीको जुत्ता, पाकिस्तानी ज्याकेट, अमेरिकी आइफोन, सिंगापुरको सपिङ अनि सन्तानलाई अमेरिकी र युरोपेली नागरिक बनाउन खर्च हुने, अनि परिवारलाई तातो जाउलो ख्वाउन घर बन्धकी राखेर गएको एउटा मजदूरले हाइड्रोपावरमा लगानी गरेर समृद्ध नेपालको यात्रा आरम्भ गर्नुपर्ने उर्दी कति व्यवहारिक होला ? जुँगा ताउ लगाएर कमाएकाहरुको पैसा खोटो मोहोर किन ?

 

राजनीतिको मुखुण्डो लाएका दलालहरुले कुनै दिन राजनीतिक नेतृत्वलाई विदेशबाट आएको रेमिट्यान्सबाट १० प्रतिशत नेपाल कम्युनिष्ट पार्टी, ५ प्रतिशत कांग्रेस र ३ प्रतिशत अन्य दललाई बुझाउनुपर्ने नियम लगाइदिए भने कसैले आश्चर्य नमाने हुन्छ । यो संघीय गणतन्त्र हो । नेता र तिनका मतियारको ओठमा हाँसो आएपछि लोकतन्त्र आफैँमा फस्टाउँछ । यदि यिनीहरुले नहाँस्ने विषय प्रवेश कतैबाट भयो भने त्यो संघीय लोकतन्त्रको मर्म र भावनाविपरीत हुन जान्छ ।

 

बिपीको समाजवादले जनता धरौटी राखेर नेताको विदेशमा उपचार गर्ने किमार्थ सोचेको थिएन । बरू शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा जनताको अधिकार स्थापित गर्ने परिकल्पना गरेको थियो । बिपी प्रतिपादित समाजवादी चिन्तनको अक्षरशः व्याख्या गर्ने इमान्दार प्रयास भए, ६ दशकअघि उनले कल्पना गरेको कृषक कृषि फर्मको मालिक हुन्थ्यो । आइफोनबाट बजार खोज्थ्यो । अनलाइनबाट हिसाब-किताब हेर्थ्यो । 

 

महेन्द्रमाला कण्ठ गरेका प्रचण्डलाई जनयुद्धदेखि नै श्रीपेचविनाको राजा बन्ने ठूलो धोको थियो । देशका नदीनाला, विमानस्थल, डाँडापाखा आफ्ना नामबाट नामकरण गरिऊन् भन्ने भोक उत्तिक्कै थियो । जनयुद्धताका कम्युन शिक्षाका नाममा किताबको गाता बाहिर आफ्नो फोटो छापिएको किताब बोकाएर स्कुले तिते भुराहरुलाई मुड्की ठड्याउने अभ्यास दुईदिने रामछाया नै किन नहोस् , रुकुम– रोल्पाका केही स्कुलमा उनले गराएकै हुन् । कारखानाको मेसिन बिग्रियो भने गोजीमा रहेको ‘रेडबुक’ ढोगेमा आफैँ मेसिन दुरुस्त हुन्छ भन्ने माओत्सेतुङ कालीन भूत प्रचण्ड अवतारमा ब्यूँझाउने अनगिन्ती प्रयास माओवादीबाट नेपालमा भएकै हो । तर विश्वमा आएको मानवीय चेतनाको लहरले माओवादीका ती सबै रहर पानीमा किलो गाडेजस्तै बनाइदियो । मोटाउनु र सुन्निनु एउटै होइन रहेछ भन्ने दीक्षा कार्यकर्तारुपी गोमन साँपले गालामा ठुँग्दा प्रचण्डको चेत खुलेको हुनुपर्छ ।

 

