पूर्वयुवराज पारस शाह हाँस्न, बोल्न थाले
काठमाडौं । हृदयघात भई नर्भिक अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य सुधारोन्मुख देखिएको छ । मुटुको एन्जियोप्लाष्टी गरेपछि सोमबार साँझ नर्भिकले खतरायुक्त नै रहेको विज्ञप्ति जारी गरेको थियो ।
तर पारस नजिक पुगेकाहरुका अनुसार सोमबार साँझ नै उनी बोल्ने, हाँस्ने गरिरहेका थिए । उच्च रक्तचापको बिरामी पारसले केही समयदेखि औषधि सेवन छुटाएको निकटस्थहरुको भनाइ छ ।
पारसलाई हृदयघात भएपछि पूर्वबडामहारानी कोमल राज्यलक्ष्मी शाह हिजो साँझ नै सिमराबाट काठमाडौं फर्किएकी छिन् । पूर्वराजासँगै उनी जिल्ला भ्रमणका लागि आइतबार सिमरा गएकी थिइन् । पूर्वराजा पनि आज मंगलबार राजधानी फर्किदैछन् ।
यसअघि पारस थाइल्याण्डमा बिरामी हुँदा पनि पूर्वराजारानी सिमरामै थिए । पत्नी हिमानी भने थाइल्याण्डमा रहेको बुझिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहको पनि केही समय अघि नर्भिकमै एन्जियोप्लाष्टि गरिएको थियो ।