विचार

मोदी र योगीले जनकपुरमा छोडेकोे प्रभाव

संजीव विक्रम शाह 

मोदी र योगीले जनकपुरमा छोडेकोे प्रभाव

नेपाल–भारतबीच राजनीतिक र बेटी–रोटीको सम्बन्ध मात्र होइन् धार्मिक र सांस्कृतिक सम्बन्ध पनि अत्यन्तै सौहाद्रपूर्ण छ । जसको पुष्टि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको हालैको जनकपुर भ्रमणले गर्दछ । भारतको एक राज्य उत्तर प्रदेश र नेपालको एक राज्य प्रदेश २ को सम्बन्धका कारण नेपाल र भारतकै सम्बन्ध परापूर्वकालदेखि मजबुत रहँदै आए पनि योगी आदित्यनाथको प्रदेश २ को राजधानी भ्रमणले यो सम्बन्धलाई अझै ताजा बनाइदिएको छ ।

 

त्रेतायुगमा भगवान राम र माता सीताको विवाहोत्सव भएको दिनको स्मरणमा प्रत्येक बर्ष विवाहपञ्चमी मनाइन्छ । जसरी भारतको अयोध्या (हाल उत्तर प्रदेश राज्य) बाट राम नेपालको जनकपुर (हाल प्रदेश २) आएर धनुष तोडी सीता अर्थात् जानकीसँग विवाह गरेका थिए, त्यसरी नै अहिले पनि प्रत्येक बर्ष अयोध्याबाट विवाह पञ्चमीका दिन जन्ती आएर जनकपुरमा विवाह पञ्चमी मनाइँदै आएको छ । जन्तीको रुपमा आएका आदित्यनाथले जनकपुरमा भनेका थिए, “नेपाल–भारतबीच प्राचीन र गहिरो सम्बन्ध छ ।”

 

उनले यी दुई देशको सम्बन्ध अत्यन्तै मूल्यवान र धर्म–संस्कृतिले बाँधेको रहेको उल्लेख गरे ।

 

‘जय सीता मइया–जय श्रीराम’ भन्दै नेपाली भाषामै सम्बोधन थालेका आदित्यनाथले राम–सीताको सम्बन्धकै कारण दुई देशबीच सदियौंदेखि भाइचारा स्थापना भएको प्रसङ्ग उठाए । ‘जनकपुर र अयोध्याको तीर्थाटन गर्ने सबैको अभिलाषा हुन्छ । मलाई पनि यहाँ आउँदा गौरव महशुस भएको छ’ उनले भने, “नेपाल–भारतको सांस्कृतिक सम्बन्धलाई उचाइमा पुर्‍याएको छ ।”

 

 

योगीको भ्रमणसँगै यस पटकको विवाह पञ्चमीमा नेपाल–भारतका हजारौं हिन्दु धर्मावलम्वी राम–सीताको प्रतिकात्मक विवाहमा सहभागी भए । प्रदेशका वन, पर्यटन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले योगी अदित्यनाथको भ्रमणले जनकपुरमा पर्यटकको संख्या बढेको जनाए । यसलाई कायम राख्न जनकपुरको थप पर्यटन विकासतर्फ आफूहरुले ध्यान दिइरहेको बताए ।  

 

योगीको जनकपुर भ्रमण र मजबुत पर्यटन
विवाह पञ्चमीको अवसर पारेर २६ मंसिरमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आएपछि भीड त अत्यधिक देखियो नै माहौल पनि फरक देखियो । राजनीतिक दलका कार्यकर्तादेखि संघ र प्रदेशका मन्त्रीहरु उनको स्वागतका लागि तछाडमछाड गरेको देखिए ।

 

नेपाल–भारतको सम्बन्धलाई उर्जावान बनाउनको उनको भ्रमणले महत्पूर्ण भूमिका खेलेको छ । नेपालको इतिहासमा विवाह पञ्चमीको अवसर योगी नै जन्ती भएर आएपछि  पहिलो पटक भारतका लाखौ  भक्तजन तथा श्रदालुहरु जनकपुर आए । यसले विदेशी  पर्यटक नेपाल भित्र्याउनमा मद्दत गरेको छर्लङ् देखिन्छ ।

 

योगीसँगै भारतका ख्याती प्राप्त सन्तहरुको भ्रमणले पनि पर्यटन विकासमा मद्दत पु¥याएको स्थानीय बुद्धिजीवीहरुको भनाइ छ । जनकपुरको पर्टयन प्रवद्र्वन गर्ने प्रमुख दायित्व सरकारको भए पनि जनकपुरलाई नै ओझेलमा राखिएको थियो । अर्थात् हालसम्म जनकपुरलाई अन्तर्राष्ट्रियकरण गर्न सकेको थिएन सरकारले  । तर विवाहपञ्चमीमा योगी र गएको बैशाखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनले जनकपुर अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्ने  काम गरेको छ ।

 

जनकपुरमा योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका थिए । रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोर लेन बनाउने काम सुरु भई सकेको जानकारी समेत दिएका थिए ।

 

‘रामले सीतालाई जुन मार्गबाट अयोध्या लिएर गएका थिए, त्यसलाई फोर लेन बनाउने काम सुरु भएको छ,’ आदित्यनाथले भनेका थिए, “त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ ।”

 