एकातिर आइफोन पुस्ताको प्रवेश, अर्कातिर सिमसिमे राजाको सोच भएका नेताहरुको सामञ्जस्य नमिल्दा राजनीतिक व्याकरण वर्षौंदेखि गोलचक्करमा फसेको छ । कालिकोट र थानकोट खुट्याउन नसक्ने देशका सारथीहरुले आफूलाई परिवर्तनसँग कहिल्यै रुपान्तरण गरेनन् । माघको ठिहीमा पनि कार्यकर्तालाई आइसक्रिमको व्यापार गर्न पठाउने शास्त्रीय राजनीति उनीहरुको धर्म बन्दै आएको छ । फलस्वरूप देश विकासको नारा अन्धाले छामेको हात्तीजस्तै बन्यो । सवै नेपालीका हातमा मोबाइल पुग्यो । टेकूको सडक बालकले पुतलीसडकको सडक बालकलाई आफ्ना टोलतिर धेरै प्लास्टिक भएको सूचना मोबाइलबाट दिने अवस्था त आयो ।

 

तर मोबाइल बोक्नेको महामारीले देशको सामाजिक अर्थशास्त्र ध्वस्त भयो । छिमेकी देशबाट मरिकुच्चे भारी बोकेर आउने ट्रक फर्किदा फिरफिरेजस्तै बत्तिएर गन्तव्य पुग्ने दृश्य कसैका लागि नौलो होइन । तर भात खाएको र चिया पिएको खबर सोध्न रिचार्ज कार्डमार्फत् अर्बौं सिध्याउने संस्कृतिले देशलाई कता लैजान्छ भनेर कसैले सोचेको छैन । हजुरबाको पालादेखिको हलो उही छ । गोरु त छ तर मोबाइल रिचार्ज गर्न गोरुले खाने भुस, चोक्करमा घोटाला गर्न तम्सने गोठालाहरु बढ्दा छन् । गोरुले खाने चोक्करमा भ्रष्टाचार भएपछि स्वभावतः गोरु कुपोषणग्रस्त हुने नै भए । तपाईं नै अनुमान गर्नुस् त, सारंगी पेट भएका गोरुले कुन हुतिले हलो तान्नु ? मोबाइलको सेटजस्तै हलो र गोरु पाल्ने प्रविधिमा पनि नयाँपन आइदिएको भए देशको अनुहार कस्तो हुन्थ्यो होला ? कर्ममा हैन, रहरमा नसा लगाइदिने सरकारी उत्ताउलोपनका कारण देश झन्झन् अधोगतितर्फ लाग्दैछ । समस्या सानो कुरामा छ तर प्राविधिक र अंग्रेजी शब्द घोलेर त्यसलाई बुझिनसक्नुको महाभारत बनाइन्छ ।

 

संसारका हरेक राज्यले जनतालाई दिने भनेको पानी, बिजुली र सडक हो । यी तीनथोक दिएपछि कसैले जुम्लाको स्याउ कुहिएको समाचार सुन्न पर्दैन । झापाका किसानले धानको बजार नपाएको ललेत्रो गाउनु पर्दैन । धान फलाउने र स्याउ फलाउने आफैँले आफ्नो आवश्यकताको परिपञ्च मिलाउँछन् । वाईवाई चाउचाउ औषधी पसलमा पनि पाइन्छ । रक्सी, वियर र चुरोट तरकारी पसलमा पनि पाइन्छ । यी बस्तुको आपूर्तिलाई बाढी, पहिरो, खडेरी केहीले रोक्दैन । तर खाद्य संस्थानले लैजाने अन्न, आयल निगमको तेल, साल्ट ट्रेडिङको नून र कृषि सामग्री कम्पनीको मललाई औंसी, पूर्णिमादेखि हाकिमकी छोरीको विहेले पनि छेक्छ । नातिको पास्नीले पनि विक्रीमा प्रभाव पार्छ । चाउचाउ र चुरोटको व्यापारिक सोच व्यापारै गरी खाने सरकारका निकायमा चाहिँ किन लागू हुन सक्दैन रु हो यी सवैको  उत्तर हो– भिजन नभएका नेता र नियत ठीक नभएका कर्मचारीको मिलेमतो ।  

 

