खेल

नेपालका ब्याट्सम्यान रोहितले सचिनको रेकर्ड ब्रेक गरेपछि भारतीय मिडियामा सनसनी

नेपालका ब्याट्सम्यान रोहितले सचिनको रेकर्ड ब्रेक गरेपछि  भारतीय मिडियामा सनसनी

काठमाडौं । नेपालका युवा ब्याट्सम्यान रोहित पौडेलको रेकर्ड ब्रेकले भारतीय मिडियामा सनसनी पैदा भएको छ। रोहितले दुबईविरुद्ध दोस्रो एक दिवसीय खेलमा शनिबार सात चौकासहित ५५ रन योगदान दिँदै भारतीय क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका थिए ।

 

सचिनले १६ वर्ष २ सय १३ दिनको उमेरमा अर्धशतक बनाएको रेकर्ड रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा तोडेका छन् । पाकिस्तानका साहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनमा अर्धशतक पूरा गरेका थिए । रोहितको अर्धशतकसँगै नेपालले युएईमाथि १ सय ४५ रनको सानदार जितसमेत निकालेको छ ।

 

दैनिक भास्करको हिन्दी भाषाको संस्करणले नेपालका रोहितले सचिनको ३० वर्षअघिको रेकर्ड तोडे, १६ साल १४६ दिनमै ५० रन पूरा गरे भन्ने शीर्षकमा समाचार लेखेको छ । नेपालका रोहित पौडेलले ३० वर्ष पुरानो सचिनको रेकर्ड तोड्दै पुरुष अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धसतक बनाउने रेकर्ड आफ्नो नाममा दर्ज गरेका छन्।

दैनिक भास्करले राेहित वान डेमा डेब्यु गर्ने कम उमेरका चौथो र अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गर्ने सातौँ खेलाडी भएको पनि उल्लेख गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम उमेरमा प्रवेश गर्ने खेलाडी कुवेतका भीत भवसार हुन्। उनले १४ वर्ष २११ दिनका दिन अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए। भास्करले सोमपाल कामीको ५ र सन्दीप लामिछानेको ४ विकेटका बारेमा पनि उल्लेख गरेको छ।

 

अंग्रेजी संस्करणको टाइम्स अफ इन्डियाले पनि रोहितो रेकर्ड ब्रेकलाई प्राथमिकता दिएको छ। अचम्मित पार्ने गरी रोहितले भारतीय क्रिकेट लेजेन्ड सचिन र पाकिस्तानी क्रिकेटर साहिद अफ्रिदीको रेकर्ड तोडेको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।

 

त्यस्तै अंग्रेजी संस्करणकै अर्को भारतीय सञ्चार माध्यम एनडिटिभीले पनि रोहितको रेकर्ड ब्रेकलाई प्राथमिकताकासाथ लेखेको छ। एनडिटिभीले रोहितलाई नेपालको उदाउँदो क्रिकेट स्टारको रुपमा हेरिएको जनाएको छ। रोहिताको रेकर्ड ब्रेकका बारेमा इन्डिन एक्सप्रेसलगायतका अन्य सञ्चार माध्यमले पनि समाचार लेखेका छन् ।

क्रिकेट रोहित पौडेल

विशेष