कभर स्टोरी मनोरञ्जन

बुलबुलका ‘चोपेन्द्र भुषाल’ रियलमा त ठ्याक्कै फरक (भिडियोसहित)

बुलबुलका ‘चोपेन्द्र भुषाल’ रियलमा त ठ्याक्कै फरक (भिडियोसहित)

काठमाडौं । नेपालको चलचित्र क्षेत्रमा  हिरोइज्म मात्रै होइन पछिल्लो समय क्यारेक्टर आर्टिष्ट पनि प्रमुख भूमिकामा बिकेका छन् । चलचित्र बुलबुलको टिजर मात्रै सार्वजनिक भएको छ । त्यो टिजरमा चोपेन्द्र भुषाल नामबाट चिनिएका मुकुन भुषाल अहिले नै हिट छन् । विशेष लवज र संवादले मुुकुनको अभिनय क्षमता देखाइसकेको छ । फिल्म कस्तो छ त्यो टिजर हेरेर त भन्न सकिन्न । तर अहिले बुलबुल प्रतीक्षित चलचित्र बनेको छ । क्यारेक्टर  आर्टिट भएको फिल्म हेर्दा धेरै दर्शकले त्यसमा आफैंलाई पाउँछन् । आफ्नै जीवन कथासँगै मेल खाने कथा र कथा निभाउने कलाकार हुँदा ती पात्र दर्शकलाई जीवन्त लाग्छन् । जसकारण थियटरबाट आउने कलाकारले नेपाली फिल्म क्षेत्रमा पाएको वाहवाहीलाई कसैले नकार्न सक्दैन । तर समयमा उचित फिल्म चयन गर्न नजान्दा तिनै थियटर आर्टिस्टको स्टारडम सेलाएका उदाहरण छन् । 

 


थियटरबाटै नेपाली फिल्म क्षेत्रमा आएका नयाँ कलाकार हुन् मुकुन भुषाल । नेपाली फिल्म क्षेत्रका लागि नयाँ अनुहार उनी कुनै पनि कलाकारले फिल्म चयन गर्ने क्रममा निकै ध्यान दिनुपर्ने बताउँछन् । अभिनयमा दख्खल उनले फिल्म सम्बन्धी विधामा नै मास्टर्स गरेका छन् । तर फिल्म खेल्न यही पढ्नैपर्छ भन्ने पक्षमा भने छैनन् उनी । 

 


फिल्म ‘बुलबुल’ मा सेक्यूरेटी गार्डको भूमिका देखिएका उनलाई वास्तविक जीवनमा हेर्दा चिन्नै मुस्किल पर्छ । उनको रिल लाइफ र रियल लाइफमा देखिएको आकाश पातालको फरकले नै उनको कामप्रतिको मिहेनत र लगाव छर्लङ्गै हुन्छ । पछिल्लो समय नेपाली दर्शकले पनि बिपिन कार्की, सौगात मल्ल, दयाहाङ राईजस्ता कलाकारलाई रुचाउँदै आएका छन् ।

 

ममा सफल हुन भुषालको एउटै मन्त्र छ, ‘सजिलो’ । आफूलाई सजिलो बनाए जुनसुकै काम पनि सफल हुने उनको विश्वास छ । समयमा अडिग हुन सक्ने उनलाई सबै कुरा समयमा नै हुनुपर्छ । कामप्रतिको लगाव र इमान्दारीले नै कामको मूल्यांकन गर्ने उनको मान्यता छ । 

 


यही फागुन ३ अर्थात् प्रेम दिवसको दिन प्रदर्शनमा आउने फिल्म ‘बुलबुल’ सामाजिक ड्रामा हो । समाजमै हुने घटनाबारे एकदमै अध्ययन गरेर फिल्म बनाइएको भुषालले बताए । फिल्मले बजारमा पनि राम्रो व्यापार गर्नेप्रति उनी विश्वस्त छन् । भन्छन्, ‘बुलबुलले अधिकांश दर्शकलाई सिधै हलमा तान्न सक्छ ।’ 

 


दर्शक तान्नकै लागि फिल्मको ट्रेलरमा अपशब्द प्रयाग गरिएको भनेर धेरैले आलोचना पनि गरेका छन् । यसबारे भुषालसँग प्रश्न गर्दा उनले भने, ‘त्यो भाषा समाजमा बोलिने भाषा नै हो । समाजमा बोलिने भाषालाई सामान्य रुपमा फिल्ममा उतार्नु भनेको राम्रो पक्ष हो ।’
आफू फिल्ममा बिल्कुल नयाँ अनुहार भएको कारण नेपली फिल्मको परम्परागत ट्रेण्ड तोडेर दर्शक तान्न सक्नु आफैंमा चुनौती भएको उनी बताउँछन् । फिल्म चल्ने र नचल्ने कुनै पनि फिल्मको आफ्नो ‘टार्गेट दर्शक’ को हुन् भन्ने कुरामा फरक पर्ने उनको विश्वास छ । 

 


भ्लायेन्टाइनको मुखैमा आउँदा भुषालाई प्रेमिकाबरे प्रश्न गर्दा लजाउँदै उनले भने, ‘गर्लफ्रेण्डतिर नजाऔं ।’ मध्यम वर्गीय परिवारबाट आएका भुषाल फिल्म क्षेत्रमा आफ्नो भयंकर ठूलो सपना भने नभएको बताउँछन् । हिजोआज उनी बलिउडमा जाने समाचार पनि आइरहेका छन् । यसबारे प्रश्न गर्दा उनले भने, ‘तत्काल गइहाल्ने भने होइन । काम हुँदैछ । हेरौं के हुन्छ । दुनियाँभरका मान्छे बलिउडमा जान चान्छन् भने म एउटालाई चाहना नहुने कुरै भएन ।’ 

 


आफूलाई राम्रो क्यारेक्टर आर्टिस्ट बताउने भुषाल नेपाली फिल्म क्षेत्रबारे समिक्षा गरिरहन चाहदैनन् । भन्छन्, ‘फिल्ममा काम गर्ने म लगायत धेरैको एउटै सोच हो । नेपाली फिल्म चल्नुपर्छ । बाँकी अब अरुको बारेमा बोल्न मैले मिल्दैन । म मात्र एक साधारण कलाकार हुँ ।’ 

 


आगामी दिनमा जुनसुकै क्यारेक्टरमा पनि काम गर्न तयार भएको उनले बताए । फिल्म स्टडिजमै स्नातक गरेका उनले धेरै नयाँ कुरा पढाईमा भन्दा पनि फिल्मको सुटिङमा सिके । अझै धेरै कुरा सिक्न बाँकी भएको उनले बताए । हालसम्म उनले लगभग सय भन्दा बढी ‘सर्ट फिल्म’ मा काम गरिसकेका छन् । 

 


‘बुलबुल’ मा उनलाई गाह्रो लागेको पाटो थियो ‘नाच’ । गाह्रो लागि लागि नाचे पनि हेर्न भने लायकको भएकोमा उनी ढुक्क छन् । 
 

मुकुन भुषाल

विशेष