‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्न बाणिज्य बैंकहरु महत्वपूर्ण : कार्यवाहक प्रधानमन्त्री पोखरेल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘समृद्ध नेपाल सुखी नेपाली’ योजनालाई साकार पार्नका लागि सरकारले स्वरोजगारमैत्री सुलभ कर्जा योजना ल्याएको कार्यवहाक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले बताएका छन् ।
राजधानीमा राष्ट्रिय बाणिज्य बैंकको ५४औं वार्षिक उत्सवका अबसरमा बोल्दै मन्त्री पोखरेलले यस्तो धारणा व्यक्त गरेका हुन् । उनले सरकारको यसकिसिमको योजना सफल पार्न राष्ट्रिय बाणिज्य बैंकको अहम भूमिका रहने समेत जिकिर गरेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेलले मुलुक संवृद्धिको पथमा अघि बढिसकेको बताउदै यसमा बैंकहरुले सरकारलाई साथ र सहयोग दिनु पर्ने बताए । उनले बैंकले नाफा कमाउने उद्देश्य मात्र नराखी आम जनतालाई कसरी संवृद्ध र स्वाबलम्बि बनाउन सकिन्छ भन्ने तर्फपनि बैंक लाग्नु पर्ने जिकिर गरे ।
राष्ट्रिय बाणिज्य बैंकले ५३औं वर्ष सफलताका साथ पुरा गर्दै ५४औं वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै मन्त्री पोखरेलले बैंकको कार्यसफलता र प्रभावकारीता बारेपनि समिक्षा गर्नु पर्ने बताएका छन् ।
त्यस्तै, उनले बाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको बैंक भएकाले असफल हुने छुट बैंकलाई नभएको समेत बताएका छन् ।
राष्ट्र बैंकको नियमको परिधिमा रहेर बैंकले सफलता हासिल गर्नु पर्नेमा उनको जोड थियो ।
२०२२ सालमा स्थापना भएको राष्ट्रिय बाणिज्य बैंकले आज आफ्नो ५४औं वार्षिक उत्सव मनाएको छ । यसै अबसरमा बैंकले आजदेखि बाणिज्य बैंकको कुनैपनि साखा नभएका थप तीन जिल्लामा आफ्नो साखा विस्तार गर्दै मुलुकका सतहत्तरै जिल्लामा बैंकको उपस्थिती जनाएको छ ।
जाजरकोट, रुकुम र मुस्ताङमा बैंकले आजदेखि नयाँ शाखा विस्तार गरेको छ । यसका साथै बैंकले आजकै मितिदेखि काडमाडौंको नक्साल, पुल्चोक र हेटौंडामा स्मार्ट बैंकिङ सेवा समेत विस्तार गरेको छ ।