बाँकेका ८० हजार नागरिक अझै ‘औँठाछाप’
बाँके । कागजमा वर्षेनी साक्षर प्रतिशत बढाउँदै गएको बाँकेमा अहिले पनि ८० हजार बढी नागरिक निरक्षर छन् । जिल्लाका दुर्गम गाउँपालिकामा मात्रै नभई नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमै थुप्रै नागरिक निरक्षर रहेका छन् ।
साक्षर वडा घोषणा भइसकेको नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं १ र २४ मा समेत निरक्षरको सङ्ख्या थुप्रै रहेको भेटिएको छ । यस्तै तत्कालीन नौबस्ता गाविसमा पनि निरक्षरको सङ्ख्या धेरै रहेको स्थानीय याम श्रेष्ठ बताउँछन् । उपमहानगरपालिकासँगै जोडिएको नरैनापुर गाउँपालिकामा मात्रै करीब १२ हजार नागरिक निरक्षर रहेको भेटिएका छन् ।
यो एउटै गाउँपालिकाको तथ्याङ्कले पनि बाँकेमा निरक्षर अभियान कागजमै सीमित रहेको प्रष्ट देखिएको छ । सरकारी तथ्याङ्कअनुसार निरक्षरमध्ये महिला ५० हजार ४६९ र पुरुष ३४ हजार ६१५ अझै निरक्षर छन् । पाँच लाख ४ हजार ५४८ जनसङ्ख्या रहेको जिल्लामा एक लाख ७६ हजार २५५ महिला र दुई लाख १२ हजार ६३२ पुरुष साक्षर रहेको कागजी तथ्याङ्कले देखाएको छ ।
३५ हजार जनसंख्या रहेको नरैनापुरमा १२ हजार निरक्षर रहनुले जिल्लाका अन्य गाउँपालिका र नगरपालिकाको अवस्थामा पनि सुधार हुननसकेको आँकलन गरिएको छ तर, तत्कालीन जिल्ला शिक्षा तथा अहिलेको शिक्षा एकाइ समितिसँग बाँकेमा निरक्षर नागरिकको विवरण नै छैन । बाँकेमा निरक्षरको सङ्ख्या बढी रहे पनि तत्कालीन जिल्ला शिक्षा कार्यालय बाँकेका सहायक जिल्ला शिक्षा अधिकारी गोर्खबहादुर थापा निरक्षरको यकिन विवरण आफूहरूसँग नभएको बताउँछन् ।
'गाउँपालिकामा सर्वे भइरहेको छ', उनले भने, 'जिल्लामा यकिन विवरण छैन, यसै भन्न पनि सकिँदैन । यद्यपि यस्तो रकेर्ड राख्ने जिम्मेवारी शिक्षा कार्यालयकै हुन्छ ।' राष्ट्रिय योजना आयोगका अनुसार बाँकेको साक्षरता दर ५६ प्रतिशत छ । यसले पनि बाँकेमा ४४ प्रतिशत नागरिक निरक्षर रहेको देखाएको छ ।
तर, स्थानीय तहमा गएर सर्वेक्षण गर्ने हो भने यो सङ्ख्या कागजमा घटेपनि सङ्ख्यात्मकरूपमा उत्तिकै रहेको छ । शिक्षा नै विकासको मूल आधार हो भन्दै शैक्षिक सुधारमा सरकारले गरेको लगानी बाँकेका हकमा बालुवामा पानीझै भएको छ । नरैनापुरको यो निरक्षर अवस्थाले पनि सरकारको हरेक गाउँ र जिल्ला पूर्ण साक्षर बनाउने अभियान अलपत्र देखिएको छ ।
साक्षरको तथ्याङ्क घट्ने–बढ्ने क्रम जारी रहने गरेको जनाउँदै सो कार्यालयका कर्मचारीहरूले सोही कारणले बढी निरक्षर देखिएको हुनसक्ने बताएका छन् । एक कर्मचारीले भने, 'वर्षौं पढ्दा त बिर्सिन्छन् भने जम्मा तीन महीना पढेकाले सधैँ कहाँबाट सम्झिरहुन् ।' सामुदायिक सिकाइ केन्द्रमार्फत सञ्चालन गरिने निरन्तर शिक्षामा करीब डेढ सय कक्षाका लागि कोटा आए पनि यी कक्षासमेत प्रभावकारी हुनसकेका छैनन् ।
साक्षर घोषणा गरिएको तत्कालीन नौबस्ता गाविस र नेपालगञ्ज उपमहानगरपालिकाकै केही वडामा समेत अहिले पनि निरक्षर नागरिक रहेका छन् । तत्कालीन सीतापुर र मनिकापुरले साक्षर घोषणाका लागि अनुमति लिए पनि धेरै नागरिक निरक्षर रहेकै कारण अहिले पनि घोषणा गर्न नसकिएको वडा नं १८ मनिकापुरका वडाध्यक्ष कृष्ण कार्की बताउँछन् ।
गाउँपालिकामा निकै ठूलो जनसंख्या निरक्षर रहेकाले साक्षर बनाउने अभियान सञ्चालन गरिएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत बताउँछन् । अहिले पनि नरैनापुर गाउँपालिकामा रहेका यी निरक्षरले सरकारी कामकाजमा औँठाछाप नै प्रयोग गर्दै आएको पाइएको गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले बताउँछन् ।
नागरिक निरक्षर