मुख्य समाचार

पूर्वराजाको जिल्ला भ्रमण आजदेखि

पूर्वराजाको जिल्ला भ्रमण आजदेखि

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमलसहित आजदेखि पुनः जिल्ला भ्रमणमा निस्किदैछन् । 

 

पूर्वराजाको सम्वाद सचिवालयका अनुसार उनी दिउँसो ४ बजे काठमाडौंबाट बारा पुग्ने कार्यक्रम छ । उनी करिब १ हप्ता सिमरामा बस्ने र त्यसपछि पूर्वी जिल्लाहरुको भ्रमणमा निस्किने बताइएको छ । 

 

झापामा यसपटक पनि एक हप्ता जति बस्ने कार्यक्रम रहेको बुझिएको छ ।  पूर्वराजा केही समयदेखि देशका विभिन्न भागको भ्रमण, नागरिकसँग भेटघाट र धार्मिक स्थलको भ्रमणमा निस्किरहेका छन् । 

 

पुस २ मा पनि पूर्वराजा शाहले पश्चिम नेपालको भ्रमण गरेका थिए । करिब १६ दिनको कार्यक्रम बनाएर पोखरा पुगेका पूर्वराजालाई जनस्तरबाट भव्य स्वागत गरिएको थियो । उनले पोखरामा रहेका धार्मिक मठमन्दिरको दर्शन गरेका थिए । 

 

पूर्वराजालाई पोखरा विमानस्थलमै जनताले २१ केजीको माला पहिर्याइदिएका थिए । पोखरामा पूर्वराजाको क्रेज उल्लेखनीय देखिएको थियो । 

 

शाहको कार्यक्रम तय भएलगत्तै हिन्दुत्व र राजसंस्था पक्षधर संघसंस्थाहरुले पनि आफ्नो तयारी थालेका छन् । 
पछिल्लो समय पूर्वराजाप्रति जनस्तरमा आकर्षण बढेको पाइन्छ । पूर्वराजा शाहबारे नेकपाका नेता नारायणकाजी श्रेष्ठले समेत उनी अत्यन्त शिष्ट र भद्र व्यक्ति भएको उल्लेख गरेका थिए । पूर्वराजाहरुप्रति पूर्वाग्रह राख्ने पूर्वमाओवादी नेताहरुसमेत उनीप्रति नतमस्तक भएको समाचारहरु प्रकाशित हुन थालेका छन् । 
 

विशेष