उनले पशुपति–काशी र जनकपुर–अयोध्यालाई जोड्ने योजनाअनुसार काम भइरहेको बताएका थिए ।  ‘रामजानकी राजमार्ग यात्राको सुगमताले मात्र होइन, पर्यटन विकासको सम्वाहक पनि बन्नेछ,’ उनले भने, “यसले सबैको जीवनमा खुशीयाली ल्याउनेछ ।”

 

उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना रहेको सुनाए । ‘जनकपुर आउने अयोध्या जानुस्, जो अयोध्या पुग्नुभएको छ उहाँ जनकपुर आउनुस्’ भन्ने अभियान चलाउनुपर्ने बताए । योगीले भने झैं यो अभियान चलाइए साँच्चिकै जनकपुरको पर्यटकीय विकास द्रूत गतिमा हुन सक्नेमा शंका रहँदैन् । रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने भनाई उनको थियो ।

 

मिथिला नगरीको कायापलटको विश्वास

ऐतिहासिक नगरी जनकपुरलाई प्रदेश २ को राजधानी बनाइएको छ अहिले । तर, अव्यवस्थित, हिलाम्य भएको मिथिला नगरीको विकास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगीको भ्रमणले जनकपुरमा बिकासको उत्साह जागृत भएको छ । 

 

मोदी र योगीको भ्रमण पश्चात ऐतिहासिक, धार्मिक, सांस्कृतिक जनकपुरलाई पर्यटकीय केन्द्रको रुपमा विकास गर्ने लक्ष्य राखेर शुरु भएको विकास परियोजनाहरूको कार्यान्वयनपछि जनकपुर सफा, सुन्दर र सु–संस्कृत बन्ने आशामा स्थानीयवासी छन । अहिले जनकपुर शहरकै मुहार फेर्ने महत्वपूर्ण परियोजनाको काम शुरु भएको छ ।

 

ऐतिहासिक र धार्मिक महत्व बोकेको जनकपुरका पोखरीको सौन्दर्यकरण, ढल–नाला र शौचालय निर्माणका लागि सरकारले गत फागुन ३ गते करिब दुई अर्ब रुपैयाँ बराबरको योजना स्वीकृत गरेको छ । 

 

 

यसैगरी जनकपुरधामको मुहार फेर्नेगरी जनकपुरसहित धनुषामा एक दर्जनभन्दा बढी विकास योजना सञ्चालित भएका छन् । योजनाको ठेक्का लिएका निर्माण कम्पनीमा ३ हजारभन्दा बढी दक्ष तथा अदक्ष कामदारले रोजगारीको अवसरसमेत प्राप्त गरेका छन ।

 

जनकपुर नगर क्षेत्रका सडक तथा ढल निर्माणमा एकीकृत शहरी विकास आयोजना सञ्चालित छन् भने सीमावर्ती जटही–जनकपुर–ढल्केवर जोड्ने ६ लेन सडक निर्माण हुँदैछ । ब्रोडगेज जनकपुर रेल्वेको स्तरोन्नति परियोजना अन्तिम चरणमा छ । यसका साथै हुलाकी सडक, परिक्रमा सडक, जनकपुर–खरिहानी सडकको निर्माण पनि तीव्र गतिमा हुँदै छ ।

 

यी आयोजनाहरु बढीमा दुई वर्षभित्र सम्पन्न हुनेगरी काम भइरहेको जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले जानकारी दिए । उनका अनुसार सञ्चालित विकास योजना समयमै सम्पन्न भएपछि जनकपुर सफा, सुन्दर तथा समुन्नत हुनेछ ।  जनकपुरमा पर्यटन प्रवद्र्धनका लागि विकास बातावरण तयार भइसकेको र राजधानी घोषणा भएपछि जारी विकास आयोजना सम्पन्न भएपछि जनकपुरको कायापलट नै हुने छ ।

 

एकीकृत शहरी विकास परियोजना अन्तर्गत भईरहेको सडक तथा नाला निर्माण झन्डै ६० प्रतिशतभन्दा बढी काम भइसकेको छ । यस्तै जनकपुरलाई भारतसँग जोड्ने जटही–जनकपुर–ढल्केवर ६ लेन सडक, जकपुर–भिट्ठामोड सडक, हुलाकी सडक लगायत विकास आयोजनाको काम पनि द्रुत गतिमा हुँदै छ ।

 

जनकपुरलाई ग्रामीण इलाकासँग जोड्ने हुलाकी सडक, सहिद पथ, जनकपुर–खरिहानी सडकसँगै महोत्तरीको पुरानो बाजार सम्सीसँग जोड्ने सडक निर्माण पनि तीव्र गतिमा हुँदै छ ।

 

जनकपुरको विकास तथा पहिचानसँग जोडिएको मुलुकको एक मात्र जनकपुर–जयनगर रेल सेवाको विस्तार तथा स्तरोन्नतिको काम पनि अन्तिम चरणमा छ । झन्डै ८१ वर्षदेखि सञ्चालनमा रहेको रेल सेवा चार वर्षदेखि बन्द हुँदा उद्योग व्यवसाय र आमजनजीवन प्रभावित भएको थियो ।

 

भारत सरकारको सहयोगमा जयनगर—जनकपुर—विजुलपुरा—बर्दिबास ब्रोडगेजको निर्माण सुरु भई ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । हालसम्म लिकमा माटो पुर्ने, गिटी हाल्ने काम पूरा भइसकेको छ भने पुलपुलेसाको निर्माण पनि अन्तिम चरणमा छ ।

नरेन्द्र मोदी जनकपुरधाम मिथिला नगरी

विशेष