मानिसका बोलीका तीन प्रकार हुन्छन् । एकथरि जीब्रोले बोल्छन् । अर्काथरि मनले बोल्छन् । अनि खाँटी मानिसहरु मन र मस्तिष्कले बोल्छन् । नेताहरु तेस्रो खाले हुन सके भने नेतालाई सतोसराप गर्नेहरु पश्चातापको भिक्षा माग्न आउने छन् । कल्पना गरौं त, त्यो प्रवृत्तिलाई माफी गर्दा मनभित्र आउने आनन्द कति उर्जावान होला । संसारमा सर्वमान्य सिद्धान्त जन्माउने त्यस्तो सत्पात्र आजसम्म जन्मिएको छैन् । न त देवता खोज्न जाने कुनै भक्तले देउता भेटेर ल्याएको कुनै उदाहरण छ । बरु देउताको अस्तित्व खोज्न जानेहरु आपैंm देउतासरह पूज्य बनेका उदाहरण छन् ।  

 

मृत्यु र दुखको कारण खोज्न निस्किएका राजकुमार सिद्धार्थ गौतम बनेर फर्किए । एउटा सामान्य कार्पेन्टरको सन्तानलाई यस्तै जिज्ञासाले क्राईष्ट बनायो । संसारको हरेक शास्त्रको एउटै सूत्र हो– बहुजन हिताय, बहुजन सुखाय । मानिसलाई धर्म र बादका नाममा विभक्त त मानिसले गरेको हो । जाडोमा हरेक बाद र धर्मका मानिसलाई न्यानो लुगा र तातो घाम प्यारो हुन्छ । हो, घामको ताप र लुगाको न्यानो चाहीँ धर्म हो । हामीले कोरेको भनेको सम्प्रदायको लक्ष्मणरेखा हो । यस्तो रेखाले सियोको जस्तो जोड्ने नभएर कैंचीले जस्तो टुक्राउने काम गर्छ । 

 

अहिले हामीसँग खुल्ला आकाश छ, खुल्ला धर्ती छ अझ भनौं सर्वत्र खुल्ला वातावरण छ । सार्वभौमसत्ता जनतामा निहित छ । यी सवै भएर पनि यसलाई स्थिर र प्रतिष्ठित बनाउने चेतना, दक्षता र सीपको भने कमी छ । शिक्षाको उज्यालो केही शहरी क्षेत्रमा मात्र सीमित छ । यिनै कारणले खुल्ला आकाश कतै ट्राफिक जाममा परे जस्तो, कतै संकुचित वृत्तभित्र फन्का मारिरहे जस्तो, देशभित्र जनता भएपनि जनताभित्र कतै देश नभए जस्तो अनुभव धेरैलाई भइरहेको छ । हो परिवर्तन धेरै भएको छ तर भित्र होइन, बाहिर बाहिर, व्यवहारमा नभएर सिद्धान्तमा मात्र । अहिले पनि क्षतविक्षत मन लिएर नेपालीहरु बाँच्न बाध्य छन । 

 

व्यभिचारीले सदाचारीको भावना बुझेको इतिहास संसारमा कतै छैन । फलामबाट निस्किएको खियाले फलामको अन्त्य गरेजस्तै मान्छेको मनबाट निस्किएको विचारले मान्छेलाई सिध्याउँछ । पोखरीको डिलमा उभिएर पोखरी फोहोर भयो भनेर फलाक्दैमा फोहोर पोखरी सफा नभएजस्तै देश विग्रिएको चिन्ता चियाको कपमा पोखेर साम्य हुँदैन । त्यसैले भाग्यवादी हैन, कर्मवादी भएर बाँच्ने संकल्प गरेका दिन सबै समस्या आफैँ किनारा लाग्ने पक्का छ । यसका लागि अनेकौं तन्त्रमन्त्रका औंठी भिरेर आफैँलाई भाग्यवादी बनाएका नेताहरुले ती औंठी फुकालेर जनतालाई कर्मवादी भएको विश्वास दिलाउन सक्नुपर्छ । 

बिपी कोइराला संकेत कोइराला समाजवाद

विशेष