कभर स्टोरी

रिस उठेपछि मात्रै किन ओलीको मानसिक स्वास्थ्यको कुरा उठाइन्छ ? 

रिस उठेपछि मात्रै किन ओलीको मानसिक स्वास्थ्यको कुरा उठाइन्छ ? 

काठमाडौं । संविधान निर्माणको काम अन्तिम चरणमा प्रवेश गर्दैगर्दा चार वर्षअगाडि तत्कालीन एकीकृत नेकपा माओवादी नेतृत्वको मोर्चा आन्दोलनमा थियो । एमाले र कांग्रेस संविधान जारी गर्ने मुडमा पुगिसकेका थिए । त्यही बेला केपी ओलीले प्रचण्ड नेतृत्वको मोर्चालाई १० अर्ब दिने हो भने आन्दोलन सकिने बताए । त्यसको ‘काउन्टर’मा मोर्चाले केपी ओलीको मानसिक स्वास्थ्य ठीक नभएकोले उपचारका लागि सुशील कोइराला नेतृत्वको सरकारसँग माग गरेको थियो । त्यो पनि मोर्चाले लिखित रुपमै यस्तो निर्णय गरेपछि विषयले निकै ठूलो तरंग ल्यायो । 

 


नेकपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पनि स्टेरोइड औषधि लामो समय प्रयोग गरेका कारण केपी ओलीमा अस्वभाविक ‘कन्फिडेन्ट’ देखा पर्ने गरेको टिप्पणी गरेका थिए । 

 

अरु बेला गैरडाक्टरले यस्तो डायोग्नोसिस गर्दै आएका थिए । यसपटक यो मामिलामा डा. गोविन्द केसी पनि पछि परेनन् ।  
उनले लेखे, ‘प्रधानमन्त्रीको निर्णय क्षमता उहाँको स्वास्थ्य अवस्था तथा उहाँले लिइरहेको औषधिका कारण प्रभावित भएको र त्यसको मूल्य राष्ट्रले चुकाइरहनु पर्ने दूर्भाग्यपूर्ण कुरा हो ।’

 

सरकारले चिकित्सा शिक्षा विधयेक डा. गोविन्द केसीसँग भएको सम्झौताविपरीत गएर जबर्जस्ती पास गरेपछि केसीले यस्तो प्रतिक्रिया दिएका हुन् । विषशतः एक विश्वविद्यालयले पाँच भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने भन्ने सम्झौता विपरीत गएर उपत्यकाबाहिर भने दिन सकिने प्रावधान ऐनमा राखिएको छ । यो प्रावधानले दुई अध्यक्ष (केपी ओली र प्रचण्ड)लाई  मार्सी चामलको भात खुवाउने मेडिकल शिक्षाका व्यापारी दुर्गा प्रसाईंलाई फाइदा पुगेको प्रष्टै देखियो । 

 

सरकारले चिकित्सा शिक्षा विधयेकमा गोविन्द केसीका ९५ प्रतिशत माग पूरा भएको दावी गरेको छ । बाँकी पाँच प्रतिशत माग चाहिँ चिकित्सा शिक्षाका व्यापारीहरुका परेका छन् भन्ने टिप्पणी भइरहेको छ । 

 

विधयेक जर्बजस्ती पास गरेपछि गोविन्द केसीले दिएको प्रतिक्रियाबारे धेरैले नकारात्मक टिप्पणी गरिरहेका छन् । प्रधानमन्त्री केपी ओलीका बफादार ‘अरिंगाले’ कार्यकर्ताले पनि डा. केसीको विरोध गरिरहेका छन् । 

 

प्रश्न उठ्छ, के वास्तवमा केपी ओलीमा स्टेरोइड औषधिको प्रभाव परेको छ ? यो प्रश्न हामीले केही समयअगाडि डा. सुन्दरमणि दीक्षितलाई सोधेका थियौं । डा. दीक्षितले सरल भाषामा भनेका थिए, ‘उहाँको शरिरमा अरुको मिर्गौला छ । त्यो मिर्गौलालाई उहाँको शरिरको प्रतिरक्षा प्रणालीले रिजेक्ट नगरोस् भनेर प्रतिरक्षा प्रणालीलाई कमजोर बनाउने औषधि दिनु पर्छ । त्यस्तो औषधि खाएपछि त्यसको साइड इफेक्टको रुपमा ओभर कन्फिडेन्ट आउँछ । केपी ओलीमा त्यो साइड इफेक्ट आएको हो कि होइन यसै भन्न सकिन्न । उहाँ पहिले कस्तो हुनुहुन्थ्यो भन्ने जान्नेदेख्नेले नभनेसम्म यस्तो कुराको फाइनल जवाफ डाक्टरहरुले  पनि दिन सक्दैनन् ।’

 

 

प्रधानमन्त्री केपी ओलीलाई सबैभन्दा नजिकबाट चिन्ने तीन व्यक्ति मध्ये आफू पनि एक हुँ भन्ने प्रदीप नेपालसँग पनि हामीले सोध्यौं । के वास्तवमा प्रधानमन्त्री ओलीमा पछिल्लो समय ओभर कन्फिडेन्ट आएकै हो ? उहाँले भन्नु भयो, ‘उहाँ पहिलेदेखि नै यस्तै हो । उहाँ जति चाम्रो मान्छे मैले देखेको छैन । उहाँ काम केही गर्नुहुन्न, बोल्नमा चाहिँ कसैले भेट्दैन ।’
 

विशेष