खेल

तेन्दुलकर र साहिद अफ्रिदीको रेकर्ड तोड्दै अर्धशतक पूरा गर्ने कान्छा ब्याट्सम्यान बने रोहित

तेन्दुलकर र साहिद अफ्रिदीको रेकर्ड तोड्दै अर्धशतक पूरा गर्ने कान्छा ब्याट्सम्यान बने रोहित

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक पूरा गर्ने विश्वकै कम उमेरको खेलाडीको रेकर्ड राखेका छन् । युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा शनिबार रोहितले ५७ बलमा ७ चौकासहित ५५ रनको योगदान दिँदै भारतीय क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् । 

 

सचिनले १६ वर्ष २ सय १३ दिनको उमेरमा अर्धशतक बनाएको रेकर्ड रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा तोडेका छन् । पाकिस्तानका साहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनमा अर्धशतक पूरा गरेका थिए । रोहितको अर्धशतकसँगै नेपालले युएईमाथि १ सय ४५ रनको सानदार जितसमेत निकालेको छ । 

 

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को आधिकारिक वेभ पोर्टलमा नेपालका रोहितकुमार एकदिवसीय खेलमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने क्रिकेटर बनेको समाचार सम्प्रेषण भएपछि अन्तर्राष्ट्रिय मिडियाले  उनलाई पछ्याउन थाले । तर, दुबईको आइसिसी एकेडेमी रंगशालामा विश्व रेकर्ड बनाउँदासम्म पनि रोहितलाई सचिनको रेकर्ड तोडेको पत्तो थिएन । 

 

‘मैले रेकर्डबारे सुनेँ, यो मलाई सपनाजस्तो लागेको छ,’ दुबईमा रहेका नेपाली खेलपत्रकारसँग रोहितले भने, ‘यस्तो रेकर्ड बनाउँछु वा तोड्छु भन्ने कहिले पनि सोचिनँ । रेकर्ड बन्दा निकै खुसी छु ।’ लगातार घरेलु टी–२० क्रिकेटमा राम्रो प्रदर्शन गरेका कारण पनि राष्ट्रिय टोलीमा गतिलो योगदान दिन प्रयासरत रहेको उनले बताए । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिइएको हो ।

क्रिकेट रोहित पौडेल

विशेष