हार्दिक पाण्ड्या र लोकेश राहुलको निलम्बन फुकुवा
एजेन्सी । भारतीय क्रिकेट टोलीका सदस्य हार्दिक पाण्ड्या र लोकेश राहुलमाथि लागेको प्रतिबन्ध फुकुवा भएको छ। ‘कफी विद करण’ नामक एक टेलिभिजन शोमा महिलामाथि गरिएको टिप्पणी सार्वजनिक भएपछि पाण्ड्या र राहुल प्रतिवन्धमा परेका थिए। अष्ट्रेलिया सिरिजका क्रममा रहेका उनीहरू आरोपित भएपछि भारत फिर्ता भएका थिए।
यसैबीच, भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को प्रशासन समितिको बिहिबार बसेको बैठकले अनुसन्धान चल्दासम्मका लागि उनीहरूमाथि लगाइएको निलम्बन फुकुवा गरेको जनाएको छ। उनीहरुको निलम्बन फुकुवा भएसँगै जारी न्यूजिल्याण्ड सिरिजका लागि उनीहरू जानसक्ने भएका छन्। राहुल र पाण्ड्याको मुद्दा अहिले सर्वोच्च अदालतमा पुगेकाले त्यहाँबाट हुने फैसला नै अन्तिम हुनेछ।
बीसीसीआईका कार्यवाहक अध्यक्ष सीके खन्नाले प्रशासक समितिको बैठकमा निलम्बन फुकुवा गर्न आग्रह गरेका थिए। सर्वोच्च अदालतले यी दुईको विषयमा लोकपाल नियुक्त गर्न ढिला गरेकाले बीसीसीआईले तत्कालका लागि निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।